मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि खर्च कटौती र प्रशासनिक संरचना संकुचनलाई प्राथमिकतामा राख्दै ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तुलनामा प्रदेशको बजेट आकार ५४ करोड ४० लाख रुपैयाँले घटेको हो।
प्रदेशसभाको सोमबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बजेट प्रस्तुत गर्दै प्रदेश सरकार मितव्ययी प्रशासन र विकासमुखी खर्च व्यवस्थापनतर्फ अघि बढेको बताउनुभयो।
चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षका लागि भने बजेट आकार घटाइए पनि विकास निर्माण र पूर्वाधार क्षेत्रमा लगानी बढाउने रणनीति लिइएको सरकारको दाबी छ।
बजेटमार्फत प्रदेशमा रहेका १४ मन्त्रालयलाई घटाएर ८ वटामा सीमित गर्ने योजना अघि सारिएको छ। साथै प्रशासनिक खर्च ११ प्रतिशतले घटाउने लक्ष्यसहित ७०० भन्दा बढी कर्मचारी दरबन्दी कटौती गर्ने नीति पनि समावेश गरिएको छ।
प्रदेश सरकारले कुल बजेटमध्ये ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ अर्थात् ६५.६९ प्रतिशत रकम पुँजीगत खर्चका लागि विनियोजन गरेको छ। चालुतर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात् ३४.३१ प्रतिशत बजेट छुट्याइएको छ। यसले प्रदेश सरकारले चालु खर्च नियन्त्रण गर्दै विकास निर्माणमा बढी लगानी गर्न खोजेको संकेत गरेको छ।
सरकारले सडक, खानेपानी, सिँचाइ, पर्यटन, शिक्षा, स्वास्थ्य तथा अन्य पूर्वाधार विकासका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधारको सन्तुलित विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको मन्त्री तामाङको भनाइ छ।
बजेट कार्यान्वयनका लागि कर राजस्वलाई प्रमुख स्रोतका रूपमा लिइएको छ। आगामी आर्थिक वर्षमा कर राजस्वबाट ३० अर्ब १५ करोड रुपैयाँभन्दा बढी संकलन हुने अनुमान गरिएको छ। यस्तै गैरकर तथा अन्य राजस्वबाट ७ अर्ब ७३ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणमार्फत १५ अर्ब ३१ करोड रुपैयाँ आउने अनुमान गरिएको छ भने चालु आर्थिक वर्षको सञ्चित कोष बचत तथा अन्य प्राप्तिबाट १२ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन हुने प्रक्षेपण गरिएको छ।
प्रदेश सरकारले प्रशासनिक खर्च कटौती, सरकारी संरचना पुनर्संरचना तथा विकास खर्च वृद्धि गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लैजाने जनाएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि