नेवाः साहित्यमा श्याम आशाको निरन्तर उपस्थिति
नेवाः साहित्यको बजार र पाठक सीमित भए पनि लेखन र पुस्तक प्रकाशनले निरन्तरता पाइरहेको छ । पुराना तथा नयाँ स्रष्टाहरूले पनि आफ्नो नेवाः मातृभाषामा साहित्य सिर्जना गर्ने अभ्यास र प्रयासलाई निरन्तरता दिइरहेका छन् । यसैमध्येका एक पुराना स्रष्टा हुन् श्याम आशा । भक्तपुरलाई कर्मक्षेत्र बनाएर साहित्य सिर्जनामा क्रियाशील आशा विशेष गरी लघुकथा लेखनमा सक्रिय छन् । आशाका नेवाः र नेपाली दुवै भाषामा गरी एक दर्जन कृति प्रकाशति छन् ।
आशाको पहिलो कृति ‘ल्ह्वंगु ल्हाः’ (उठेको हात) लघुकथा सङ्ग्रह नेपाल सम्बत् ११०१ अर्थात् २०३७ सालमा प्रकाशित भएको थियो । त्यसपछि केही वर्षको अन्तरालमा ‘पँजलँदुने पँजलँपिने’ (पिँजडाभित्र पिँजडाबाहिर), ‘बाःवःगु ख्वबि’ (बगेको आँसु), लगायतका आठवटा नेवाःभाषाका कथा-लघुकथा सङ्ग्रह प्रकाशित भएका छन् । यसैगरी नेपाली भाषामा ‘आशाका टुक्राहरू’, ‘लघु’, ‘श्याम आशाका लघुकथा’ र ‘अघोषित आवाज’ लघुकथा सङ्ग्रह प्रकाशित छन् ।
अघोषित आवाजका अधिकांश लघुकथाहरूले सामाजिक र राजनीतिक विकृति-विसङ्गतिहरूलाई उजागर गरेको पाइन्छ । धर्म, न्याय, कानुन, मानवीय प्रवृत्ति, नेताका आचरण आदि सामाजिक तथा राजनीतिक विकृति-विसङ्गतिहरूलाई केन्द्रबिन्दुमा राखेर लेखिएका लघुकथाहरूमा भरपुर असन्तुष्टि, आक्रोश, विरोध र विद्रोहचेत छन् । अनि यथास्थितिमा सुधार र परिवर्तनको आग्रह पनि छन् ।
अनुवादको सन्दर्भ
‘अघोषित आवाज’ नेवाः भाषाबाट नेपाली भाषामा अनुवाद गरिएको लघुकथा सङ्ग्रह हो । यसलाई नेपाली र नेवाः दुवै भाषामा लेख्दैआएका चर्चित साहित्यकार रासाले अनुवाद गरेका छन् । नेवाः भाषामा लेखिएको साहित्य नेवाःभाषी पाठकमा मात्रै सीमित हुँदै आएको छ । नेवाः साहित्यलाई बृहत् संख्यामा रहेका नेपाली भाषी पाठकका माझ पुर्याउन अनुवादको खाँचो छ । यही खाँचोलाई महसुस गर्दै नेवाःभाषामा लेखिएको साहित्यलाई नेपाली भाषामा अनुवाद गर्ने परम्परा विगतदेखि नै चल्दै आएको छ । पछिल्लो पटक रासाले त्यस परम्परालाई पछ्याउने क्रममा नेवाःभाषाका चर्चित लघुकथाकार श्याम आशाका यसअघि नेवाःभाषामा प्रकाशित लघुकथाहरू छनोट गरेर नेपाली भाषामा अनुवाद गरेका ५१ वटा लघुकथा समेटेर ‘अघोषित आवाज’ नामक लघुकथा सङ्ग्रह प्रकाशित गरिएको छ ।
जनपक्षीय चेत र गरिब पात्रहरूको संसार
पहिचानवादी सोच भएका र आफ्नो लेखनलाई जनपक्षीय ठान्ने लघुकथाकार श्याम आशाका लघुकथाहरूमा गरिब पात्रहरूको बाहुल्य छ र तिनका दुःख, पीडा र व्यथाका कथा छन् । ती गरिब पात्रले भोग्दै आएका गरिबी, अभाव, विभेद, उत्पीडनका कथा छन् । गरिबी, अभाव, विभेद र उत्पीडनको पीडा भोगिरेहका गरिब पात्रका पीडाका आवाजमा विरोध र विद्रोहका ज्वाला पनि छन् । आशाका लघुकथाहरूमा समयर समाजको आवाज गुञ्जिएको पाइन्छ ।
आशाका लघुकथाहरू पठन गर्दैगर्दा मानवीय संवेदना जागृत भएर आउँछ । शोषण, अन्याय र अत्याचारप्रति विद्रोह जागेर आउँछ । अनि जो गरिबी र अभावले पिल्सिएर दयनीय जीवन बाँचेका छन्, उत्पीडनमा परेका छन् र जो दलनमा परेका छन्, तीप्रति सहानुभूति जागेर आउँछ । पाठकको हृदयमा मानवीय संवेदना र विद्रोह जगाउन सक्नु श्याम आशाका लघुकथाकारिताको प्रमुख विशेषता हो । उनका तीव्र गति, साङ्केतिकता, व्यङ्ग्य र समयचेतयुक्त लघुकथाहरू अत्यन्तै प्रभावशाली छन् ।
सामाजिक यथार्थ, प्रतीक र अर्थालङ्कार
सङ्ग्रहका प्रायः सबै लघुकथा सामाजिक यथार्थवादी धरातलमा लेखिएका छन् । यद्यपि सामाजिक यथार्थवादी धरातलमा लेखिएका लघुकथाहरूमा राजनीति र प्रगतिवादी चेत पनि पर्याप्त छन् । जीवनका बिब्ल्याँटाहरू पनि छन् । लघुकथामा साङ्केतिकता र व्यङ्ग्यात्मकता प्रबल छ । विद्रोहका भावलाई बिम्ब र प्रतीकको माध्यमबाट व्यक्त गरिएका छन् । लघुकथाहरूमा कथाकारको बौद्धिकता, राजनीतिक विचार, चिन्तन र दर्शन पनि छिटपुट रूपमा प्रतिबिम्बित भएको पाइन्छ ।
विपर्यास अर्थमा पनि लघुकथाको भावलाई अर्थ्याउन खोजिएको पाइन्छ । अर्थालङ्कारले लघुकथालाई निकै दमदार र प्रभावशाली बनाएको छ । ‘स्वीकृत’ एउटा यस्तै लघुकथा हो, जसमा मौन स्वीकृतिलाई मौन विद्रोहको रूपमा अर्थ्याउन खोजेको देखिन्छ । ‘नबुझेको कुरो’ पनि यस्तै अर्थालङ्कारयुक्त लघुकथा हो, जसमा व्यवस्थालाई चश्माको रूपमा अर्थ्याउन खोजिएको छ र न्याय मात्र देख्ने सकारात्मक चाहना व्यक्त भएको छ ।
सत्ता, समाज र विद्रोहका कथानक
जुत्तालाई सत्ताको बिम्ब बनाएर लेखिएको ‘नयाँ जुत्ता’ शीर्षकको लघुकथामा जुत्ता लगाउन नजान्दा दुखाउँछ भन्ने भावार्थमा सत्ता ठीक ढङ्गले चलाउन नजान्दा नागरिकले दुःख पाउँछन् भन्ने अर्थ लुकेको छ । यसैगरी ‘हराएको म’, ‘धन्यवाद’, ‘कालो कोट’, ‘दाग’, ‘नयाँ जिएम’ आदि लघुकथाहरूमा विद्रोही पात्रको परिचय, चरम गरिबी र अभावले सिर्जना गरेको गलत मार्ग अवलम्बनको प्रवृत्ति र यसको प्रतिफल, सत्ताधारीहरूको स्वेच्छाचारिताप्रतिको विरोध र विद्रोह, पदीय मर्यादा अथवा पेशागत अहम् र स्वार्थले सम्बन्धलाई उपेक्षा गरेकोप्रति कटाक्ष र चाकडी प्रथाप्रति उसैगरी कटाक्ष गरेको पाइन्छ । कुनै–कुनै प्रश्न उत्तरविहीन हुन्छन् र त्यही उत्तरविहीनताभित्रै अनेक उत्तर हुन्छन् र अनेक प्रश्न पनि हुन्छन् । यस्तै उत्तरविहीन अवस्थामा अनेक प्रश्न बोकेका लघुकथा हुन् ‘?’, ‘शहीदढोका’ र ‘शहीद’ ।
संवेदना, मनोविज्ञानर व्यङ्ग्य
‘बलात्कार’ लघुकथामा न्यायको उपहास गर्दा अन्याय हाँसेजस्तो लाग्ने भावनात्मक सङ्केत र सन्देश छ भने ‘दया’ शीर्षकको लघुकथामा मानवीय चरित्रको चित्रण गरिएको छ । यौनको तरङ्ग उत्पन्न गराउने प्रतीकात्मक सशक्त लघुकथा हो ‘स्वाद’ । यसैगरी ‘हलेदो’ शीषर्ककको लघुकथामा पनि यौनप्रतिको आशक्ति झल्किएको छ । वैदेशिक रोजगारीको सामाजिक असरलाई यस लघुकथाले सङ्केत गरेको छ । ‘भेडाको बथान’ शीर्षकको लघुकथाले मान्छेको भेडाप्रवृत्तिको चित्रण गरेको छ भने ‘कर’ शीर्षकको लघुकथामा करको नाउँमा राज्यले जनतालाई दिइरहेको कहरप्रति कटाक्ष गरिएको छ ।
सङ्ग्रहका अधिकांश लघुकथाहरूले सामाजिक र राजनीतिक विकृति-विसङ्गतिहरूलाई उजागर गरेको पाइन्छ । धर्म, न्याय, कानुन, मानवीय प्रवृत्ति, नेताका आचरण आदि सामाजिक तथा राजनीतिक विकृति-विसङ्गतिहरूलाई केन्द्रबिन्दुमा राखेर लेखिएका लघुकथाहरूमा भरपुर असन्तुष्टि, आक्रोश, विरोध र विद्रोहचेत छन् । अनि यथास्थितिमा सुधार र परिवर्तनको आग्रह पनि छन् ।
सारसंक्षेप
लघुकथामा हुने व्यङ्ग्यात्मकताले लघुकथालाई थप चोटिलो र प्रभावशाली बनाउँछ । त्यसैले धेरै लघुकथाकारले लघुकथामा त्यो व्यङ्ग्यात्मकताको प्रयोग गर्ने प्रयत्न गरेका हुन्छन् । त्यस्तो व्यङ्ग्यले सामाजिक बेथितिमाथि प्रहार गर्ने हुँदा त्यस्तो बेथिति सुधारमा मद्धत पुगेको पाइन्छ । लघुकथाकार श्याम आशाले पनि यस मान्यतालाई नछोडी लघुकथा लेखेका छन् ।
श्याम आशाका लघुकथाहरूको प्रबल पक्ष भनेको राजनीतिकर सामाजिक व्यङ्ग्यचेत नै हो । विसङ्गत समाज र विकृत राजनीतिप्रति प्रहार गरिएको व्यङ्ग्यले समाजलाई प्रकम्पित तुल्याएको, सुधारका लागि सोच्न र केही गर्न प्रेरित गरेको महसुस हुन्छ । स्वार्थमा जेलिएको राजनीति र राजनीतिक प्रपञ्च, यौनप्रतिको आकर्षण, गरिबीको असह्य पीडा, धार्मिक र सामाजिक विश्वास र अन्धविश्वास, सामाजिक कर्तब्य र दायित्व, सामाजिक आडम्बर, मान्छेका स्वार्थी प्रवृत्ति, श्रमको शोषण, हराउँदै गएको मानवीय संवेदना, राजनीतिमा देखिएको विश्वासको सङ्कट, मान्छेमा बढ्दै गएको द्रव्यमोह, स्वतन्त्रता र समानता, जीवन दुरुह बन्दैगएको र भविष्य अनिश्चित बन्दैगएको समयचेत आदि विषय र सन्दर्भ अधिकांश लघुकथाका कथानक बनेर आएका छन् । मान्छेलाई चस्काउने र झस्काउने अनि सोच्न बाध्य पार्ने विषयवस्तु बोकेका लघुकथाहरूमा समाज परिवर्तनको अपेक्षा छ ।
श्याम आशाका सामाजिक र राजनीतिक व्यङ्ग्यचेतका दृष्टिकोणले निकै तिक्खर लघुकथाहरूले पाठकको मनमा च्वास्स पार्ने वा मस्तिष्कमा झट्का हान्ने सामर्थ्य राख्दछन् । यद्यपि कठोर राजनीतिक व्यङ्ग्य प्रहार गर्ने भइकन लेखनशैली उग्र र अराजक नभई सभ्य र शालीन छ । समाजमा विद्यमान सामाजिक र राजनीतिक बेथितिप्रतिको असन्तुष्टि, आक्रोश र विद्रोहलाई बिम्ब, प्रतीक र उपमाको सहायताले निकै शान्त, सौम्य र सभ्य ढङ्गले सुन्दर शब्दचित्रमा प्रस्तुत गरिएका छन् ।
‘अघोषित आवाज’भित्र समय र समाजको आवाज छ । त्यस आवाजमा विद्रोह छ र विद्रोहको हुंकार छ । समाज परिवर्तनका लागि गरिएको यो विद्रोहको हुंकारभित्र गरिबी, अभाव र अन्यायमा परेर बाँचेका दुःखी र पीडितहरूको आवाज छ । यो समुच्च आवाजले परिवर्तनको चाहनालाई प्रतिध्वनित गरेको छ ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन