काठमाडाैं । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता भएको खबर सार्वजनिक भएसँगै एसियाली बजारको प्रारम्भिक कारोबारमै कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ । पाकिस्तानले मध्यस्थता गर्दै सम्झौताको घोषणा गरेलगत्तै विश्व ऊर्जा बजारमा असर देखिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य मापन गर्ने प्रमुख सूचक ‘ब्रेन्ट क्रुड’ ३.८ प्रतिशतले घटेर प्रतिब्यारेल ८४.०२ अमेरिकी डलरमा झरेको छ। त्यस्तै, अमेरिकी बजारमा कारोबार हुने तेलको मूल्य पनि ४.१ प्रतिशतले घट्दै प्रतिब्यारेल ८१.४० अमेरिकी डलरमा पुगेको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका अनुसार आगामी जुन १९ मा स्विट्जरल्यान्डमा सम्झौताको औपचारिक हस्ताक्षर समारोह हुने तय भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अब तेलको आपूर्ति सहज हुने उल्लेख गर्नुभएको छ । उहाँका अनुसार रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः सञ्चालनमा आउनेछ ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि उक्त जलमार्ग अवरुद्ध भएको बताइएको थियो । विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरल प्राकृतिक ग्यास यही मार्गबाट आपूर्ति हुने भएकाले अवरोधले विश्व ऊर्जा बजारमा ठूलो असर पारेको थियो ।
इरानले सो क्षेत्रमा आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि आपूर्ति झनै प्रभावित भएको उल्लेख गरिएको छ ।
अमेरिका–इरान द्वन्द्वका कारण पछिल्ला महिनामा विश्व ऊर्जा बजारमा तीव्र उतारचढाव देखिएको थियो। युद्ध सुरु हुनुअघि प्रतिब्यारेल करिब ७० अमेरिकी डलर रहेको ब्रेन्ट क्रुडको मूल्य युद्ध चर्किँदै जाँदा १२० डलरसम्म पुगेको थियो। हाल शान्ति सम्झौताको खबरसँगै बजारमा केही स्थिरता र राहत देखिन थालेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…