रियो दि जेनेरियो । विश्व फुटबलकै सबैभन्दा सफल र ऐतिहासिक टोली ब्राजिल पुनः एक पटक आफ्नो छैटौँ विश्वकप उपाधि अर्थात् ‘हेक्सा’को खोजीमा मैदान उत्रिएको छ । पाँच पटकको विश्वकप विजेता ब्राजिलका लागि सन् २००२ को आफ्नो अन्तिम उपाधि जित अब एउटा धमिलो सम्झनाजस्तै बन्न थालेको छ । त्यसयताका २४ वर्ष ब्राजिलका लागि केवल निराशा, छटपटी र असफलतामा बितेका छन् । यो लामो खडेरीसँगै यस पटक ब्राजिलमाथि इतिहासकै सबैभन्दा बढी दबाब सिर्जना भएको हो ।
विगत दुई दशकभन्दा लामो समयदेखि ब्राजिलले विश्वकपको मञ्चमा लगातार ठूला धक्काहरू बेहोर्दै आएको छ । सन् २००६ को क्वाटरफाइनलमा फ्रान्सले ब्राजिलको यात्रा समाप्त गरिदिएको थियो भने २०११० मा नेदरल्याण्ड्सले उसलाई घर फर्कायो । सन् २०१४ मा आफ्नै देशमा आयोजित विश्वकपमा त ब्राजिलले फुटबल इतिहासकै सबैभन्दा बिर्सनलायक र अपमानजनक पराजय भोग्नुपर्यो, जहाँ सेमिफाइनलमा जर्मनीले उसलाई ७-१ को लज्जास्पद गोल अन्तरले पछाडि पारेको थियो । त्यसपछि सन् २०१८ र २०२२ का विश्वकपमा पनि ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।
ब्राजिलका युवाहरूको एउटा सिंगो पुस्ताले आफ्नो देशलाई विश्वकप जितेको देख्नै पाएको छैन । उनीहरूले केवल सन् १९९८ को उपविजेता बनेको निराशापछि २००२ मा रोनाल्डो नाजारियोले टोलीलाई दिलाएको ऐतिहासिक जितको कथामात्रै सुन्न पाएका छन् । उनीहरूले सन् १९९४ मा रोमारियोले ब्राजिलको २४ वर्ष लामो ऐतिहासिक खडेरी तोडेको र पुराना पुस्ताले सन् १९७० मा मेक्सिकोमा पेलेको कप्तानीमा चम्किएको जादुमयी टोलीको संस्मरणमात्रै सुनेका छन् । सन् १९६२ मा गारिन्चाको चामत्कारिक प्रदर्शन र सन् १९५८ मा १७ वर्षकै उमेरमा पेलेले विश्व फुटबलको मन जितेको इतिहासमात्रै अहिलेका युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ । अहिले २४ वर्ष लामो कठिन यात्रापछि ब्राजिलको नयाँ पुस्ता इतिहासमा आफ्नो नयाँ पाना लेख्न आतुर छ, जसको नेतृत्व रियल म्याड्रिडका स्टार खेलाडी विनिसियस जुनियरले गर्ने अपेक्षा गरिएको छ ।
ब्राजिलियनहरूमाझ आफ्नो टोली विश्वविजेता बनोस् भन्ने तीव्र चाहना भए पनि यस पटक टोलीप्रतिको अपेक्षा भने इतिहासकै सबैभन्दा न्यून स्तरमा झरेको छ । हालै ब्राजिलियन पोलिङ इन्स्टिच्युट ‘डाटाफोल्हाले गरेको एउटा सर्वेक्षणअनुसार केवल २९ प्रतिशत ब्राजिलियन नागरिकले मात्रै यस पटक आफ्नो टोलीले विश्वकप जित्ने विश्वास राखेका छन्, जुन सन् १९९४ मा सर्वेक्षण सुरु भएयताकै सबैभन्दा कम आँकडा हो । अझ अचम्मको कुरा त, ४६ प्रतिशत जनताले त टोली क्वाटरफाइनलभन्दा अगाडि बढ्न सक्छ भन्ने विश्वास समेत गरेका छैनन् ।
यो चरम निराशाका पछाडि बलिया कारणहरू छन् । ब्राजिलको यस पटकको विश्वकप छनोट यात्रा मैदानभित्र खराब प्रदर्शन र मैदानबाहिर विभिन्न घोटाला तथा काण्डहरूले भरिएको थियो । सन् २०२५ को मे महिनामा रियो दि जेनेरियोको एउटा अदालतले ब्राजिलियन फुटबल महासंघका तत्कालीन अध्यक्ष एडनाल्डो रोड्रिगेजलाई पुनः निर्वाचन जित्न नक्कली कागजात बनाएको आरोपमा पदबाट हटाउन आदेश दिएको थियो । यो अदालती आदेश इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको घोषणा भएको ठीक तीन दिनपछि आएको थियो, जसले ब्राजिलियन फुटबलमा ठूलो हलचल ल्यायो ।
त्यस समय ब्राजिल इतिहासकै सबैभन्दा खराब विश्वकप छनोट चरणबाट गुज्रिरहेको थियो । दक्षिण अमेरिकी छनोटमा ब्राजिल १८ खेलबाट मात्र २८ अंक जोड्दै पाँचौँ स्थानमा खुम्चिन पुग्यो, जुन शीर्ष स्थानमा रहेको आफ्नो परम्परागत प्रतिद्वन्द्वी अर्जेन्टिनाभन्दा १० अंकले कम हो ।
ब्राजिलका लागि सबैभन्दा निराशाजनक क्षण तब आयो, जब ब्युनस आयर्समा लियोनेल मेस्सीबिना मैदान उत्रिएको अर्जेन्टिनाले ब्राजिललाई ४-१ को भारी गोल अन्तरले पराजित गरिदियो । उक्त लज्जास्पद हारपछि कप्तान मार्किन्होसले टेलिभिजनमार्फत्् आफ्ना समर्थकहरूसँग सार्वजनिक रूपमा माफी माग्नुपरेको थियो । सन् १९६४ यता अर्जेन्टिनासँग बेहोरेको यो सबैभन्दा ठूलो पराजयका कारण अन्ततः तत्कालीन प्रशिक्षक दोरिभल जुनियरले आफ्नो जागिर गुमाउनुपर्यो र कार्लो एन्सेलोटीको आगमनको प्रक्रियालाई तीव्र बनाइयो ।
सन् १९७० को विरासत र विनिसियसमाथिको भरोसा
विश्व फुटबलको इतिहास ब्राजिलको सन् १९७० को टोलीबिना अधुरो रहन्छ । मेक्सिकोमा पेलेको नेतृत्वमा खेलिएको त्यो विश्वकप पहिलो पटक रंगीन टेलिभिजनमा प्रसारण गरिएको थियो, जसले गर्दा ब्राजिलको त्यो पहेँलो जर्सी पहिलो पटक विश्वभरका दर्शकको आँखामा उज्यालो भएर चम्कियो । त्यो टोलीले मैदानमा प्रदर्शन गरेको कलात्मक खेल यति सुन्दर थियो कि मानिसहरूले त्यसलाई मानव जातिले चन्द्रमामा चालेको पहिलो कदम जत्तिकै ऐतिहासिक मानेका थिए । सन् १९७० को त्यो ऐतिहासिक जितले ब्राजिललाई सधैँका लागि जुल्स रिमेट ट्रफीको स्थायी मालिक बनायो र अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिललाई स्वर्ण मापदण्डका रूपमा स्थापित गर्यो ।
तर, त्यही भव्य सफलताले पछिल्ला पुस्ताका लागि एउटा ठूलो बोझ पनि सिर्जना गरिदिएको छ, किनकि त्यसपछिका प्रत्येक विश्वकपलाई सन् १९७० को चामत्कारिक टोलीसँग तुलना गरेर हेरिन्छ । ब्राजिलका लागि केवल जित्नु मात्र ठूलो कुरा होइन, उनीहरूले आफ्ना पुराना नायकहरू जस्तै सुन्दर र आकर्षक शैलीमा जित्नुपर्छ भन्ने मान्यता स्थापित भयो । जस्तै सन् १९८२ को ब्राजिलियन टोली, जसलाई विश्वकप जित्न नसकेको इतिहासकै सबैभन्दा उत्कृष्ट टोली मानिन्छ, आज पनि उत्तिकै आदरका साथ स्मरण गरिन्छ । तर, विगत केही वर्षदेखि ब्राजिलले न त खेल जित्न सकेको छ, न त बजारमा पहिले जस्तो आफ्नो जादुमयी फुटबलको शैली नै कायम राख्न सकेको छ ।
यस्तो अवस्थामा ब्राजिलको त्यो परम्परागत र आकर्षक शैलीलाई मैदानमा जीवित राख्ने एकमात्र खेलाडी विनिसियस जुनियर हुनुहुन्छ, जसले ब्राजिललाई सफल बनाउन यस पटक मुख्य भूमिका खेल्नुपर्नेछ । ब्राजिलको प्रत्येक विश्वकप जितको एउटा नायक हुने गर्छ, जस्तै सन् १९५८ र १९७० मा पेले, १९६२ मा गारिन्चा, १९९४ मा रोमारियो र २००२ मा रोनाल्डो । यदि ब्राजिलले यस पटक विश्वकप जित्ने हो भने रियल म्याड्रिडका यी सुपरस्टारले पनि आफ्नो नाम त्यो महान् सूचीमा दर्ता गराउनुपर्नेछ । सन् २००२ को विश्वकप विजेता कप्तान काफुले पनि यो विश्वकप पूर्ण रूपमा विनिसियसकै लागि चम्किने सुनौलो मौका भएको बताउनुभएको छ । चार वर्षअघि कतार विश्वकपमा विनिसियस टोलीका मुख्य खेलाडी भए पनि सबैको ध्यान नेयमारमा केन्द्रित थियो तर यस पटक भने २१ करोड ३० लाखभन्दा बढी ब्राजिलियन नागरिकको आशा र भरोसा यी २५ वर्षीय खेलाडीको काँधमा आइपुगेको छ । दुई पटकको च्याम्पियन्स लिग विजेता तथा सन् २०२४ को फिफा वर्ष खेलाडी विनिसियसले यो ठूलो जिम्मेवारीलाई आफूले गौरवका साथ स्विकारेको बताउनुभएको छ ।
नेयमारको सुखद अन्त्यको आशा
कार्लो एन्सेलोटीले जब आफ्नो २६ सदस्यीय विश्वकप टोलीमा नेयमारको नाम समावेश गर्नुभयो, तब धेरैले अचम्म मानेका थिए । ३४ वर्षीय भेट्रान फरवार्ड नेयमारले सन् २०२३ को अक्टोबर महिनादेखि ब्राजिलका लागि कुनै खेल खेल्नुभएको छैन र विगत दुई वर्षदेखि उहाँ लगातार चोटसँग संघर्ष गरिरहनुभएको छ । तर, रियो दि जेनेरियोमा टोली घोषणा हुँदा रंगशालामा उपस्थित हजारौँ समर्थकहरूले नेयमारको नाम आउनासाथ ठूलो खुसीयाली मनाएका थिए । यसले नेयमार अझै पनि ब्राजिलियन फुटबलको कति ठूलो हिस्सा हुनुहुन्छ भन्ने देखाउँछ ।
नेयमारले धेरै हदसम्म सन् १९७० को ब्राजिलियन फुटबलको त्यो पुरानो दर्शन र कौशललाई प्रतिनिधित्व गर्नुहुन्छ । सन् २०१४ को त्यो कालो दिनमा कोलम्बियाविरुद्धको खेलमा घाइते हुनुभएका कारण नेयमारले जर्मनीविरुद्धको सेमिफाइनल गुमाउनुभएको थियो, जसको पीडा आज १२ वर्षपछि पनि ब्राजिलियन फुटबलमा ताजा छ । ब्राजिलका महान् फुटबलर रोनाल्डो नाजारियोले पनि नेयमारको बचाउ गर्दै उहाँ टोलीका लागि सधैँ मूल्यवान् खेलाडी रहेको र उहाँले सबै खेल नखेले पनि उहाँको उपस्थितिमात्रैले टोलीमा ठूलो ऊर्जा थप्ने बताउनुभयो । विश्वकपको यो महाकुम्भ सुरु हुन लाग्दा रोनाल्डोले सम्पूर्ण ब्राजिलियन समर्थकहरूलाई विगतमा जस्तै आफ्ना सडकहरूलाई पहेँलो र हरियो रङले सजाउन, झण्डाहरू फहराउन र टोलीलाई छैटौँ उपाधि दिलाउन एकताबद्ध भएर विश्वास जगाउन अपिल गर्नुभएको छ । सिएनएन







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि