काठमाडौं । नेपाली उड्डयन क्षेत्र सुरक्षित, दिगो, नवप्रवर्तनमुखी र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने उद्देश्यका साथ वायुसेवा सञ्चालक संघ, नेपाल(आयोन) र एरोनटिकल सोसाइटी अफ नेपालबीच महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ । जसअन्तर्गत सहकार्यका १२ मुख्य क्षेत्र रहने बताइएको छ । एक कार्यक्रमका बीच दुई संस्थाले उड्डयन क्षेत्रको समग्र विकास, एकता र व्यावसायिक दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने घोषणा गरेका हुन् ।
वायु सेवा सञ्चालक संघका अनुसार उक्त साझेदारीले वायुसेवा कम्पनी, विमानस्थल, सेवा प्रदायक संस्था, इञ्जिनियर, प्राविधिक जनशक्ति, अनुसन्धानकर्ता र विद्यार्थीलाई एउटै साझा मञ्चमा जोड्नेछ । जसले ज्ञान, अनुभव र विशेषज्ञताको आदानप्रदानलाई प्रोत्साहन गर्दै दीर्घकालीन विकासको आधार निर्माण गर्ने लक्ष्य लिएको छ । संघका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा जारी विज्ञप्तिमा नेपाली उड्डयन क्षेत्रलाई भविष्यका अवसर र चुनौतीहरू सामना गर्न सक्षम बनाउने साझा अभियानमा सबै सरोकारवालालाई सहभागी हुन आह्वानसमेत गरिएको छ ।
उड्डयन क्षेत्रको सुरक्षा र नवप्रवर्तनका लागि वायुसेवा सञ्चालक संघ, नेपाल(आयोन) र एरोनटिकल सोसाइटी अफ नेपालले संयुक्तरूपमा १२ मुख्य क्षेत्रमा काम गर्ने भएका छन् ।
सहकार्यका १२ मुख्य क्षेत्रअन्तर्गत उड्डयन क्षेत्रको समग्र क्षमता विकास तथा नेतृत्व प्रवर्द्धन गर्ने, उड्डयन सञ्चालन, इञ्जिनियरिङ, मर्मतसम्भार, सुरक्षा व्यवस्थापन तथा नवीन प्रविधिसम्बन्धी तालिम र क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय मापदण्डअनुरूप दक्ष जनशक्ति उत्पादन तथा क्षमता अभिवृद्धिमा सहकार्य गर्ने, विद्यार्थी, युवा पेशाकर्मी तथा भावी नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गर्ने, सुरक्षा, दिगोपन, नवप्रवर्तन तथा अनुसन्धान प्रवर्द्धन गर्ने रहेका छन् ।
त्यस्तै उड्डयन क्षेत्रमा सुरक्षा संस्कृतिको विकास तथा प्रवर्द्धन गर्ने, दिगो उड्डयन, अनुसन्धान, प्राविधिक अध्ययन तथा ज्ञान उत्पादनलाई प्रोत्साहन गर्ने, डिजिटलाइजेसन, डेटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता (एआई) तथा अन्य उदीयमान प्रविधि प्रयोग र विकाससम्बन्धी सहकार्य विस्तार गर्ने, उड्डयन क्षेत्रभित्र एकता, समन्वय तथा ज्ञान साझेदारी गर्ने, उद्योग, शैक्षिक संस्था, प्राविधिक समुदाय र अन्य सरोकारवालाबीचको सम्बन्ध थप सुदृढ र प्रभावकारी बनाउने, सेमिनार, सम्मेलन, कार्यशाला तथा प्राविधिक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा ज्ञान आदानप्रदान, अनुभव साझेदारी तथा नीति संवाद कार्यक्रम सञ्चालन गर्ने रहेका छन् । २०५५ मा स्थापना भएको वायुसेवा सञ्चालक संघ र २०७५ मा स्थापना भएको एरोनटिकल सोसाइटीको उक्त प्रयासले नेपाली उड्डयन आकाश थप सुरक्षित र प्रतिस्पर्धी बनाउने बताइएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि