भक्तपुर । स्थानीय तहले विकासको नयाँ अभ्यास गरिरहेको दाबी गरिरहेका बेला मध्यपुर थिमी नगरपालिका–३ ले भौतिक पूर्वाधारसँगै शिक्षा, सामाजिक उत्तरदायित्व र जनसम्बन्धलाई विकासको केन्द्रमा राखेको जनाएको छ। चालु आर्थिक वर्षमा करोडौं रुपैयाँका योजना कार्यान्वयन गरिरहेको वडा नं। ३ ले सामुदायिक विद्यालयमा ‘बुक फ्रि डे’ जस्ता कार्यक्रम सञ्चालन गर्दै परम्परागत विकासको परिभाषाभन्दा बाहिर जाने प्रयास थालेको दाबी गरेको छ।
राष्ट्रिय सञ्चार केन्द्र नेपालले शनिबार आयोजना गरेको स्थलगत अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा वडा नं। ३ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णहरी आचार्यले विकासलाई सडक, ढल र भवन निर्माणमा मात्र सीमित गर्न नहुने बताउनुभयो। उहाँका अनुसार जनताको घरदैलोमा सेवा पुर्याउने, सामुदायिक विद्यालयको स्तर उकास्ने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कामलाई वडाले समान प्राथमिकता दिएको छ।
‘जनप्रतिनिधि शासक होइन, सेवक हो,’ आचार्यले भन्नुभयो, ‘विकासको निर्णय कार्यालयमा बसेर होइन, टोल–टोलमा पुगेर जनताको आवश्यकता सुनेर गरिनुपर्छ।’
वडा नं ३ मा चालु आर्थिक वर्षका लागि कार्यपालिकाबाट दुई करोड एक लाख रुपैयाँ बजेट विनियोजन भए पनि संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा वार्षिक १२ देखि १३ करोड रुपैयाँ बराबरका योजना सञ्चालन भइरहेको वडाको दाबी छ। तीमध्ये अधिकांश योजना सम्पन्न भइसकेका छन् भने केही आयोजना लागत वृद्धि र बजार मूल्यवृद्धिका कारण प्रभावित भएका छन्।
स्थलगत अवलोकनका क्रममा सार्वजनिक जग्गा संरक्षण गरिएको डाँफे टोल, गठ्ठाघर क्षेत्रका सडक पूर्वाधार र कोरियन अस्पताल जोड्ने सडकको निरीक्षण गरिएको थियो। सार्वजनिक जग्गा अतिक्रमण र संरक्षण स्थानीय तहका लागि चुनौती बनेको अवस्थामा वडा नं। ३ ले संरक्षणका केही अभ्यास अघि बढाएको दाबी गरेको छ।
शिक्षा क्षेत्रमा भने वडाले आफूलाई फरक ढंगले प्रस्तुत गरेको देखिन्छ। सामुदायिक विद्यालयमा व्यवहारिक शिक्षा, नैतिक मूल्य र जीविकोपार्जनसँग जोडिएका विषय समावेश गर्दै प्रत्येक शुक्रबार ‘बुक फ्रि डे’ सञ्चालन गरिएको जानकारी दिइएको छ। विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको दाबी गर्दै वडाध्यक्ष आचार्यले सामुदायिक शिक्षाप्रतिको विश्वास पुनः स्थापित हुँदै गएको बताउनुभयो।
यद्यपि वडाले प्रस्तुत गरेका उपलब्धि र तथ्यांकको स्वतन्त्र परीक्षण भने भएको छैन। विकासका योजनाहरूको प्रभावकारिता, गुणस्तर र दीर्घकालीन परिणामबारे विस्तृत मूल्यांकन हुन बाँकी छ। स्थानीय तहहरूले निर्माण सम्पन्नलाई उपलब्धिको सूचकका रूपमा प्रस्तुत गर्ने गरेका भए पनि त्यसको सामाजिक र आर्थिक प्रतिफल कति प्राप्त भयो भन्ने प्रश्न अझै महत्त्वपूर्ण मानिन्छ।
कार्यक्रममा गोरखापत्रका सम्पादक जुनाबाबु बस्नेतले विकासलाई जनतासँग जोड्न नसकिए निर्माण मात्र उपलब्धि नहुने बताउनुभयो। उहाँले दिगो विकासका लागि सामाजिक परीक्षण र सार्वजनिक जवाफदेहिता अनिवार्य रहेको धारणा राख्नुभयो।
नेपाल पत्रकार महासंघका पूर्व सचिव रामजी दाहालले विकासका सकारात्मक अभ्यासलाई सार्वजनिक गर्नु पत्रकारिताको दायित्व भए पनि विकासका कमजोरी र चुनौतीमाथि पनि उत्तिकै निगरानी आवश्यक रहेको बताउनुभयो।
स्थानीय तह स्थापना भएको करिब एक दशकपछि विकासको बहस अब केवल बजेट र निर्माणमा सीमित छैन। सेवा, शिक्षा, सुशासन र नागरिकको प्रत्यक्ष अनुभूतिलाई विकासको मापनका रूपमा हेर्ने प्रवृत्ति बढिरहेको छ। मध्यपुर थिमी–३ ले आफूलाई त्यही नयाँ बहसको केन्द्रमा उभ्याउने प्रयास गरेको देखिन्छ। अब वडाले दाबी गरेका उपलब्धि जनताको दैनिक जीवनमा कति रूपान्तरणकारी सावित हुन्छन्, त्यसले नै यी दाबीहरूको वास्तविक परीक्षा गर्नेछ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर