यो उखान मैले सानैमा सुनेको थिएँ । म गाई चराउन वनमा साथीसँग जान्थेँ । मेरी बहिनी चाहिँ गाउँका उसका केटी साथीसँग बाख्रा लिएर जान्थी । ऊ बिरामी हुँदा या म कुनै कामले या बाहिर जाँदा बिरामी हुँदा हामी काला बादलले नपाएको दुःख पाउँथ्यौँ । गाईबाख्रा सँगै लानुपर्दथ्यो । दुबैका चाल, चिन्तन र प्रकृति नै मिल्दैनथे । भेडा पाल्ने चलन थिएन । एक समय हामीले भैंसी पनि पाल्यौं । त्यस बेला पुगिसरी आएको बेला भएकाले घरमा मुक्तान दाइका परिवार थिए । उनी यस्ता मर्द थिए गाईबाख्रासँगै वनमा लिएर गई बेलुका फर्कँदा एक भारी डालेघाँस पनि लिएर आउँथे । प्रायः साना बाच्छा र लैना गाईलाई मात्र हरियो घाँस दिने चलन सबैकहाँ थियो ।
घर छाडेर पढ्न हिँडेपछि पनि म निर्दलीय नामको एकदलीय शासनका चेपुवामा परेको थिएँ । मेरा लागि वनमा बाघभालुको डर थियो भने सहरमा राजाको गद्दी टिकाउन जागिरे बनेका मेरै दाजुभाइको डर थियो । ती मलाई कुट्थे, समातेर जेल या प्रहरी कस्टडीमा पुर्याउँथे । धेरै वर्ष संघर्ष गरेर त्यसलाई पनि हटाइयो तर यो बुढेसकालमा अहिले चाल, स्वभाव, चिन्तन, चरित्र केही नै थाहा नभएका भेडाका बीचमा परेको छु । एकात् भेडा छिर्केमिर्के काला भए पनि अधिकांश भेडा सेता छन् । गाईको कराउने तरिका एकै भए पनि स्वर फरक हुन्थ्यो । बाख्राको पनि स्वर अलग हुन्थ्यो । म यो स्वर फलाना गाईगोरु या बोकाबाख्राको भनेर सुन्नेबित्तिकै छुट्याउँथे । आफ्नो र अर्काको भनेर त म पाइला (गोहो) हेररै भन्न सक्थेँ ।
हाम्रा नेता कति महान् ? कति उदार ? ढुकुरले बाज भगायो भन्नसक्ने । आजसम्म कसैले नभनेको नगरेको गर्ने र भन्ने पो महान् त भनेर अहिले उहाँका बथानकै साथीसँगाती दिनरात हो हो साँचो हो भनेर दुनियाँलाई चकित पार्न लागेका छन् रे । रप्फू गरौं भैंसी पनि छिर्छ । टालौं देश र देशको इतिहासै डुब्ने बोलीका खाडललाई के गरी टाल्ने ?
