शंकराचार्य परम्परा अर्थात् अद्वैत गुरु परम्परा, अद्वैत वेदान्तअन्तर्गत गुरु-शिष्य परम्पराको एक पवित्र एवं ऐतिहासिक क्रम हो । गुरु-शिष्य परम्परामा आधारित यस्तो ज्ञान एक अटुट शृंखलामा जीवित रहेको हुन्छ । जस्तो वेद श्रुतिमा आधारित ज्ञानको शृंखला हो । वेद सुरुमा लिखित रूपमा थिएन पछि मात्र लिखित रूपमा पुस्तकाकारको रूपमा आएको हो । शंकराचार्य परम्परामा वेदको अध्ययन, वेदको चर्चा र वेदको व्याख्या नै हो, जो ईश्वरीय स्रोतको रूपमा आज पर्यन्त निरन्तर चलिआएको छ । शंकराचार्य परम्परालाई ईश्वरीय र मानव गरी दुई प्रमुख एवं आवश्यक चरणको रूपमा लिन सकिन्छ । पहिलो, ईश्वरीय एवं वैदिक स्रोत अर्थात् देवता र ऋषि परम्परा हो ।
यो परम्पराको सुरुवात स्वयं भगवान सदाशिव अर्थात् नारायणले गर्नु भएको भन्ने मान्यता रहेको छ । त्यसपछि ब्रह्मा, वशिष्ठ, शक्ति, पराशर, वेद व्यास र त्यसपछि शुकदेव मुनिले यो ज्ञानलाई बाढ्ने कार्य गर्नु भएको भनेर विश्वास गरिन्छ । यो परम्परामा एकले अर्कोलाई श्रुतिको रूपमा ज्ञान बाढ्ने अर्थात् ज्ञानको विस्तार गरिन्छ । दोस्रो, मानव परम्परा अर्थात् गुरु-शिष्य क्रम हो । यो ऐतिहासिक रूपमा यो परम्पराको शृंखला महान् दार्शनिक गौडापादाचार्यले आरम्भ गर्नुभएको हो । त्यसपछि शिष्य गोविन्द भगवत्पाद हुनुहुन्थ्यो । उहाँका प्रमुख शिष्य जगद्गुरु आदि शंकराचार्य बन्नु भयो । आदि शंकराचार्यले यो ज्ञानलाई अघि बढाउन चार प्रमुख शिष्यलाई उत्तराधिकारी घोषणा गरी स्थापित गराउनुभयो । उहाँहरू सुरेश्वराचार्य, पद्मपादाचार्य, हस्तमलकाचार्य र त्रोटकाचार्य हुनुहुन्छ ।
जगद्गुरु शंकराचार्यबाट काठमाडौंमा भगवान् श्रीपशुपतिनाथको दर्शनसहित बत्तीसपुतलीस्थित राममन्दिरमा भगवान् श्रीरामको दर्शन, पूजन कार्यक्रम भयो । उहाँले काठमाडौंको बूढानीलकण्ठस्थित भगवान् श्रीनारायणको दर्शन, नारायणहिटीस्थित चतुर्ब्युह नारायणको दर्शन, वसन्तपुर क्षेत्रको अवलोकनसहित कालभैरवको दर्शन भ्रमण, पाटनस्थित भगवान् श्रीकृष्ण मन्दिरको दर्शन भ्रमण, पाटनस्थित छ्याबहाल मठको दर्शन गर्नुभयो ।
आदि शंकराचार्यले सनातन धर्मको प्रचारप्रसार गरी ज्ञानको संरक्षणका लागि भारतको चार दिशामा चार मुख्य पीठहरूको स्थापना गर्नुभयो । यी प्रत्येक पीठमठको प्रमुखको पदलाई शंकराचार्यको उपाधिले जानिन्छ । यी चार प्रमुख पीठ बद्रीनाथ, उत्तराखण्ड-उत्तरको ज्योतिष्मठ, पुरी ओडिशा- पूर्वको गोवर्धन मठ, द्वारका गुजरात-पश्चिमको शारदा पीठ-द्वारका मठ र शृंगेरी कर्नाटक-दक्षिणको शृंगेरी शारदापीठ । यस परम्पराको मूल उद्देश्य नै अद्वैत वेदान्त हो, जसको मूलमन्त्र सत्य केवल एकमात्र छ, जो ब्रह्म अर्थात् परब्रह्म हो । यही शिक्षाको प्रचार प्रसार गर्नु शंकराचार्य परम्परा हो । यो पवित्र परम्पराको महिमा/गाथालाई उजागर गर्ने एउटा प्रसिद्ध श्लोक पनि छ : ‘सदाशिव समारम्भां शंकराचार्य मध्यमाम् । अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम् ।।’ यसको अर्थ-भगवान सदाशिवबाट सुरु भएर आदि शंकराचार्यको माध्यमबाट वर्तमान आचार्य अर्थात् शंकराचार्यसम्म कायम राख्नेवाला यो गुरु परम्परालाई म नमन गर्छु ।)
कर्नाटकको श्रृंगेरी शारदा पीठः
आठौं शताब्दीका ऐतिहासिक अभिलेखहरूले हिन्दु परम्परामा बौद्धले कुनै पनि त्यस्तो व्यापक आक्रमण गरेको भन्ने अभिलेख पाइँदैन तर अहिले यसको उल्टो भइरहेको थियो, आक्रामक दार्शनिक बहस र प्रतिस्पर्धात्मक ढंगको क्षेत्रीय हिन्दु आन्दोलनबाट गम्भीर अपमानको सामना गर्दै भारतमा बौद्ध धर्म निरन्तर पतनको अवस्थामा थियो । आठौं शताब्दीको आधारभूत सन्दर्भमा निम्न विषय बुझ्न जरुरी छ । आदि शंकर र दार्शनिक बहसहरूः आठौं शताब्दीलाई सनातन हिन्दु दार्शनिक आदि शंकरको युग भनेर बुझिन्छ, जसले वेदान्त परम्परालाई पुनर्जीवित गरे । भौतिक आक्रमण प्रयोग गर्नुको सट्टा, उहाँले हिन्दु परम्परामा बौद्ध विद्वानहरूसँग बौद्धिक बहसको सुरुवात गर्नु भएको थियो, जसले बौद्ध विद्वानको सिद्धान्तमा दार्शनिक विरोधाभास उजागर गरिदियो ।
आदि शंकराचार्य पहिलेका पुराना बौद्ध विचारकका केही शब्दावली र विधि सापटी लिएर आफ्ना गैरद्वैतवादी (अद्वैत) शिक्षामा पस्कनु हुन्थ्यो, प्रचार गर्नुहुन्थ्यो । यसकारण उहाँका रूढिवादी हिन्दु आलोचकहरूले सक्रिय रूपमा उहाँलाई एक गुप्त-बौद्ध अर्थात् ‘क्रिप्टो-बौद्ध’ भएको भनेर आरोप लगाउने गर्थे । मध्ययुगीन हेजियोग्राफी, जस्तो १४औं शताब्दीका शंकर विजय ग्रन्थमा उल्लेखित शब्दअनुसार एक हिन्दु राजा, सुधनवनले विद्वानहरूको उक्साहटमा बौद्धहरूलाई सताएको दावी गर्छन् । यो पछि किंवदन्तीको रूपमा विकसित भएर गएको पाइन्छ । यद्यपि, आधुनिक इतिहासकारहरूले यसलाई धेरै हदसम्म शाब्दिक ऐतिहासिक हिंसाको सट्टा बौद्धिक विजयको अतिरंजित विवरणको रूपमा हेर्छन् ।
भारतमा बौद्ध धर्मको पतन हिन्दु धर्ममाथि ‘बौद्धहरूको आक्रमण’का कारणले भएको नभइ बौद्ध दर्शनलाई हिन्दु धर्ममा अवशोषित गर्ने र शाही संरक्षण परिवर्तन गर्नुका कारण भएको थियो । पछि १२औं शताब्दीको विनाशकारी इस्लामिक आक्रमण जसले असुरक्षित बौद्ध भिक्षु विश्वविद्यालयलाई ध्वस्त पारेको थियो । यसका कारण वास्तवमा बौद्ध धर्मको पतन भएको थियो । आदि शंकराचार्यलाई एकातिर बौद्धको आक्रमणबाट सनातन हिन्दु धर्मलाई बचाउनुपर्ने थियो । अर्कोतिर आफ्नै हिन्दु पुरातन रुढीवादीहरूको कटु आलोचनाबाट बचाउनुपर्ने अवस्था थियो । यसबीचमा शंकराचार्यले बडो बुद्धिमतापूर्ण ढंगले बौद्धिष्ट दर्शनका राम्रा पक्षको वकालत गर्दै सनातन हिन्दु परम्परालाई पुनर्जागरणको अभियान चलाएर देशविदेशको यात्रा गर्दै सनातन हिन्दु धर्मको रक्षा गर्नु भएको थियो ।
ईस्वीको आठौं शताब्दीमा आदि शंकराचार्यले सानै उमेरमा केरलाको कालाडीबाट प्रारम्भ गर्नु भएको धार्मिक पुनर्जागरणको त्यो यात्रा भारतका विभिन्न शहर हुँदै नेपालसम्म आइपुगेको थियो । त्यसै समयताका आदि शंकराचार्यले पशुपति मन्दिरमा दक्षिण भारतबाट पुजारी राख्ने परम्पराको थालनी गरेको भन्नेछ । आदि शंकराचार्य एक दिन शृंगेरी क्षेत्रमा घुम्दै जाने क्रममा टुंगा नदी नजिकैको एक ठाउँमा भ्यागुतालाई सर्पले घामको धुपबाट बचाउन आफ्नो फणा फिजाएर सुरक्षा दिएको देखेर अचम्म पर्नुभयो । यो वास्तवमा सम्भव नै नहुने कुरा थियो । त्यसैले यसलाई उहाँले कुनै सामान्य विषय नभएर यो विशेष आध्यामिक ठाउँ हो भन्ने बुझेर ज्ञानकी देवी सरस्वतीको मूर्ति स्थापित गरी मन्दिर निर्माण गराउनुभयो र पछि ज्ञानकी देवी सरस्वतीको बाहन हाँसको प्रतीकलाई नै मठको प्रतीक राखी गेरी मठको समेत स्थापना गर्नुभयो ।
शंकराचार्य श्री श्री बिधुशेखर भारती
श्री श्री विधुशेखर भारती महास्वामीज्यूको जन्म नागपञ्चमीका दिन अर्थात् २४ जुलाई १९९३ मा आन्ध्र प्रदेशको तिरुपतिमा वैदिक विद्वानहरूको परिवारमा भएको थियो । उहाँको उमेर हाल ३३ वर्षमात्र पुग्दै छ । उहाँको बाल्यकालको अर्थात् सन्यासपूर्वको नाम श्री कुप्पा वेंकटेश्वरप्रसाद शर्मा थियो । उहाँ केवल पाँच वर्षको हुँदा उपनयन संस्कार सम्पन्न भएको थियो । भगवानप्रतिको भक्ति र वैदिक जीवनशैलीले भरिएको पारिवारिक वातावरणमा हुर्किनुभएका उहाँले आफ्ना पिता तथा हजुरबुवाबाट कृष्ण यजुर्वेदको प्रारम्भिक शिक्षा प्राप्त गर्नुभयो । अध्ययनका क्रममा उहाँले असाधारण प्रतिभा, तीव्र स्मरणशक्ति र गहिरो अभ्यासद्वारा वेदमा शीघ्र प्रवीणता हासिल गर्नुभयो । किशोर अवस्थामै सन् २००६ मा उहाँले पहिलोपटक जगद्गुरु श्री भारतीतीर्थ महास्वामीजीको दर्शन गर्नुभएको थियो जसले उहाँको जीवनमा गहिरो आध्यात्मिक प्रभाव पारेको थियो ।
सन् २००९ को प्रारम्भमा शृंगेरी भ्रमणका क्रममा श्री वेंकटेश्वरप्रसाद शर्माले जगद्गुरु श्री भारतीतीर्थ महास्वामीजीको शरण ग्रहण गर्दै उहाँकै सान्निध्यमा शास्त्र अध्ययन गर्ने इच्छा व्यक्त गर्नुभयो । युवा ब्रह्मचारीको निष्ठा, विनम्रता र तीक्ष्ण बुद्धिबाट प्रभावित भई जगद्गुरुले उहाँलाई आशीर्वाद दिँदै व्यक्तिगत रूपमा शास्त्रको शिक्षा दिन थाल्नुभयो । उहाँले ती शिक्षा अत्यन्त छिटो आत्मसात् गर्दै गहिरो अध्ययनमा प्रवीणता प्राप्त गर्नुभयो । साथै उहाँले तर्कशास्त्र र वेदान्त शास्त्रको समेत गहन अध्ययन गर्नुभयो । २३ जनवरी २०१५ मा, आदि गुरु शंकराचार्यसम्म अविच्छिन्न रूपमा जोडिएको गुरु–शिष्य परम्परालाई निरन्तरता दिँदै जगद्गुरु श्री भारतीतीर्थ महासन्निधानमले उहाँलाई संन्यास दीक्षा प्रदान गर्नुभयो । उहाँलाई आफ्नो उत्तराधिकारीका रूपमा अभिषिक्त गर्दै श्री विधुशेखर भारती नाम प्रदान गर्नुभयो ।
आफ्ना पूज्य गुरु श्री महासन्निधानमकै प्रत्यक्ष मार्गदर्शनमा शास्त्रहरूको गहन अध्ययन तथा सिद्धि प्राप्त गरेका जगद्गुरु श्री विधुशेखर भारती सन्निधानम् आज अद्वितीय विद्वानका रूपमा परिचित हुनुहुन्छ । गुरुको निर्देशनमा उहाँले शृंगेरी मठका विविध कार्यहरूको सञ्चालन, स्वतन्त्र धार्मिक भ्रमण, भक्तजनलाई आशीर्वाद तथा सनातन धर्मका सिद्धान्तहरूको प्रचार-प्रसार गर्दै आउनुभएको छ । संस्कृत, कन्नड, तेलुगु, तमिल तथा हिन्दी भाषामा उहाँको वाक्पटुता सार्वजनिक प्रवचनहरूमा स्पष्ट देखिन्छ । आफ्नो स्नेह, करुणा, कृपा र गहन ज्ञानद्वारा उहाँले भक्तजनलाई धर्ममार्गतर्फ प्रेरित गर्दै आध्यात्मिक जीवनको मार्गदर्शन प्रदान गरिरहनुभएको छ । छोटो समयमै उहाँले आफ्नो सरल, सौम्य र करुणामय व्यक्तित्वका कारण असंख्य भक्तजनको श्रद्धा र प्रेम प्राप्त गर्न सफल हुनुभएको छ ।
शंकराचार्य श्री श्री बिधुशेखर भारतीको नेपाल यात्रा
यसै सन्दर्भमा दक्षिणाम्नाय श्री शृंगेरी शारदा पीठका परम पूज्य जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीज्यू २०८३ जेठ ८ गते पहिलोपटक नेपाल आउनुभयो । उहाँले जेठ ८ गतेदेखि १५ गतेसम्म नेपालका विभिन्न मन्दिरको भ्रमण गर्नुभयो । उहाँ काठमाडौंमा रहँदा भगवान् श्रीपशुपतिनाथको परिसरमा रहेको शंकराचार्य मठमा विराजमान हुनुभयो । जगद्गुरु शंकराचार्यबाट काठमाडौंमा भगवान् श्रीपशुपतिनाथको दर्शनसहित बत्तीसपुतलीस्थित राममन्दिरमा भगवान् श्रीरामको दर्शन, पूजन कार्यक्रम भयो । उहाँले काठमाडौंको बूढानीलकण्ठस्थित भगवान् श्रीनारायणको दर्शन, नारायणहिटीस्थित चतुर्ब्युह नारायणको दर्शन, वसन्तपुर क्षेत्रको अवलोकनसहित कालभैरवको दर्शन भ्रमण, पाटनस्थित भगवान् श्रीकृष्ण मन्दिरको दर्शन भ्रमण, पाटनस्थित छ्याबहाल मठको दर्शन गर्नुभयो ।
काठमाडौंबाहिर देवघाटस्थित कालिगण्डकी र त्रिशूलीको संगममा स्नानसहित देवघाटमा रहेका गुफाको दर्शन, विभिन्न मठमन्दिरहरूको दर्शनसहित त्यहाँ रहेका विभिन्न मठका सन्त, महन्त, मठाधीश, पीठाधीश, प्राचार्य, विद्वानहरू र संस्कृतका छात्रहरूसँग वेदवेदांग चर्चासहितको वाक्यर्थसभाको आयोजना गरियो । जगद्गुरु शंकराचार्यबाट पोखराको विन्धवासिनी भगवतीको दर्शन, गुप्तेश्वर गुफामा रहेको गुप्तेश्वर महादेवको दर्शनका साथै कागबेनी स्नानसहित मुक्तिनाथको दर्शन गर्नुभयो । करिब ६० वर्षपछि दक्षिणाम्नाय पीठबाट नेपालमा हुन लागेको यस भ्रमणलाई श्रद्धालु भक्तजनले मात्र होइन सम्पूर्ण सनातनी हिन्दु र आमनेपालीले गौरवको रूपमा लिएका छन् ।
जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारतीजी सन्निधानम शृंगेरी पीठाधीश्वर जगद्गुरु शंकराचार्य श्री श्री भारतीतीर्थ महासन्निधानमका प्रिय शिष्य हुनुहुन्छ । उहाँ शृंगेरी शारदा पीठका ३६औं शंकराचार्य हुनुहन्छ । उहाँ दक्षिण भारतको कर्नाटक राज्यको श्रृंगेरीस्थित आदि शंकराचार्यद्वारा स्थापित चारवटा मुख्य पीठमध्ये एक पीठका पीठाधीश्वर हुनुहुन्छ । दशिणाम्नाय श्री शारदापीठम् वैदिक सनातन धर्मको सबैभन्दा उच्च एवं पवित्र र महत्त्वपूर्ण पीठ मानिन्छ ।







विवाहित महिलातर्फ युवा किन आकर्षित
भीमदत्तमा सिँढीबाट लडेर युवकको मृत्यु
देशका विभिन्न स्थानमा सडक अवरुद्ध,
यस्तो छ आजका लागि कृषि
भैँसेपाटीका मन्त्री आवास असोजभित्रै तयार
राष्ट्रिय उद्योग पुनर्जीवनको दाबी गर्दै