काठमाडौं । एचआईभी तथा क्षयरोग (टीबी)सँग सम्बन्धित लाञ्छना र विभेद अझै पनि नेपाली समाजमा गम्भीर चुनौतीका रूपमा रहेको सरोकारवालाहरूले बताएका छन्। उपचार, परीक्षण र रोकथाम सेवामा उल्लेखनीय सुधार भए पनि सामाजिक पूर्वाग्रह, गलत सूचना र संस्थागत व्यवहारका कारण प्रभावित समुदायले अझै सम्मानजनक सेवा पाउन नसकेको उनीहरूको भनाइ छ ।
स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको एचआईभी, टीबी र मलेरियासम्बन्धी मानवअधिकारमुखी पत्रकारिता तालिममा बोल्दै राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले नेपालमा करिब ३४ हजारभन्दा बढी एचआईभी संक्रमित रहेको जानकारी दिनुभयो। उहाँका अनुसार नियमित औषधि सेवन गर्ने संक्रमितहरू औसत नेपाली नागरिकभन्दा पनि लामो आयु बाँचिरहेको तथ्याङ्कले देखाएको छ ।
“डायबेटिज र उच्च रक्तचापका बिरामीभन्दा एचआईभी संक्रमितहरू अहिले बढी समय बाँचिरहेका छन्,” डा. शर्माले भन्नुभयो, “नियमित औषधि सेवन गर्ने संक्रमितहरूको औसत आयु ७४ वर्षभन्दा माथि पुगेको छ ।”
यद्यपि, एचआईभी संक्रमणलाई लिएर समाजमा अझै पनि गलत धारणा र विभेद कायम रहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगका लोकनाथ बास्तोलाले संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा सहभागी विज्ञहरूले स्वास्थ्य संस्था, शिक्षा, रोजगारी तथा सार्वजनिक सेवामा अझै एचआईभी संक्रमित र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले विभेद भोग्नुपरेको बताए । कतिपय अवस्थामा स्वास्थ्य सेवामा ढिलाइ, गोपनीयता भंग र अपमानजनक व्यवहारसमेत हुने गरेको उनीहरूको भनाइ छ ।
रिकभरिङ नेपालका कार्यकारी निर्देशक विष्णु शर्माले एचआईभी अब मृत्युको पर्याय नभएको उल्लेख गर्दै सामाजिक सोच परिवर्तन हुन नसक्दा प्रभावित व्यक्तिहरू अझै पीडित बन्नुपरेको बताउनुभयो ।
सरोकारवालाहरूले एचआईभी तथा टीबीसँग सम्बन्धित लाञ्छना र विभेद अन्त्य गर्न नीति, सेवा प्रणाली र सामाजिक सोचमा व्यापक सुधार आवश्यक रहेकोमा जोड दिएका छन् ।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि