काठमाडौं । भारतले नेपाली चियामा अघोषित नाकाबन्दी लगाएको छ । नेपाली चिया भारत निर्यातमा अवरोध भएपछि इलाममा अर्थोडक्स चिया उत्पादन गर्ने ५३ वटा चिया उद्योग असार १ गतेबाट बन्द भएका छन् । चिया निर्यातमा अवरोध भएको भन्दै झापामा रहेका ३६ वटा चिया उद्योग पनि आज (बिहीबार) बाट बन्द गर्ने निर्णय गरेका छन् । भारतको पश्चिम बंगालमा रहेका चिया उत्पादकहरूको दबाबमा भारतीय टी बोर्डले नेपाली चिया निर्यातमा अवरोध खडा गरेको हो । भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि नेपाली चियाको निर्यात डेढ महिनादेखि ठप्प भएको छ ।
भारतले गत वैशाख १८ गतेदेखि लागू हुनेगरी नयाँ ‘स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडर (एसओपी)’ जारी गरेको थियो । यसअघि नेपाली चिया निर्यातका लागि एउटा उद्योगले एकपटक प्रयोगशाला परीक्षण उत्तीर्ण गरेपछि सोही प्रमाणपत्रका आधारमा १५ दिनसम्म १० ट्रक चिया सहजै भारत पठाउनसक्ने व्यवस्था थियो । तर, नयाँ नियमअनुसार काँकडभिट्टा नाकाबाट भारतीय सीमावर्ती पानीट्याङ्की भन्सार प्रवेश गर्नेबित्तिकै प्रत्येक ट्रकको चियाको नमुना अनिवार्य रूपमा भारत सरकारको मान्यता प्राप्त प्रयोगशालामा पठाउनुपर्ने नियम छ । भारतीय प्रयोगशालाले १४ दिनभित्र अनलाइन प्रणालीमा रिपोर्ट प्रविष्ट गर्ने र यदि परीक्षण असफल भएमा उक्त चियालाई भारतीय बजारमा बेच्न वा अन्य देशमा पठाउनसमेत नदिई जफत गरिने कडा प्रावधान राखिएको छ ।
चियाको हरियो पत्ती टिप्ने मुख्य सिजनमा चिया उद्योग बन्द हुँदा करिब ७० हजार मजदुर मारमा परेका छन् । अनिश्चित कालका लागि भन्दै उद्योग बन्द गरिएपछि बोटमै चिया फाँड्नुपर्ने बाध्यता आएको चिया किसानहरूको गुनासो छ । चिया मजदुरको अधिकारको क्षेत्रमा काम गरिरहेका मजदुर नेता दीपक तामाङले चिया उद्योग बन्द हुँदा मजदुर र तिनका आश्रित परिवारको विचल्ली हुने अवस्था आएको गुनासो गर्दै भन्नुभयो, ‘यो सिजनमा मौसमी र नियमित गरेर ७० हजार हाराहारी मजदुर छन् । मुख्य सिजनमै उद्योग बन्द हुँदा मजदुरको विचल्ली हुने अवस्था आएको छ ।’ नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातमा समस्या भएपछि उद्योग बन्द गर्नुको विकल्प नभएको उल्लेख गर्दै भन्नुभयो, ‘हामी उद्योग बन्द गर्ने अवस्थामा पुगेका छौँ । रहर नभएर बाध्यता हो । अहिले हामी यही अवस्थामा उद्योग चलाउन सक्दैनौँ, चाँडोभन्दा चाँडो चिया निर्यातको अवरोध सरकारले हटाउन पहल गरोस् ।’
सिटिसी चिया उद्योग सञ्चालनका लागि न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम २५ करोड रुपैयाँसम्म लगानी भएको छ । सिजनमा चिया निर्यातमा अवरोध हुँदा नेपाली चिया उद्योगहरू धराशायी हुने अवस्थामा पुगेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी कोसी प्रदेशमा चियाको खेती हुन्छ । नेपालमा करिब २८ हजार हेक्टरमा चिया खेती विस्तार भई वार्षिक २७ मिलियन केजी तयारी चिया उत्पादन हुने गरेको छ । करिब १७ हजार साना चिया कृषक १५० ठूला स्तरका कारखाना र त्यत्ति नै संख्यामा साना मझौला चिया प्रशोधन कारखानाहरू सञ्चालनमा रहेका छन् । सिजनको बेला चिया उद्योग नै बन्द हुँदा वार्षिक १३ अर्ब बढीको व्यापार हुने चिया क्षेत्र प्रभावित भएको छ ।
झापाका चिया उद्योग र बगान पनि बन्द
नेपाल चिया उत्पादक संघले आज (बिहीबार) देखि झापाका साना–ठूला गरी ३० वटा चिया उद्योग तथा दर्जनभन्दा बढी चिया बगान बन्द गरेको छ । भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा लगाएको अवरोधको विरोधमा झापाका चिया उद्योग र बगानसमेत बन्द गरेको हो । नेपाल चिया उत्पादक संघले सरकार र भारत दुवैतर्फबाट समस्या समाधानका लागि कुनै ठोस पहल नभएपछि बाध्य भएर उद्योग तथा बगान बन्द गर्ने निर्णय लिनुपरेको जनाएको छ । संघका अध्यक्ष आदित्य पराजुलीले ४५ दिनदेखि सरकारको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्दै भन्नुभयो, ‘प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, कृषि मन्त्रालयलगायत सबै निकायमा ज्ञापनपत्र बुझायौँ । तर, सरकारले गम्भीर चासो देखाएन । हामीले अब हात उठायौँ । नसकेपछि उद्योग र बगान बन्द गर्नुको विकल्प देखेनौँ ।’ विगतमा यस्ता समस्या देखिँदा सरकारको ध्यानाकर्षणपछि समाधान खोजिने गरे पनि अहिले सम्बन्धित निकायसम्म आफ्नो कुरा पुर्याउनसमेत कठिन भएको उल्लेख गर्दै पराजुलीले भन्नुभयो, ‘पहिले सरकारलाई जानकारी गराएपछि समस्या समाधानतर्फ पहल हुन्थ्यो । अहिलेको सरकारलाई त कुरा राख्न त परको कुरा, भेट्नै गाह्रो भयो ।’ झापामा १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । यहाँ २० हजारभन्दा बढी किसान तथा श्रमिक प्रत्यक्ष रूपमा चिया क्षेत्रमा आबद्ध छन् ।
स्वदेशमै प्रयोगशाला सञ्चालन गर्न माग
धनकुटासहित कोशी प्रदेशका पहाडी जिल्लाका अर्थोडक्स चिया उत्पादक कम्पनी तथा व्यवसायीहरूले नेपाली चियाको गुणस्तर परीक्षणका लागि स्वदेशमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अत्याधुनिक प्रयोगशाला स्थापना तथा सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । भारतीय पक्षले हालै लागू गरेको नयाँ गुणस्तर परीक्षण तथा अवशेष (रेजिड्यु) सम्बन्धी मापदण्डका कारण नेपाली अर्थोडक्स चियाको निर्यात प्रभावित हुन थालेपछि व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।
धनकुटा, इलाम, पाँचथर, तेह्रथुम, संखुवासभालगायत पूर्वी पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चिया अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादनका रूपमा परिचित भए पनि नेपालमा विश्वसनीय तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त परीक्षण प्रयोगशालाको अभावले निर्यातमा पटक-पटक समस्या आउने गरेको उत्पादक तथा व्यवसायीहरूको गुनासो छ ।
धनकुटाको हिलेस्थित गुराँसे टी स्टेट प्रालिका प्रबन्धक नवीन कार्कीले दीर्घकालीन समाधानका लागि नेपालमै अत्याधुनिक परीक्षण प्रयोगशाला स्थापना अपरिहार्य रहेको उल्लेख गर्दै भन्नुभयो, ‘अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाबाट प्राप्त प्रतिवेदन अन्तर्राष्ट्रिय बजारमा स्वीकार्य हुने भएकाले नेपाली चियाको विश्वसनीयता र प्रतिस्पर्धात्मक क्षमतासमेत बढ्छ ।’
चिया निर्यातमा देखिएको अवरोध हटाउन पहल भइरहेको छ : मन्त्री चौधरी
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको जानकारी दिनुभएको छ । चिया निर्यातमा देखिएको समस्या हटाउन सरकारले कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिँदै मन्त्री चौधरीले भन्नुभयो, ‘विगतमा जस्तै सहज रूपमा चिया निर्यात सहजीकरण गर्न चिया उद्योगीहरूका समस्या समाधानका लागि मन्त्रालयको गम्भीर भएर पहल भइराखेको छ । यस विषयमा प्राविधिक तथा कूटनीतिक रूपमा आवश्यक पहल गरिएको छ । छलफल सकारात्मक दिशातर्फ गइराखेको छ ।’
वर्तमान सरकारप्रति असन्तुष्ट ?
भारतले विभिन्न विषय अघि सारेर प्रधानमन्त्री बालेन्द्र नेतृत्वको सरकारमाथि दबाब दिने रणनीतिक बनाएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले १८ जेठमा पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन तटबन्धमा काम रोक्न निर्देशन दियो । सुस्तामा एसएसबीले तटबन्ध निर्माण अवरोध गरेको घटना सेलाउन नपाउँदै २९ जेठको बिहान ७ बजे नै एसएसबीको टोली सुस्तामा गस्ती गर्न आएपछि स्थानीयले प्रतिकार गरेका थिए । सुस्तामा भएको घटनाकाबीच जेठ २७ गते भारतीय सेनाको हेलिकोप्टर बिना अनुमति दार्चुला क्षेत्रको नेपाली आकाशमा उडेको छ । १० दिनको बीचमा भएका यी तीन घटनाकै बीचमा चियाकाण्ड आएको छ । पछिल्ला दिनमा देखिएका यी चारवटा घटना बहसमा बाहिर आएका र प्रधानमन्त्री बालेन्द्रलक्षित सन्देशको रूपमा देखिएको विश्लेषण हुन थालेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर