काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी 'मेटा' अन्तर्गतका सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा अचानक प्राविधिक समस्या देखिएको छ। शुक्रबार साँझदेखि देशव्यापी रूपमा सेवा अवरुद्ध भएपछि नेपालका लाखौँ प्रयोगकर्ताहरू प्रभावित भएका छन्।
नेपालसहित विश्वका विभिन्न मुलुकमा एकैपटक देखिएको यस समस्याका कारण प्रयोगकर्ताहरूले सामाजिक सञ्जाल प्रयोग गर्न पाएका छैनन्। सेवा सञ्चालन भइरहेकै अवस्थामा प्रयोगकर्ताका अकाउन्टहरू अचानक स्वतः लगआउट (Log out) हुने समस्या देखिएको छ।
त्यस्तै, फेसबुक र इन्स्टाग्रामको फिड लोड नहुने, मेसेन्जरमा सन्देशहरू नजाने र पुनः लगइन गर्न खोज्दा प्रणालीले अस्वीकार गर्ने जस्ता समस्या प्रयोगकर्ताले सामना गरिरहेका छन्। लगइन गर्ने प्रयास गर्दा स्क्रिनमा 'समथिङ वेन्ट रङ' (Sorry, something went wrong) जस्ता प्राविधिक सन्देशहरू मात्र देखिने गरेको छ।
अकाउन्टहरू स्वतः लगआउट भएपछि धेरैजसो प्रयोगकर्ताहरूमाझ अकाउन्ट ह्याक भएको हुनसक्ने आशंका र भ्रम पैदा भएको छ। यद्यपि, प्रविधि विज्ञहरूले यो मेटा कम्पनीको केन्द्रीय सर्भरमा आएको खराबी (Technical Glitch) भएकाले हतारमा पासवर्ड परिवर्तन गर्ने वा जथाभाभी लिङ्कहरूमा क्लिक नगर्न सचेत गराएका छन्।
मुख्य सञ्चार माध्यमका रूपमा स्थापित यी प्लेटफर्महरू ठप्प हुँदा सर्वसाधारणको सञ्चार सम्पर्क विच्छेद हुनुका साथै सामाजिक सञ्जालमा आधारित अनलाइन व्यवसायहरू समेत नराम्ररी प्रभावित बनेका छन्।
विश्वभरका करोडौँ प्रयोगकर्ता मारमा परेको यस गम्भीर प्राविधिक अवरोधका विषयमा मेटा कम्पनीले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यो समस्या के कारणले आएको हो र सेवा कहिलेसम्म पूर्ण रूपमा सुचारु हुन्छ भन्नेबारे अझै प्रस्ट हुन सकेको छैन।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि