काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वासिंटन डिसी मेट्रो च्याप्टरद्वारा आयोजित ‘आमाका कथाहरूमा एक विमर्श’ कार्यक्रम सम्पन्न भएको छ । अनेसास डिसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीको सभापतित्व तथा ज्येष्ठ महिला देवकी घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
च्याप्टरका महासचिव जगन्नाथ पौडेलद्वारा सञ्चालित कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार होमनाथ सुवेदी, डा.कविता घिमिरे, प्राडा.विष्णु घिमिरे, श्याम केसी, मञ्जु थापा, प्रेमचन्द्र ढुंगानालगायतले ‘छोरीले जन्माएका आमाहरू’ कृतिमाथि विचार तथा अभिमत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा च्याप्टरकी सदस्य तनुजा पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मातृत्व, आमाको त्याग, ममता, संघर्ष तथा नेपाली साहित्यमा आमाको उपस्थितिलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा साहित्यकार, कवि, कथाकार, समालोचक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा विविध सिर्जना, अनुभव र विचारहरूको अर्थपूर्ण आदानप्रदान गरिएको थियो ।
कार्यक्रमकी पहिलो वक्ता तथा ‘छोरीले जन्माएका आमाहरू’ कृतिकी सहलेखक डा.कविता घिमिरेले कृतिको पृष्ठभूमि र भावबारे प्रकाश पार्दै आमाका कथा लेख्नेक्रममा आफ्नी आमा र हजुरआमाबाट जीवनका अनेक अनुभव सुन्ने अवसर प्राप्त भएको बताउनुभयो । विदेशमा बस्दा स्वदेशमा एक्लै रहेका आमाप्रतिको चिन्ता र भावनात्मक सम्बन्धले आफूलाई बारम्बार स्पर्श गर्ने गरेको अनुभवसमेत उहाँले साझा गर्नुभयो ।
कृतिकी परिकल्पनाकार मञ्जु थापाले आमाहरूप्रति सम्मान व्यक्त गर्ने, उनीहरूको स्मृति जोगाउने तथा उनीहरूको योगदान र जीवनभोगाइलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले कृति तयार गरिएको बताउनुभयो ।
कार्यक्रमको अर्को आकर्षण वरिष्ठ साहित्यकार होमनाथ सुवेदीद्वारा रचित तथा प्रा.मोहन सिटौलाद्वारा अंग्रेजीमा अनूदित ‘नन्दा’ खण्डकाव्यको अंग्रेजी संस्करणको गृहलोकार्पण रहेको थियो । सो अवसरमा प्राडा.विष्णु घिमिरेले कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । उक्त कृतिको औपचारिक विमोचन भने गत मे महिनामा कोलोराडोमा सम्पन्न अनेसासको अन्तर्राष्ट्रिय सम्मेलनमा गरिएको थियो ।





समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर