कालीकाेट । बाजुरा र हुम्लाको सीमामा पर्ने रानीसैन क्षेत्रको विवाद फेरि चर्किएको छ । विवादित क्षेत्रलाई लिएर बाजुराका स्थानीयले कर्णाली करिडोरअन्तर्गत धुलाचौर सडक खण्ड अवरुद्ध गरेपछि हुम्लाका नागरिक आन्दोलनमा उत्रिएका छन् ।
शुक्रबार दिउँसो हुम्लाका स्थानीय जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले बाजुरातर्फबाट सडक बन्द गरिनु हुम्लामाथिको अन्याय भएको भन्दै तत्काल सडक सञ्चालनको वातावरण बनाउन माग गरेका छन् ।
कर्णाली करिडोर हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने प्रमुख मार्ग भएकाले सडक अवरोधले जिल्लाको आपूर्ति प्रणाली र आवागमनमा प्रत्यक्ष असर पर्ने स्थानीयको भनाइ छ ।
रानीसैन क्षेत्रको स्वामित्वलाई लिएर लामो समयदेखि विवाद कायम छ । विवाद समाधानका लागि विभिन्न तहमा छलफल र पहल भए पनि निष्कर्ष ननिस्कँदा बेलाबेला तनाव दोहोरिने गरेको छ । पछिल्लो पटक बाजुराका स्थानीयले रानीसैनबारे आफ्नो माग सम्बोधन नभएको भन्दै धुलाचौर सडक खण्डमा अवरोध गरेका हुन् ।
सडक बन्द भएपछि हुम्लातर्फ असन्तुष्टि बढेको छ । आन्दोलनमा सहभागी स्थानीयले सीमा विवादको नाममा सडक अवरुद्ध गरेर सर्वसाधारणलाई सास्ती दिन नहुने बताएका छन् । उनीहरूले प्रशासनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै विवादको स्थायी समाधान खोज्न माग गरेका छन् ।
रानीसैन विवाद कर्णाली प्रदेशकै पुरानो अन्तरजिल्ला सीमा विवादमध्ये एक हो । दुवै जिल्लाले उक्त क्षेत्रमाथि आफ्नो दाबी गर्दै आएका छन् । विवाद समाधानका लागि विगतमा विभिन्न सरकारी संयन्त्र, अध्ययन टोली र समन्वय बैठक गठन भए पनि स्पष्ट प्रशासनिक तथा भौगोलिक सीमांकनमा सहमति जुट्न सकेको छैन । यही कारणले समय–समयमा विवाद पुनः बल्झिने गरेको सरोकारवालाको भनाइ छ ।
स्थानीय अगुवाहरूले रानीसैनको समस्या केवल भूभागको स्वामित्वसँग मात्र नभई चरन क्षेत्र, स्थानीय स्रोतसाधनको उपयोग तथा ऐतिहासिक सम्बन्धसँग पनि जोडिएको बताउँदै आएका छन् ।
हुम्ला र बाजुरा दुवैतर्फका स्थानीय, राजनीतिक दल तथा जनप्रतिनिधिले संघीय सरकारलाई तत्काल हस्तक्षेप गरी वैज्ञानिक सीमांकनका आधारमा विवाद समाधान गर्न आग्रह गरेका छन् । सीमा विवाद समाधान नहुँदासम्म कर्णाली करिडोर र स्थानीय जनजीवन बारम्बार प्रभावित हुने देखिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी