काठमाडौं । युद्ध अन्त्य गर्न अमेरिका र इरान सहमत भएका छन् । सय दिनदेखि जारी भीषण युद्ध समाप्त गर्दै ऐतिहासिक ‘शान्ति सम्झौता’मा हस्ताक्षर गर्न दुवै देश सहमत भएका हुन् । आगामी शुक्रबार स्विट्जरल्याण्डमा औपचारिक सम्झौता हुने दुवै देशका अधिकारीहरूले पुष्टि गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा आगामी शुक्रबार दुई देशबीच औपचारिक सम्झौता हुने घोषणा गर्नभएको थियो, जसलाई इरानले पनि पछि पुष्टि गर्यो । मध्यस्थकर्ताहरूका अनुसार ऐतिहासिक सम्झौतामा युद्धविराम, सैन्य नाकाबन्दी अन्त्य र रोक्का गरिएका वित्तीय सम्पत्तिको फुकुवाजस्ता महत्त्वपूर्ण विषयहरू समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ट्रम्पका अनुसार सम्झौताले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गलाई बिनाकुनै महसुल पूर्णरूपमा खुला गर्ने अनुमति दिनेछ र बदलामा अमेरिकाले पनि इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी तुरुन्तै हटाउनेछ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले घोषित युद्धविरामले मध्यपूर्वमा एक नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गर्नुभयो । वार्ताको मध्यस्थता गर्नुभएका पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले कूटनीतिक सफलताको घोषणा गर्दै सम्झौतासँगै लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तुरुन्त र स्थायी रूपमा रोक्न दुवै पक्ष सहमत भएको बताउनुभयो ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणबाट यो युद्ध सुरु भएको थियो । सुरुवाती आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएका थिए । त्यसयता इरान र लेबनानमा गरी हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । युद्धका क्रममा इरानले इजरायल र अमेरिकी सैन्य बेस रहेका खाडी मुलुकहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो ।
तेलको मूल्यमा गिरावट र सेयर बजारमा उछाल
सम्झौताको घोषणालगत्तै विश्वव्यापी ऊर्जा र वित्तीय बजारमा सकारात्मक असर देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य झण्डै पाँच प्रतिशतले घटेको छ । मध्यपूर्वको तेल र ग्यास आपूर्तिमा अत्यधिक निर्भर रहेका एसियाली मुलुकहरूका सेयर बजारमा भारी वृद्धि देखिएको छ । जापानको निक्केई २२५ इन्डेक्स ५ प्रतिशत र दक्षिण कोरियाको कोस्पी ५.२ प्रतिशतले बढेर बन्द भए । यस्तै, युरोपका जर्मनीको ड्याक्स र फ्रान्सको क्याक ४० मा करिब १.७ प्रतिशत तथा लन्डनको एपटिएसई १०० मा ०.६ प्रतिशतको वृद्धि दर्ता गरिएको छ ।
होर्मुज स्ट्रेट पुनः खुला गरिने
सम्झौताको सबैभन्दा महत्त्वपूर्ण पाटो विश्वकै प्रमुख तेल आपूर्ति मार्ग ‘होर्मुज स्ट्रेट’लाई पुनः खोल्नु हो । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि इरानले आफ्ना शीर्ष नेताहरूको मृत्युको बदलास्वरूप अमेरिकी ठेगाना र इजरायलमाथि आक्रमण गर्दै यो स्ट्रेट बन्द गरिदिएको थियो । विश्वको कुल तेल र लिक्विफाइड नेचुरल ग्यासको करिब २० प्रतिशत आपूर्ति यही मार्गबाट हुने गर्दछ । अमेरिकी राष्ट्रपति ट्रम्पले न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा यो सम्झौताले होर्मुज स्ट्रेटलाई ‘स्थायी रूपमा टोल मुक्त’ राख्ने सुनिश्चित गरेको बताउनुभयो । ‘आउँदो शुक्रबार आधिकारिक हस्ताक्षर भएसँगै यो स्ट्रेट खुल्नेछ, समुद्री बारुदी सुरुङहरू हटाइनेछन् र विश्वभर तेलको आवतजावत पुनः निर्वाध रूपमा सुरु हुनेछ ।’
सम्झौताको मस्यौदामा के छ ?
इरानको अर्ध सरकारी समाचार एजेन्सी ‘मेहर’ले अमेरिका र इरानबीच भएको १४ बुँदे सम्झौता पत्रको मस्यौदा विवरण प्रकाशित गरेको छ, यद्यपि यसको आधिकारिक पुष्टि हुन बाँकी छ । सहमकिो मस्यौदामा लेबनानसहित सबै मोर्चाहरूमा स्थायी युद्धविराम गर्ने उल्लेख छ । यसैगरी, अमेरिकाले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, ३० दिनभित्र अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी हटाउने, ३० दिनभित्र इरानी संयन्त्र र व्यवस्था मातहत होर्मुज खुला गरिने पनि सम्झौतामा उल्लेख छ । यस्तै, अमेरिका र उसका सहयोगीहरूले इरानको पुनर्निर्माणका लागि कम्तीमा ३०० अरब डलर दिने, इरानी तेल र ऊर्जा उत्पादनमाथि लगाइएका प्रतिबन्धहरू समाप्त गर्ने, परमाणु हतियार निर्माण नगर्ने इरानको प्रतिबद्धतालगायत विषय मस्यौदामा छ । इरानी सञ्चार माध्यमका अनुसार इरानको रोक्का गरिएको सम्पत्तिको कम्तीमा आधा हिस्सा फुकुवा नभएसम्म, तेलमाथिको प्रतिबन्ध निलम्बन नभएसम्म र नौसैनिक नाकाबन्दी अन्त्य नभएसम्म अन्तिम वार्ता सुरु हुने छैन । यो अन्तिम सम्झौतालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमार्फत अनुमोदन गरिनेछ ।
अझै अनुत्तरित छन् केही प्रश्नहरू
यो सम्झौता राष्ट्रपति ट्रम्पका लागि ८०औँ जन्मदिनको ठूलो उपहार सावित भए पनि यसका पछाडि अनेकौँ अनिश्चितता र चुनौतीहरू लुकेका छन् । ऊर्जा बजारका विज्ञहरूले होर्मुज स्ट्रेट खुल्नेबित्तिकै तेल आपूर्ति तत्कालै युद्धपूर्वको अवस्थामा नफर्कने चेतावनी दिएका छन् । लिपो आयल एसोसिएट्सका एर्न्ड्यु लिपो र अवकाशप्राप्त अमेरिकी नेभी रियर एडमिरल मार्क मोन्टगोमरीका अनुसार मार्गमा बिछ्याइएका बारुदी सुरुङहरू सफा गर्न, त्यहाँ फसेका विशाल तेल ट्यांकरहरूलाई हटाउन र तेल उत्पादनलाई सामान्य लयमा ल्याउन कम्तीमा केही हप्तादेखि ६ महिनासम्मको समय लाग्नसक्छ । पूर्णरूपमा सहज हुन ४५ दिनसम्म लाग्नसक्ने अनुमान छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले स्पष्ट पारेको छ कि अमेरिकाले आफ्ना प्रतिबद्धताहरू पूरा नगरेसम्म अन्तिम सम्झौता अघि बढ्ने छैन । आउँदो ६० दिनको प्राविधिक वार्तामा यी विषयहरू तय गरिनेछन् ।
इजरायललाई बाइपास
युद्धको तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कोण इजरायल हो । ट्रम्पले इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुसँग आफू निकै रिसाएको खुलासा गर्नुभएको छ, किनकि नेतान्याहुले यसै साताको अन्त्यमा लेबनानमा आक्रमणको आदेश दिनुभएको थियो, जसले इरानसँगको वार्ता भाँडिने खतरा पैदा भएको थियो । इरानका परराष्ट्र मन्त्री सैयद अब्बास अराक्चीले टर्की, इराक र इजिप्टका परराष्ट्र मन्त्रीहरूसँग फोन वार्ता गर्दै लेबनानमा इजरायली आक्रमण पूर्णरूपमा रोकिनुपर्ने र सम्झौता लागू गराउने जिम्मेवारी अमेरिकाको भएको बताउनुभयो । यदि इजरायलले लेबनानमा पुनः सैन्य अभियान सुरु गरेमा इरानले फेरि होर्मुज स्ट्रेट बन्द गर्न सक्छ, जसले विश्व अर्थतन्त्रलाई पुनः संकटमा धकेल्नेछ ।
अमेरिकामा आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनको पृष्ठभूमिमा यो सम्झौता ट्रम्पका लागि राजनीतिक सञ्जीवनी बन्नसक्छ । यदि सम्झौताका कारण अमेरिकामा इन्धनको मूल्य घट्यो भने यसले अमेरिकी जनतालाई ठूलो राहत दिनेछ र रिपब्लिकन पार्टीमाथिको राजनीतिक दबाब कम हुनेछ । अन्तिम सम्झौताका लागि आउँदो ६० दिनको समयसीमा तोकिएको छ । यो अवधिसम्मका लागि हालको युद्धविरामलाई बढाइनेछ । कतारका मध्यस्थकर्ताहरूले तेहरानमा निरन्तर १४ देखि १५ घण्टासम्म वार्ता गरेर यो मस्यौदा तयार पारेका हुन् । इरानका उप–परराष्ट्रमन्त्री गरिबाबादीका अनुसार, बेरुतमा इजरायलले गरेको आक्रमणपछि इरानले अमेरिका र इजरायललाई दिएको कडा चेतावनीले नै यो मस्यौदालाई अन्तिम रूप दिन मद्धत पुर्याएको हो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि