काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक शुक्रबार काठमाडौँमा सुरु हुँदैछ । धुम्बाराहीस्थित सूर्य क्याटरिङमा बिहान ११ः३० बजेदेखि बस्ने भनिएको बैठकअघि नै पार्टीभित्र आन्तरिक विवाद चर्किएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले विधानको भावना विपरीत केन्द्रीय सदस्यबाहेकका व्यक्तिहरूलाई बैठकमा सहभागी गराउन लागेको भन्दै पार्टीको एउटा समूह असन्तुष्ट बनेको हो । असन्तुष्ट नेताहरूले यही विषयलाई लिएर बैठक बहिष्कार गर्ने तयारी गरेका छन् ।
बैठकमा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरू तथा एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका ६५ जनालाई सहभागी गराउने तयारी भएपछि विवाद उत्पन्न भएको हो ।
असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यबाहेक अन्य व्यक्तिलाई सहभागी गराउनु पार्टीको विधि, पद्धति र परम्पराविपरीत हुने दाबी गरेको छ ।
बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, सदस्य अर्जुन राई तथा पूर्व अध्यक्षहरू कमल थापा, डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराउनुभएको थियो। उहाँहरूले केन्द्रीय सदस्यबाहेक अन्यलाई बैठकमा सहभागी नगराउन आग्रह गर्नुभएको थियो ।
केन्द्रीय सदस्य जनकराज पाठकले पनि आफू र विधिको पक्षमा रहेका केही नेताहरू बैठकमा सहभागी नहुने बताउनुभएको छ । उहाँले केन्द्रीय समितिको बैठकमा अनधिकृत व्यक्तिहरूलाई प्रवेश गराउन खोजिएकाले सहभागी हुने अवस्था नरहेको जानकारी दिनुभयो ।
पार्टीभित्रका केही नेताहरूले अध्यक्ष लिङ्देनले बैठकमा उठ्न सक्ने आलोचनाबाट बच्न आफ्ना पक्षका व्यक्ति तथा निर्वाचनमा पराजित उम्मेदवारहरूलाई सहभागी गराउन खोजेको आरोप लगाउनुभएकाे छ ।
गत निर्वाचनमा जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी भए पनि अन्य धेरै क्षेत्रमा राप्रपाका उम्मेदवारहरूले अपेक्षित परिणाम ल्याउन नसकेको भन्दै नेतृत्वमाथि प्रश्न उठ्ने सम्भावना रहेको असन्तुष्ट पक्षको बुझाइ छ।
यसैबीच, बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी महाधिवेशनको कार्यतालिका भने पारित गरेको छ। निर्णयअनुसार राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौँमा आयोजना गरिनेछ । अध्यक्ष लिङ्देनले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली तथा निर्देशिका परिमार्जनसहित पारित गरिएको जानकारी दिनुभएको छ।
महामन्त्री धवलशमशेर राणाले पार्टी छाडेपछि बस्न लागेको यो बैठकलाई राप्रपाको आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण मानिएको छ। तर बैठक सुरु हुनुअघि नै देखिएको विवादले पार्टीभित्रको असन्तुष्टि थप सतहमा आएको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर