भक्तपुर । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले वर्तमान सरकार सञ्चार क्षेत्रका गम्भीर सवालप्रति उदासीन बनेको बताउँदै सरकारकै कारण पत्रकार र मिडियामा संकट आइपरेको आरोप लगाउनु भएको छ ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको साधारणसभामा शनिबार बोल्दै उहाँले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोकिँदा देशभरका सञ्चार संस्थाहरू आर्थिक दबाबमा परेको र त्यसको प्रत्यक्ष असर श्रमजीवी पत्रकारको रोजगारीमाथि परेको बताउनुभयो। पत्रकार महासंघ आन्दोलनरत रहे पनि सरकारले संवाद र समाधानको बाटो रोज्न नखोजेको उहाँको भनाइ थियो।
महासचिव दाहालले अघिल्ला सरकारहरू महासंघका माग र आन्दोलनप्रति तुलनात्मक रूपमा संवेदनशील रहने गरेको स्मरण गर्दै अहिले भने आन्दोलनका कार्यक्रम भइरहँदा समेत राज्य पक्षबाट कुनै चासो नदिइएको र सरकार बेखबर जस्तै देखिएको बताउनु भयो ।
सरकारी विज्ञापन रोकिँदा सञ्चार संस्थाहरूले पत्रकार कटौतीको बाटो रोज्न थालेको उल्लेख गर्दै उहाँले यस अवस्थाले पत्रकारिताको भविष्य नै संकटमा पार्ने चेतावनी दिनुभयो। अनियमितताको नाममा विज्ञापन रोकिए पनि त्यसलाई व्यवस्थित गर्ने कुनै नीति वा संयन्त्र निर्माणमा सरकार अग्रसर नदेखिएको उहाँको भनाइ थियो।" सरकारलाई हाम्रो प्रश्न छ, अनियमितता रोक्न के कस्ता कारवाही गर्नुभयो ?" उहाँले भन्नुभयो ।
उहाँले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको पक्षमा उभिएर बनेको वर्तमान सरकारले व्यवहारमा भने प्रेसमैत्री वातावरण निर्माण गर्न नसकेको टिप्पणी गर्नुभयो। सञ्चारकर्मीप्रति देखिएको असहज व्यवहार र सञ्चार क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोणले प्रेस स्वतन्त्रताको अवस्थाबारे गम्भीर प्रश्न उठाएको उहाँले बताउनुभयो।
सञ्चार क्षेत्रलाई कमजोर बनाउने कुनै पनि प्रयास अन्ततः लोकतन्त्रलाई कमजोर बनाउने कार्य हुने उल्लेख गर्दै महासचिव दाहालले महासंघले अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो आवाज पुर्याउसकेको र आवश्यक परे संयुक्त राष्ट्र संघसम्म पुग्ने चेतावनी दिनुभयो। उहाँले देशको छवि र लोकतान्त्रिक प्रतिष्ठालाई ध्यानमा राख्दै अहिलेसम्म संयमता अपनाइएको भए पनि सञ्चार क्षेत्रमाथिको दबाब बढ्दै गए थप कडा कदम चाल्न बाध्य हुने संकेत गर्नुभयो।
साधारणसभाको सभापतित्व ग्रहण नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले गर्नु भएको थियो । उहाँले बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारितालाई समयानुकूल बनाउन शाखाले विभिन्न क्षमता अभिवृद्धिमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले परम्परागत छापा पत्रकारिताबाट डिजिटल पत्रकारितातर्फ रूपान्तरणलाई प्राथमिकतामा राखेर पत्रकारहरूका लागि तालिम, अभिमुखीकरण तथा सीप विकासका कार्यक्रमहरू आयोजना गरिएको स्पष्ट पार्नुभयो।
साधारण सभामा महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदी, उपत्यकाको कार्यवाहक अध्यक्ष रोजिना थापा, कोषाध्यक्ष संजीप घिमिरे, काठमाडौ अध्यक्ष शोभा अर्याल, ललितपुर अध्यक्ष रामहरि कार्की र विभिन्न पेशागत संघसंघसंगठनका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
साथै ,साधारण सभाको बन्द सत्रले सचिव दिपक ढुङ्गाना र कोषाध्यक्ष रामगोपाल तमखुको प्रतिवेदन पारित गरेको थियोे ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर