न्युयोर्क । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार सम्पन्न खेलहरूमा युरोपेली टोलीहरू स्वीडेन र जर्मनीले विशाल अन्तरको जित दर्ता गरेका छन् भने एसियाली ‘पावर हाउस’ जापानले बलियो नेदरल्याण्ड्सलाई रोमाञ्चक बराबरीमा रोक्दै सन्तोषजनक सुरुवात गरेको छ ।
समूह ‘एफ’ अन्तर्गत मेक्सिकोमा खेलिएको खेलमा युरोपेली टोली स्वीडेनले अफ्रिकी प्रतिद्वन्द्वी ट्युनिसियामाथि ५-१ गोलको सजिलो जित हासिल गर्दै विजयी सुरुवात गरेको छ । खेलको प्रारम्भदेखि नै ट्युनिसियालाई दबाबमा राखेको स्वीडेनका लागि खेल सुरु भएको सातौँ मिनेटमै यासिन अयारीले पहिलो गोल गर्नुभएको थियो । स्वीडेनले ३०औँ मिनेटमा एलेक्जेन्डर ईसाकको गोलमार्फत् आफ्नो अग्रता दोब्बर बनायो ।
निर्धारित समयको ४३औँ मिनेटमा ट्युनिसियाका लागि ओमर रेकिकले एक गोल फर्काएपछि पहिलो हाफ २-१ को स्थितिमा सकिएको थियो ।
दोस्रो हाफमा थप आक्रामक बनेको स्वीडेनले तीन गोल थप्यो । खेलको ५९औँ मिनेटमा आर्सनलका फरवार्ड भिकेटर ग्योकेरसले टोलीका लागि तेस्रो गोल गर्नुभयो । त्यस्तै, निर्धारित समयको ८४औँ सेकेण्डमा माटियस स्वानबर्गले चौथो गोल थप्नुभयो, जसलाई सुरुमा रेफ्रीले अफ-साइड घोषित गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले गोलको मान्यता दिएको थियो । दोस्रो हाफको इन्जुरी समयमा यासिन अयारीले व्यक्तिगत दोस्रो गोल गरेपछि स्वीडेन ५-१ को नतिजासहित तालिकाको पहिलो स्थानमा आसिन हुन सफल भयो ।
यसै समूहको अर्को बहुप्रतिक्षित खेलमा जापानले बलियो युरोपेली प्रतिद्वन्द्वी नेदरल्याण्ड्सलाई २-२ गोलको रोमाञ्चक बराबरीमा रोकेको छ । अमेरिकाको डालासमा सम्पन्न उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो, जसमा डच खेलाडी डनएल मालेनका तीनवटा उत्कृष्ट प्रहारलाई जापानी गोलरक्षक जियान सुजुकीले विफल पारिदिनुभयो । खेलको ५१औँ मिनेटमा लिभरपुलका कप्तान भर्जिल भान जिकले रायन ग्राभेनबर्चको क्रसलाई हेडरमार्फत् गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाउनुभयो । तर, जापानले ६ मिनेटमै जवाफी गोल फर्कायो, जहाँ केइतो नाकामुराको शक्तिशाली लो-सटलाई डच गोलरक्षकले रोक्न सकेनन् ।
खेलको ६४औँ मिनेटमा क्राइसेन्सियो समरभिलले पेनाल्टी क्षेत्रभित्रबाट सुन्दर गोल गर्दै नेदरल्याण्ड्सलाई पुनः अग्रता दिलाए पनि ८८औँ मिनेटमा जापानका दाइची कामादाले आकर्षक गोल गरेपछि खेल २-२ को बराबरीमा सकियो । सुरुवाती प्लेइङ सेटमा आठ जना प्रिमियर लिग खेलाडी उतारेर पनि दुईपटकको अग्रता जोगाउन नसक्नु डच टोलीका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानका लागि निराशाजनक बन्यो । यो बराबरीसँगै समूह ‘एफ’ मा स्वीडेन ३ अंकसहित शीर्ष स्थानमा छ भने १-१ अंक जोडेका जापान र नेदरल्याण्ड्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यस समूहमा अब जुन २० तारिखमा नेदरल्याण्ड्सले स्वीडेन र जापानले ट्युनिसियाको सामना गर्नेछन् ।
अर्कोतर्फ, समूह ‘ई’ अन्तर्गत अमेरिकाको ह्युस्टनमा सम्पन्न खेलमा चार पटकको उपाधिधारी जर्मनीले नवप्रवेशी कुरासाओमाथि ७-१ गोलको फराकिलो जित दर्ता गरेको छ । जर्मनीले आफ्नो पुरानो लय र धारिलो आक्रमण कायम राख्दै विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने टोलीको कीर्तिमानसमेत आफ्नो नाममा लेखाएको छ । खेलको छैटौँ मिनेटमै फेलिक्स निमेचाले फ्लोरियन विर्ट्जको पासमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाउनुभएको थियो, जुन जारी विश्वकपको हालसम्मकै छिटो गोल हो । यद्यपि, जनसंख्या र क्षेत्रफलका आधारमा विश्वकपको सबैभन्दा सानो राष्ट्र कुरासाओले २१औँ मिनेटमा मिडफिल्डर लिभानो कोमेनेन्सियाको सशक्त प्रहारमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याएर विश्वलाई चकित पारेको थियो ।
यो गोल बेहोरेका जर्मनीका ४० वर्षे गोलरक्षक म्यानुएल नोयरले लोथर म्याथ्युजको कीर्तिमान तोड्दै जर्मनीका लागि सर्वाधिक उमेरमा विश्वकप खेल्ने खेलाडीको नयाँ रेकर्ड बनाउनुभयो । खेलको मध्यतिरको ‘हाइड्रेसन ब्रेक’ पछि जर्मनी थप आक्रामक देखियो । ३८औँ मिनेटमा निको श्लोटरबेक र पहिलो हाफको इन्जुरी समयमा काई हाभर्ट्जले पेनाल्टीमार्फत् गोल गरेपछि जर्मनीले ३-१ को अग्रता लियो । दोस्रो हाफ सुरु भएको ६९ सेकेण्डमै जमाल मुसियालाले अर्को गोल थप्नुभयो भने ६८औँ मिनेटमा नाथानियल ब्राउन, ७८औँ मिनेटमा डेनिज उनडाभ र ८८औँ मिनेटमा पुनः हाभर्ट्जले गोल गर्दै जर्मनीलाई ७-१ को सानदार जित दिलाए ।
जर्मनीले यसअघि सन् २०१४ को विश्वकप सेमिफाइनलमा ब्राजिललाई पनि ७-१ गोलले नै हराएको थियो । यो खेलसँगै जर्मनीले विश्वकपमा आफ्नो कुल गोल संख्या २३९ पुर्याउँदै २३२ गोल गरेको ब्राजिललाई पछि पारेको छ । प्रशिक्षक जुलियन नागेल्सम्यानको नेतृत्वमा लगातार १०औँ खेल जितेको जर्मनीका लागि यो जितले नयाँ आशा जगाए पनि कमजोर टोलीविरुद्ध रक्षापंक्तिमा देखिएको कमजोरी चिन्ताको विषय बनेको छ ।
यसै खेलका क्रममा कुराकाओका प्रशिक्षक डिक एडभोकाट ७८ वर्ष २४० दिनको उमेरमा विश्वकप इतिहासकै सबैभन्दा पाका प्रशिक्षक बन्नुभयो । विश्वकपको आफ्नो डेब्यु खेलमा ६ गोलको अन्तरले पराजित हुने कुरासाओ ७२ वर्षयताकै पहिलो टोली बनेको छ । यो जितसँगै समूह ‘ई’ मा ३ अंकसहित जर्मनी पहिलो स्थानमा छ भने समान अंक भएको आइभरी कोस्ट दोस्रो स्थानमा छ । जर्मनीले आफ्नो दोस्रो खेल जुन २० मा आइभरी कोस्टसँग खेल्नेछ भने सोही दिन कुराकाओ र इक्वेडर आमने-सामने हुनेछन् । एजेन्सी







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि