काठमाडौं । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बराल ले सरकारको कार्यशैली, सीमा विवाद, बजेटमा गरिएको करका दर हेरफेर तथा सुशासनका विषयमा कडा आलोचना गर्नुभएको छ।
सोमबार संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले देश सुशासन र विधिको शासनबाट मात्र अघि बढ्न सक्ने भए पनि वर्तमान सरकार त्यसमा चुकेको आरोप लगाउनुभयो।
उहाँले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिका कारण सुस्ता क्षेत्रमा भारतीय अतिक्रमण बढेको दाबी गर्दै त्यहाँका नागरिक राज्यको उपस्थितिबिना पनि आफ्नो भूमिको रक्षा गर्न बाध्य भएको टिप्पणी गर्नुभयो।
परराष्ट्रमन्त्रीको हालैको भारत भ्रमणका क्रममा सीमा समस्याबारे स्पष्ट कुरा नभएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। साथै, हाल भइरहेको चीन भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा ठोस छलफल हुनुपर्ने माग गर्नुभयो।
अर्थमन्त्रीले बजेटमार्फत करका दरमा गरेको हेरफेरलाई सांसद बरालले अवाञ्छित र निश्चित समूहलाई लाभ पुर्याउने उद्देश्यबाट प्रेरित भएको आरोप लगाउनुभयो। ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरेलु उपभोक्तामाथि कर लगाउने व्यवस्थालाई उहाँले “जनताको भान्सामाथिको आक्रमण” भन्दै आलोचना गर्नुभयो।
निर्माण व्यवसायीलाई लक्षित गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले दिएको भनिएको अभिव्यक्तिप्रति पनि उहाँले आपत्ति जनाउँदै विधिको शासनमा हिंसा र धम्की स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।
सरकारले विगतका काण्डहरूको फाइल खोल्ने चेतावनीप्रति प्रतिक्रिया दिँदै सांसद बरालले एमाले कुनै पनि छानबिन र “अग्नि परीक्षा” सामना गर्न तयार रहेको बताउनुभयो।
सुदूरपश्चिमको गोदावरीमा वनरक्षकले अटो भिरबाट खसालेको भनिएको घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले यसलाई “शक्तिको दम्भ” को संज्ञा दिनुभयो।
उहाँले सरकारले महँगी नियन्त्रण, शिक्षा क्षेत्रमा शुल्क वृद्धि रोकथाम र सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो।
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…