खोइ बुढेसकालका कारणले हो कि अहिलेको नेपाली सत्ताको हरियो फाँटमा हामीले चराउन निकालेका भेडाको त बोली बुझ्छु न व्यवहारै चिनेजाने जस्तो लाग्छ । त्यसै छक्क परेको छु, पहाडको घरभन्दा एक दिन एक बिहानको बाटो उत्तरपूर्व लाग्दा ठूलाठूला भेडीगोठमा पुग्थ्यौं बा र म । मैले भेडाको दूध र भात खाएको छु । भेडाको ऊनबाट बनेका राडी, पाखी लुकुनी लाएको छु, ओच्छ्याएको र ओढेको पनि छु तर अहिलेका भेडा त यताको भाषा न चाल यी त सातसमुद्र पारिको रङमा रङिएका भेडा पो हुन् कि क्या हो ? लाम्पुछ्रे र लेकाली भेडामात्र हुन्छन् भन्ने सुनेको थिएँ । अहिले नेपालमा यसो हेर्छु सिंदाल बाख्रा, स्थानीय बाख्रा, बाकड बाख्रा, बोएर बाख्राबोका भए जस्तै र लाहुरी भैंसी र चाउरी भैंसी, जर्सीगाई जो बेल्न (राम्न) पनि जान्दैन ।
गौरीगाई, विकासेगाई, वैदिकगाई, नौमुठे गाई गाईका पनि कति भेद कति नि । यिनका भेद भएजस्तै यी भेडाका पनि अनेकौं भेद छन् रे । सुनौला भेडा, एनजिओ भेडा, आइएनजिओका विकासे भेडा, नेप्पोबेबी भेडा । अस्ति यसो असनतिर गएको थिएँ खराने भेडा भनेर सुनाए । भेडा पनि कति कति ? नेपाली जनताले आफ्नो स्याउले गोठ उजारेर यी भेडाका बथान किन ल्याए होला भनेर सोच्न लागेको तीन महिना हुनलाग्यो सिङ न पुच्छर केही फेला पार्न सकेको भए त मर्नु । कतै बुढा गणेशमानले भनेको नै पो ठीक हो कि क्या हो ?
झिकिदे गाँड कि थपिदे गाँड ?
एक जना गीदंगेले पहिले गीत गाएर काठमाडौंका नेपालीलाई मोहनी लाएर सत्ताको सोपान चढेर नगरपिता बन्नुभएछ । तातो रगत पिएपछि बाघ माते झैँ उहाँ पनि मात्नुभएको थियो रे । कहिले सिंहदरबार जलाउँछु भन्ने र कहिले चाहिँ सरसफाइ मन्त्रीका आँगनमा फोहरको डुङ्गुर थुपारिदिन्थे रे । चुनवी भाषणमा पनि रूखमा बाँधेर हुन्छ कि कुटेर हुन्छ बाटो बन्नुपर्छ भन्ने रे । अहिले उहाँ कार्यकारी पदमा पुग्नुभएको छ रे । त्यस पदमा पुगेपछि विकास निर्माणभन्दा डोजर आतंक सिर्जना गर्न लागेको भनेर भन्दारहेछन् । मधेसतिरको कुन ठाउँको सभा हो कुन्नि त्यहाँ ‘अहाँ सब काठमाडु कथिला आयब ? पशुपति दर्शन करला आयब, काज कराबला नेँ’ भनेर कृष्णवसनधारीजी गर्जेको सपना कि बिपना छुट्याउन अहिले सकिएन सुनेको चाहिँ पक्का हो रे ।
यस पृथ्वीमा उहाँभन्दा मर्यादित न कुनै संस्था हुनसक्छ न कुनै व्यक्ति या पदधारी नै । सर्वेसर्वा उहाँ नै हो भने सदनमा पनि विचरा भारतलाई मात्रै दोष किन लाएको ‘मैले प्रधानमन्त्री भएपछि चाल पाएँ हामीले पनि भारतको सिमाना मिचेका रहेछौं’ भनेर जीवनभरिको अनुसन्धानको निष्कर्ष सुनाइदिनुभएछ । हाम्रा नेता कति महान् ? कति उदार ? ढुकुरले बाज भगायो भन्नसक्ने । आजसम्म कसैले नभनेको नगरेको गर्ने र भन्ने पो महान् त भनेर अहिले उहाँका बथानकै साथीसँगाती दिनरात हो हो साँचो हो भनेर दुनियाँलाई चकित पार्न लागेका छन् रे । मानौं भ्याभ्या गरेर हत्तु भएका छन् भन्दारहेछन् । रप्फू गरौं भैंसी पनि छिर्छ । टालौं देश र देशको इतिहासै डुब्ने बोलीका खाडललाई के गरी टाल्ने ?
विचराहरू दुबै हातले आँखा चिम्लेर श्मसान घाटको ध्यानमुद्रामा बसेर हात टेबुलमा बजार्दारहेछन् । हामी के गर्दै छौं भन्ने पनि थाहा छैन समर्थन नगरौं आफ्नै नेता गरौं कहुँतो माँ मर जाये न कहुँतो बापपिल्ला खाए भन्ने उखान सम्झेर बस्न विवश छन् रे । पोखरेल थरका नेप्पोबेबीले देशमा भएका सबै विश्वविद्यालय बन्द गर्नुपर्छ किनभने यति राम्रो अनुसन्धान मन्त्री प्रधानमन्त्री भएपछि स्वतः हुँदारहेछ । ती विश्वविद्यालयमा त्यत्रा प्राध्यापक देशभरिका खैराँते मास्टरलाई किन पाल्नु ? अब राष्ट्रपति प्रधानमन्त्री नै अनुसन्धानका गहकिला विज्ञ भएका देशमा अरू ज्ञान सूचना नवप्रवर्तन गर्ने संस्था विद्वान्मा हुँदै आएको खर्च बँचाएर तिनले खाने गाँसका सिता गनेर भ्याट लाइदिनुपर्छ ।
तिनले बिजुली बालून् कि टुकी त्यसमा पनि भ्याट लाउनैपर्छ भनेर अर्का नेप्पोबेबी अर्थमन्त्रीले उपाय सोचेछन् रे । विकास गर्ने भ्याटले हो, मान्छेले राज्यका नीति, दक्षता र प्राविधिक, आर्थिक सुलभताले होइन भनेर बजेटको व्याख्यमा पनि अड्डी कसेछन् । हामीले बिर्से छौं उहिल्यै लेखनाथले ‘त वर्गका अन्तिम वर्ण खालि, पढी दुईटा बन भाग्यशाली’ भनेका रहेछन् । अहिले बल्ल महाविद्वान् अर्थमन्त्री जसले अमेरिकाको पुस्तकालयमा बसेर घोकेका अक्षर कण्ठ भए पनि अक्षरको अक्षरत्व बुझ्ने अवसर नपाएका हुनाले वर्षामान् जस्ता अर्कै ग्रहबाट आएका भन्ने उनैले ठानिएकाले पनि उनलाई रिट्ठो, साबुन, सेम्पु लाएर मजाले धोइदिएछन् ।
कृष्ण, राम र शिव, विष्णुका पुरुषार्थका कुरा पत्याउन नसक्ने लालबुझक्कड नेपालीले २७ घण्टामा सिंगो देश जलेको देख्दा पनि विश्वास गरेनन् कि ? सकेका भए आलुका रासबाट राम्रा खोजेझैँ आदर्शवान् खोज्थे होलान्, कुमान्छेका ठाउँमा सुमान्छे खोज्थे होलान्, प्रान्त, जातका बदला विचार, दर्शन र कार्यक्रको खोजी गर्थे होलान् ।
जनार्दन शर्मा जस्ता सिसी टिभी फुटेज भक्षक र नवीन विकले लतार्न खोज्दा आधा दर्जनलाई भेरीमा पौडी खेल्न पठाउनले पनि मुख खोल्ने अवसर पाएछन् भनेर भेडीगोठकै केही गोठाला आपसमा खास्खुस् गर्दैथिए रे । गनाएको सिनु बोक्ने सांसदले ‘फायर साइड’ भन्ने लर्डमेकाले पुरोहितले नाम जुराएको श्रव्यदृश्यमा बोल्दैगरेको पनि धेरैले सुनेछन् । साँढभेडो भनेर मानेपछि के गर्ने साँढलाई निर्देश गर्न सभाका मुखले पनि त हिम्मत गरेका छैनन् रे नि । यदाकदा यस्तो उल्टो पर्नसक्छ । वेद र ब्राह्मणले शूद्रलाई उठाएर प्रज्ञावान् ज्ञानवान् बनाउनुपर्छ भनेको थियो । हाम्रा श्रोत्रीय ब्राह्मण आफैं शुद्र बनेका हुनाले शुद्र ब्राह्मणका स्थानमा आएर ब्राह्मण शूद्रका स्थानमा झरेझैँ सभाका मुख दर्शक र श्रोता, अरू वक्ता र कर्ताको तालमेल मिलेको भनेर पनि कुनै जिउँदाले बोलेको सुनियो रे ।
अँ छवटा गैंडा चोरीसिकार खेल्नेका महान्पुत्र अहिले नेपाली इतिहासकै सबैभन्दा अग्लो डाँडाको चिहान खनेर चिहानबाट केही निक्ले यो के हो ? किन यस्तो भयो भनेर निहुँ खोज्ने, केही निक्लेन खतरा देखियो भने त्यो बेलाका गृहमन्त्री र रक्षामन्त्रीतिर बन्दुक सोझ्याउने ताकमा उनी पुराना फायल खोल्न थालेका छन् भनेर पनि जोखाने विश्लेषक थालमा अछेता गन्दैगरेका देखिन थालेका छन् । सत्य, त्रेता, द्वापरदेखि आज कलियुगको प्रथम चरण बित्नलाग्दासम्म नेपाल सधैं तपोभूमिका रूपमा रहे पनि विगत ५० वर्षदेखि यो चोरको स्वर्णभूमि, ठगको सिद्धभूमि, फटाहाको संरक्षकभूमि, घुस्याहाको साधनाभूमि, गफाडीको न्यानो राप तापेर सुत्ने अँगेनाका छेउको मूलओछ्यान बन्दै आएको देखिन्छ ।
र्यापर सातौं आसमानमा पुगेको र साधक रसातल धसिएको दृश्य हेर्न सात समुद्रपारिका महँगो विमान चढेर आउने थलो बनेको छ । छोरी कुटेर बुहारी तर्साउन पल्केकी एउटी नेप्पोचेलीले पुराना राजनीतिक दलले ३५ वर्षदेखि देशलाई चुसेको कुरो गर्दा उनका मुखबाट उछिट्टिएका थुकका छिटाले आफ्नै माइतीका सात पुस्तालाई नुहाइदिइछन् । के गर्ने यस्तो पनि पर्दोरहेछ ‘कुपुत्री जायेत कथमपि कुपिता नभवति’ ।
कृत्रिम बौद्धिकता
कृष्ण, राम र शिव, विष्णुका पुरुषार्थका कुरा पत्याउन नसक्ने लालबुझक्कड नेपालीले २७ घण्टामा सिंगो देश जलेको देख्दा पनि विश्वास गरेनन् कि ? सकेका भए आलुका रासबाट राम्रा खोजेझैँ आदर्शवान् खोज्थे होलान्, कुमान्छेका ठाउँमा सुमान्छे खोज्थे होलान्, प्रान्त, जातका बदला विचार, दर्शन र कार्यक्रको खोजी गर्थे होलान् भएभरका गाउँभरिबाट नपुगे विदेशबाट पनि भेडा ल्याएर धानखेतमा हुल्दैनथे होला । मलाई सम्झना छ त्यस दिन बाले गाउँभरिका गाईभैंसी लगेर हाम्रो तल्लो कित्ता खेतको मान्छे डुब्ने गरी बढेका धानमा चराउनु भएको थियो । आमा र म छक्क परेका थियौं ।
गाईभैंसीले खाएको धान तीनचार दिनमा नै पलाएर ठीक्कको हुँदोरहेछ । पसाएपछि ढल्दो पनि रहेनछ । नेपाली गोठालाले भुस र चामल पीठो र कनिका एकै ठाउँमा राखेर भात पकाएर राडीमा पस्के खालान् कसरी ? भन्ने लागेको होला पुरानो बुद्धि भएका मान्छेलाई । चिन्ता नगर्नुस् यो एआईको जमाना हो । एआईले तपाईंकै मुखमा कोच्याई कोच्याइकन खुवाउनसक्छ । एआईले के गर्न सक्दैन ? हिन्दी सिनेमाका हिरोले हार्छ र ?







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि