विराटनगर । युवा तथा विद्यार्थीलाई सीप, करियर तथा उद्योगसँग जोड्ने उद्देश्यका साथ उद्योग संगठन मोरङको आयोजनामा, स्वीस सरकारको आर्थिक सहयोग, इन्स्योर/हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सीप उत्सव २०८३ सम्पन्न भएको छ ।
सीपका लागि उद्योग, करियरका लागि भविष्य भन्ने मूल नाराका साथ आयोजित उत्सवमा झापा, मोरङ र सुनसरीका २५ विद्यालय तथा प्राविधिक शिक्षालयका करिब एक हजारभन्दा बढी विद्यार्थीको सहभागिता थियो । उत्सवलाई विद्यार्थीको करियर यात्राका रूपमा डिजाइन गरिएको थियो, जहाँ सहभागीहरूले सिकाइका क्षेत्रहरू हुँदै आफ्नो रुचि, क्षमता, सम्भावित करियर तथा उद्योगसँगको सम्बन्धबारे प्रत्यक्ष अनुभव हासिल गरेको उद्योग संगठनले जनाएको छ ।
समापन कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्ति अभाव र शिक्षाबाट उत्पादित जनशक्तिको सीपबीच रहेको अन्तर घटाउने उद्देश्यले संगठनले अप्रेन्टिसीप कार्यक्रम तथा सीप उत्सव जस्ता अभियान सञ्चालन गर्दै आएको बताउनुभयो । विद्यार्थीलाई उद्योगको वास्तविक वातावरण, करियर सम्भावना तथा सीप विकासका अवसरसँग प्रत्यक्ष जोड्न सफल भएको उल्लेख गर्दै उहाँले दक्ष जनशक्ति विकासमा निजी क्षेत्र पनि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
कोशी प्रदेश सामाजिक विकासमन्त्री रामप्रसाद महतोले सीपयुक्त जनशक्ति निर्माण आजको आवश्यकता भएको उल्लेख गर्दै उद्योग र शिक्षाबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो । उहाँले युवालाई रोजगार खोज्नेमात्र नभई अवसर सिर्जना गर्ने दिशामा अघि बढ्न प्रेरित गर्दै यस्ता कार्यक्रमले प्रदेशको उद्यमशीलता विकासमा टेवा पुर्याउँदै नवउद्यमशीलता विकासमा सघाउने बताउनुभयो ।
उद्योग संगठन मोरङका कार्यसमिति सदस्य एवं मानव संसाधन विकास समितिका संयोजक दिपक अग्रवालले उत्सवमा सञ्चालित १० वटा सिकाइ तथा अनुभवात्मक जोनहरूले विद्यार्थीहरूलाई करियर परीक्षण, करियर परामर्श, उद्योग अवलोकन, प्रत्यक्ष सीप प्रदर्शन, नवप्रवर्तन तथा उद्यमशीलतासँग जोड्ने अवसर प्रदान गरेको बताउनुभयो । कार्यक्रमबाट विद्यार्थीमा सीपमुखी शिक्षा तथा करियरप्रतिको सकारात्मक सोच विकास भएको उहाँको भनाइ थियो ।
आयोजकका अनुसार उत्सवअन्तर्गत प्रेरणादायी सत्र, करियर परीक्षण, करियर काउन्सिलिङ, करियर ट्री, मेरो देश मेरै उत्पादन, प्रत्यक्ष तालिम अनुभव, सीप प्रतिस्पर्धा, नवप्रवर्तन तथा उद्यमशीलता प्रदर्शनीलगायतका गतिविधि सञ्चालन गरिएका थिए । साथै सीप प्रतिस्पर्धामा अटोमोबाइल क्षेत्रबाट मनमोहन स्मृति पोलिटेक्निक हातिमुडाका मोहम्मद जेसन अन्सारी, होटल म्यानेजमेन्ट क्षेत्रबाट नरबहादुर कर्माचार्य, बहुप्राविधिक शिक्षालय इटहरीकी आकृति पौडेल र सूचना प्रविधि क्षेत्रबाट कन्काई पोलिटेक्निककी मनिष घिमिरे प्रथम भई स्किल आइकन २०८३ हुन सफल हुनुभएको छ । विजेतालाई संगठनका अध्यक्ष राठी र कोशी प्रदेशका सामाजिक विकासमन्त्री महतोले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि