काठमाडाैं । राष्ट्रिय सभाका सांसदहरुले सरकार आफैँले ल्याएको नीति तथा कार्यक्रम र बजेट विनियोजनबिच स्पष्ट तादात्म्य नमिलेको भन्दै चर्को आलोचना गरेका छन् ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागि सांसदहरुले यस्तो धारणा राखेका हुन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट लेखको परम्परागत शैली तोडेको भएपनि रुपान्तरकारी बजेट ल्याउन नसकेको उनीहरुको तर्क छ । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले इतिहासमा सबैभन्दा ठूलो सरकार बनेपछि अर्थतन्त्रमा ठूलो रूपान्तरण ल्याउनेमा आशावादी रहेको भएपनि त्यस्तो हुन नसकेको बताउनुभयो । उहाँले सडक जलविद्युत तथा सिंचाई र शिक्षा क्षेत्रमा कुनैपनि रुपान्तरणकारी परियोजना समावेश नगरेको भन्दै अर्थमन्त्री वाग्लेको आलोचना गर्नुभयो । उहाँले सरकारले सुन्नमा मिठो नाम राखेर निम्न आय भएका नागरिकमाथि करको भार थपेको टिप्पणी पनि गर्नुभयो । उहाँले जनताले सरकारको कर नीतिप्रति आजित नागरिक आन्दोलनमा उत्रिए मुलुकमा गम्भीर आर्थिक विचलन देखा पर्नसक्ने टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘माननीय अर्थमन्त्रीज्युले बजेट लेखको परम्परागत शैली छोडेर नयाँ शैली देखाउनु भएको छ । इतिहासमा सबैभन्दा ठुलो सरकार बनेपछि अर्थतन्त्रमा ठुलो रुपान्तरण ल्याउँछन् भन्ने लागेको थियो । तर सडकको परियोजनामा रुपान्तरण नदेखिनु बरु बजेट घट्नु, जलविद्युत वा सिचाईंमा कुनै नौलो ठुलो परियोजना नहुनु, शिक्षामा रुपान्तरणकारी कुनै योजना नहुनु, अझ बजेटको अनुपात घट्नु, वैदेशिक बजेट ल्याउनको लागि कुनै आकर्षित योजना नहुनु, बुझ्दा गाह्रो सुन्नमा मिठा नाम राखेर केही नयाँ करहरु थपिएका छन् । आन्तरिक उत्पादन प्रवद्र्धन तथा संरक्षण शुल्क, सिप प्रवद्र्धन शुल्क, स्च्छ पूर्वाधार शुल्क, शिक्षा समता शुल्क र स्वास्थ्य प्रवद्र्धन शुल्क थपिएका छन् । बजेटले मध्यम वर्गलाई राहत दिने भनेको छ । तर प्रत्यक्ष करमा राहत दिएर अप्रत्यक्ष करमा अत्याधिक वृद्धि भएको छ । जसरी देश गत भदौ २३ र २४ गतेको विध्वंशले तहसनहस भएको छ । कतै त्यसैगरी जनताले करको अवज्ञाको नारालाई त्यसैगरी चर्काएर देशमा कर प्रणाली नै तहसनहस भयो भने देश फेरी गम्भीर आर्थिक विचलनमा नजाला भन्न सकिँदैन ।’
नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभामा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बजेटले सर्वसाधारण, किसान, मजदुर तथा न्युन आय भएका वर्ग र समूदायलाई समेट नसकेको बताउनु भयो । उहाँ नागरिकमाथि सरकारले करको भार थपेको भन्दै मृत्यु करमात्र लगाउन बाँकी रहेको टिप्पणी गर्नुभयो । उहाँले औद्योगिक क्षेत्रका लागि पर्याप्त अबजेट विनियोजन नगरिएकोमा आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘देशको सबैभन्दा धेरै जनसंख्या भएको गरिब, न्युनमध्यम, किसान, मजदुर, दलित, मधेशी, मुस्लिम, र दुर्गम क्षेत्रका जनतालाई यो बजेटले के दियो ? मैले बुझेको बजेट घरमा बालेको ५० युनिट बिजुलीमा १३ प्रतिशत भ्याट लगाएर महशुल किन बढाएको ? माओवादी सरकारले त २० युनिट निःशुल्क दिएको थियो नि । अब यो सरकारले सबै कुरामा कर लगाइसक्यो । कर लगाउन एउटा कुरामा मात्र बाँकी छ, मृत्यकर । मान्छे मरेपछि लगाउने कर मात्रै बाँकी छ अरु सबै कुरामा कर लगाइसक्यो । देशको औद्योगिक क्षेत्रको लागि किन जम्मा ६४ करोड रुपैयाँ मात्रै छुट्याउनुभयो ? सबै सूचक पुरा भइसक्दा समेत नेपाललाई अझै तीन वर्ष अल्पविकसितकै सूचीमा किन राख्न खोजेको ? सरकारी संस्थानमा नाफामा गएको नेपाल टेलिकम मात्रै हो, यसको पनि सेयर बेचेर के गर्न खोजेको ?’
नेकपा (एमाले)की सांसद सम्झना देवकोटाले सरकार नागरिकको आर्थिक–सामाजिक सुरक्षाप्रति गम्भीर नदेखिएको टिप्पणी गर्नुभयो । उहाँले घरायसी उपभोग्यवस्तुदेखि देखि शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत कर लगाएको उल्लेख गर्दै यसले नागरिकमा कस्तो प्रभाव पर्नसक्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले जेनजी पुस्ताको आन्दोलनको जगमा बनेको सरकारले देशको युवा वर्गलाई श्रम दिने नीति नै नल्याएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘घरायसी प्रयोग गर्ने बिजुलीको भ्याट कसरी तिर्न सकिएला सरकार ? खाद्य स्वास्थ्यमा भ्याट, शिक्षामा भ्याट सबै कुरामा जनताले कसरी तिर्न सक्लान् ? महिाला, बालबालिका, जेष्ठ नागरिक र सामाजिक सुरक्षामा यसले कस्तो प्रभाव पार्छ ? देशको युवा वर्गलाई श्रम दिने ? श्रम बजार र रोजगारीको विषय कहाँ हरायो सरकार ? साना किसान र साना व्यवसायीलाई पनि बजेटले छुन सकेको छैन । महिलाले ब्लूबस चढेर मात्र राज्यको जिडिपीमा योगदान दिन सक्दैनन् । अरु कार्यक्रम के ल्याउनुभयो ?’
उहाँले अगामी आर्थिक वर्षको बजेटले ठुला व्यवसायीलाई कर छुट दिएको भएपनि न्युन आय भएका वर्गलाई सम्बोधन गर्न नसकेको बताउनु भयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी