म्याग्दी । नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे, म्याग्दीले सोमबारदेखि विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सञ्चालन गरेको छ।
बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा तीन महिने तालिम सुरु गरिएको हो। जिल्ला भरिका विद्यालयमध्ये छनोटमा परेको उक्त विद्यालयका ३० जना विद्यार्थी तालिममा सहभागी भएका छन्।
गुरु गोरख गुल्मका गुल्मपति राकेश वस्नेतका अनुसार अभिभावकसँग अन्तर्क्रिया गरी विद्यार्थी छनोट गरिएको हो। छनोट भएका विद्यार्थीलाई लत्ताकपडा, जुत्ता लगायत आवश्यक सामग्री उपलब्ध गराएर तालिम प्रारम्भ गरिएको उहाँले जानकारी दिनुभयो।
नेपाली सेनाका अनुसार तालिमको मुख्य उद्देश्य विद्यार्थीहरूको शारीरिक तथा मानसिक क्षमता विकास गर्दै अनुशासित, बफादार र राष्ट्रप्रति समर्पित युवा तयार गर्नु हो। कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू यस तालिममा सहभागी भएका छन्।
‘अनुशासन नै राष्ट्रसेवाको मूल जग हो’ भन्ने आदर्शलाई आत्मसात् गर्दै सञ्चालन गरिएको एनसीसी तालिमले विद्यार्थीमा नेतृत्व क्षमता, खेलकुद भावना, निःस्वार्थ सेवाको भावना तथा चरित्र निर्माणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
गुल्मपति वस्नेतले तालिमअन्तर्गत शारीरिक व्यायाम, ड्रिल, एरोबिक्स, एसएलआरद्वारा गन फायरिङ तथा मर्मतसम्भार, पर्खाल चढ्ने, घोडचढी, पौडी, वक्तृत्वकला, बालुवा मोडेल ब्रिफिङ, सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद गतिविधिमा प्रशिक्षण दिइने बताउनुभयो।
तालिमको ७९ दिन विद्यालयमै सञ्चालन हुने र बाँकी २१ दिनका लागि क्याडेटहरूलाई नेपाली सेनाको नवलपरासीस्थित ब्यारेकमा विशेष आवासीय क्याम्पसहित प्रशिक्षण दिइने जनाइएको छ। एक सय दिनको प्रशिक्षण सफलतापूर्वक पूरा गरेपछि योग्यताअनुसार दर्ज्यानी चिह्न प्रदान गरिने व्यवस्था रहेको छ।
तालिममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई विभिन्न मित्रराष्ट्रमा अनुभव आदानप्रदान कार्यक्रमका लागि पठाउने गरिएको सेनाले जनाएको छ। नेपाली सेनाले २०२२ साल कात्तिक ७ गतेदेखि राष्ट्रिय सेवा दल तालिम सञ्चालन गर्दै आएको छ भने म्याग्दीमा आर्थिक वर्ष २०७४/७५ देखि यो कार्यक्रम सुरु गरिएको हो।
तालिम उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले एनसीसी तालिमले विद्यार्थीलाई अनुशासन, नेतृत्व विकास र देशभक्तिको शिक्षा प्रदान गर्ने भएकाले यस्तो अवसर महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रममा गुल्मपति राकेश वस्नेत, विद्यालय सञ्चालक समितिका सदस्य रमेश गिरी, शिक्षक काजी थापा तथा प्रधानाध्यापक राजु केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो।
विद्यालयका प्रिन्सिपल राजु केसीको अध्यक्षता, गुल्मपति राकेश वस्नेतको प्रमुख आतिथ्यता, शिक्षक काजी थापाको स्वागत तथा शिक्षक ध्रुवसागर शर्माको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…