काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले आफ्नो कार्यकालका लागि कार्ययोजना र मार्गचित्र सार्वजनिक गर्नुभएको छ । नवनिर्वाचित कार्यसमितिको सम्मानमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऊर्जा क्षेत्रको विकास, लगानी सुरक्षा र नीतिगत सुनिश्चिततालाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गर्नुभएको छ । समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व प्रदान गर्ने प्रतिबद्धतासहित ‘इप्पान भिजन २०२९’ मा उल्लेखित कार्यक्रम अक्षरशः कार्यान्वयन गरिने पनि डाँगीले बताउनुभयो ।
इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले समृद्ध ऊर्जा क्षेत्रका लागि निर्णायक नेतृत्व प्रदान गर्ने प्रतिबद्धतासहित ‘इप्पान भिजन २०२९’ मा उल्लेखित कार्यक्रम अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सामूहिक नेतृत्वको अवधारणा आत्मसात् गर्दै इप्पानले सातवटा विशेष समिति र आवश्यकताअनुसार उपसमिति गठन गर्ने, ती समितिलाई कार्यसूचीसहित पूर्ण अधिकार प्रत्यायोजन गरी सक्रिय बनाइने पनि उहाँले बताउनुभयो । निवर्तमान अध्यक्षको संयोजकत्वमा बढीमा ११ सदस्यीय सल्लाहकार समिति र ऊर्जा क्षेत्रका विज्ञहरू सम्मिलित सातदेखि नौ सदस्यीय उच्चस्तरीय विज्ञ सल्लाहकार समिति गठन गरिने इप्पान भिजनमा उल्लेख छ । सरकारका पूर्वसचिवको संयोजकत्वमा गठन हुने विज्ञ समितिले ‘रिसर्च एण्ड डेभलपमेन्ट’ (अनुसन्धान र विकास) मा काम गर्ने बताइएको छ ।
डाँगीका अनुसार समितिले विद्युत्् विधेयक र वन विधेयकलगायतका विकास निर्माणमा बाधक रहेका कानुन तथा नियमावलीहरूको अध्ययन गरी संशोधनका लागि सरकार र संसदीय समितिहरूसँग समन्वय गर्नेछ । उहाँले वैदेशिक सहयोगमा बन्ने कतिपय विधेयकले निजी क्षेत्रलाई संकुचित पार्न सक्ने भन्दै इप्पान आफैंले पनि विधेयकको मस्यौदा तयार पारी सरकारलाई बुझाउने र दबाब सिर्जना गर्ने योजना रहेको जानकारी दिनुभयो ।
डाँगीका अनुसार ऊर्जा क्षेत्रप्रति समाज र सरकारी संयन्त्रमा रहेको नकारात्मक दृष्टिकोण परिवर्तन गर्न ऊर्जा उद्यमीहरूको आचारसंहिता तयार गरिनुका साथै झण्डै ७० लाख जनताको लगानी रहेको उर्जा क्षेत्रलाई मर्यादित बनाउन विज्ञहरूको सल्लाहमा आचारसंहिता निर्माण गरी साधारणसभाबाट स्वीकृत गराइनेछ ।
त्यसैगरी निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा मात्र सीमित नराखी प्रसारण, वितरण र व्यापारमा समेत सहभागी गराउन विशेष ‘दृष्टिकोण पत्र’ तयार पारिने पनि उहाँले बताउनुभयो । इप्पानको नवगठित कार्यसमितिले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार ग्रहण गरेको छ ।
२४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष मोहनकुमार डाँगीसहित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका हुन् । त्यसपछि निवर्तमान कार्यसमितिले नवगठित कार्यसमितिलाई पदभार हस्तान्तरण गरेका थिए । संस्थाको संशोधित विधानको धारा १५ को उपधारा १२ अनुसार डाँगी स्वतः अध्यक्षमा चयन हुनुभएको थियो भने वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित हुनुभएको थियो ।
त्यस्तै, उपाध्यक्षमा उत्तमकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक, महासचिवमा टेकनाथ आचार्य (टिएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्वाचित हुनुभएको थियो । सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुँवरमणि नेपाल, विजयमोहन भट्टराई, सुमनकुमारी जोशी र कोषाध्यक्षमा शंकर बस्याल रहेका छन् ।
त्यस्तै सदस्य खुलातर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगत्बहादुर पोखरेल, नारायण कट्टेल, मिलन खड्का, वर्णन लामिछाने र महिला सदस्यतर्फ ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगीता धमला निर्विरोध भएका थिए ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि