काठमाडौं । नेपाल फ्रेट फरवार्डरस एसोसिएसनले नेपालको प्रमुख निर्यातजन्य वस्तुका रूपमा रहेको चिया निर्यातमा पछिल्लो समय उत्पन्न भएको जटिल अवस्था तथा भारतीय बजारमा देखिएको प्रक्रियागत अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालबाट भारततर्फ निर्यात गरिएका तयारी चिया भारतीय पक्षबाट प्रयोगशाला परीक्षण तथा विभिन्न प्राविधिक प्रक्रियाका नाममा लामो समयसम्म गोदाममा रोकिँदा नेपाली चिया उद्योगको उत्पादन, बिक्री वितरण र निर्यात शृंखला नै प्रभावित भएको छ । विशेषगरी नेपालको पूर्वी क्षेत्रमा रहेका चिया उद्योग बन्द हुन थालेका तथा सयौं चिया बगान प्रभावित भएका छन् । नेपालभर करिब एक सय २० वटा चिया उद्योग, हजारौं किसान तथा करिब ५० देखि ६० हजार श्रमिकको रोजगारीसँग प्रत्यक्ष सम्बन्ध रहेको चिया क्षेत्रको गतिविधि ठप्प हुनु भनेको नेपालको निर्यात व्यापार, विदेशी मुद्रा आर्जन तथा समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नु रहेको एसोसिएसनको भनाइ छ ।
नेपालको कुल चिया निर्यातको ठूलो हिस्सा भारतीय बजारमा निर्भर रहेको अवस्थामा भारतीय बजारमा सिर्जना भएको उक्त अवरोधले चिया उद्योगी तथा निर्यातकर्ताहरूमात्र होइन समग्र नेपाली अर्थतन्त्रमा समेत प्रतिकूल असर पुर्याएको एसोसिएसनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
एसोसिएसनले नेपालको निर्यात प्रवर्द्धन तथा व्यापार सहजीकरणमा चिया क्षेत्रले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल सरकारसमक्ष यस विषयलाई उच्च प्राथमिकतामा राखी तत्काल कूटनीतिक पहल गर्नुका साथै भारतीय सम्बन्धित निकायहरूसँग उच्चस्तरीय संवाद गरी नेपाली चिया निर्यातमा देखिएको प्रक्रियागत तथा प्राविधिक अवरोध यथाशीघ्र हटाई व्यापार सहज, सरल र निर्वाध बनाउन आवश्यक पहल गर्न आग्रह गरेको छ । एसोसिएसन नेपालको निर्यात व्यापार तथा आपूर्ति शृंखलाको सुदृढीकरणका लागि सदैव प्रतिबद्ध रहेको जनाउँदै जटिल परिस्थितिमा चिया उद्योग, निर्यातकर्ता तथा सम्पूर्ण सरोकारवालासँग ऐक्यबद्धता जनाएको छ ।
चिया निर्यात अवरोध हटाउन पहल भइरहेको दाबी
नेपाली चिया भारत निर्यातमा देखिएका विद्यमान अवरोध र जटिलता समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले परराष्ट्रमन्त्री शिशिर खनाललाई भेट गरी कूटनीतिक माध्यमबाट समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वमा परराष्ट्र मन्त्रालय पुगेको महासंघको टोलीले भारतीय चिया बोर्डको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योगले भोग्नुपरेको समस्याबारे ध्यानाकर्षण गराएको हो ।
महासंघका अनुसार सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको र उक्त विषयमा भारतीय पक्षसँग कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘नेपाली चिया निर्यातमा देखिएका समस्या समाधानका लागि हामीले भारतीय अधिकारीहरूसँग कुराकानी अगाडि बढाइसकेका छौँ । समस्याको व्यावहारिक निकास निकाल्न कूटनीतिक तहबाट ठोस पहल भइरहेको छ । भारतीय पक्षबाट प्राप्त जानकारीअनुसार यसको छिट्टै समाधान निस्किनेछ ।’ मन्त्री खनालले चियालगायत अन्य वस्तुको निर्यातमा समेत आउने समस्याको दीर्घकालीन समाधानका लागि समेत भारतीय पक्षसँग कुरा भइरहेको जानकारी दिनुभयो । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने चिया क्षेत्र संकटमा पर्दा समग्र अर्थतन्त्र र लाखौँको जीविकोपार्जनमा असर पर्ने भन्दै जतिसक्दो छिटो समस्या समाधानका लागि मन्त्रीसमक्ष आग्रह गर्नुभयो । उहाँले दीर्घकालीन समाधानका लागि नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली र सांसद एवं उद्योग समितिका सभापति रहबर अन्सारीले समस्याको अल्पकालीन तथा दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभयो ।
त्यस्तै, वाणिज्य सचिव कृष्णबहादुर राउतले प्रक्रियागत सहजीकरणका लागि मन्त्रालयले पनि आफ्नो च्यानलबाट कुराहरू गरिरहेको र छिट्टै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको जानकारी दिनुभयो ।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्ष नरेशलाल श्रेष्ठ, पूर्वउपाध्यक्ष हेमराज ढकाल, नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीलगायतका उद्योगी व्यवसायीले विशेषगरी हालै भारतीय चिया बोर्डद्वारा जारी गरिएको नयाँ स्ट्याण्डर्ड अपरेटिङ सिस्टम (एसओपी) का कारण नेपाली चिया निर्यातमा थप जटिलता उत्पन्न भएको बताउनुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर