काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व र राष्ट्रियताको संरक्षणका सन्दर्भमा इतिहासबाट सिक्नुपर्ने बताउनुभएको छ। उहाँले विशेषगरी जङ्गबहादुर राणाको भूमिका अध्ययनयोग्य रहेको उल्लेख गर्दै आधुनिक नेपाल निर्माणमा ऐतिहासिक अनुभवको महत्व औंल्याउनुभएको छ।
आईतवार आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जङ्गबहादुर राणा’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उहाँले १९औँ शताब्दीको औपनिवेशिक विस्तारको कठिन समयमा पनि नेपालले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सकेको बताउनुभयो। सो उपलब्धिमा तत्कालीन नेतृत्वका रूपमा जङ्गबहादुर राणाको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
उहाँले दक्षिण एशियाको अधिकांश भूभाग ब्रिटिश साम्राज्यको अधीनमा गएको अवस्थामा पनि नेपाल स्वतन्त्र रहन सफल हुनु ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्नुभयो। साथै, जङ्गबहादुरले बेलायत भ्रमणमार्फत अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बुझ्ने अवसर पाएको र त्यसपछि अपनाइएको कूटनीतिक अभ्यासले नेपाल–ब्रिटिश सम्बन्ध व्यवस्थापनमा योगदान पुर्याएको उहाँले बताउनुभयो।
पूर्वराष्ट्रपति भण्डारीका अनुसार नेपाल–ब्रिटिश भारत सीमाको व्यवस्थापनका क्रममा निर्माण गरिएका ‘जङ्गे पिलर’हरूले सीमा स्पष्टता तथा प्रशासनिक र कूटनीतिक स्थिरता कायम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।
उहाँले सन् १८५७ को भारतीय विद्रोह दमनमा सैन्य सहयोग गरेबापत नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहितको ‘नयाँ मुलुक’ फिर्ता प्राप्त गर्नु पनि तत्कालीन शासनकालको महत्वपूर्ण उपलब्धिका रूपमा स्मरण गर्नुपर्ने बताउनुभयो।
उहाँले वर्तमान नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रियताको अवधारणा अब केवल भौगोलिक अखण्डता र सार्वभौमसत्तामा मात्र सीमित नरही लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, नागरिक अधिकार, आर्थिक आत्मनिर्भरता र राष्ट्रिय एकतासँग जोडिएको बताउनुभयो।
राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणबीच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकासको आधार हुने उहाँको धारणा थियो।
उहाँले भन्नुभयो, “जङ्गबहादुरको महत्वपूर्ण पक्ष नेपालको स्वतन्त्र अस्तित्वको रक्षा हो। औपनिवेशिक विस्तारको समयमा पनि नेपाल आफ्नो सार्वभौम अस्तित्व कायम राख्न सफल भयो। त्यस उपलब्धिको श्रेय तत्कालीन नेतृत्वलाई दिनुपर्छ। उहाँले बेलायत भ्रमणबाट अन्तर्राष्ट्रिय शक्ति सन्तुलन बुझ्ने अवसर पाउनुभयो। त्यसपछि अपनाइएको कूटनीतिक व्यवहारले सम्बन्ध व्यवस्थापनमा सहयोग गर्यो। जङ्गे पिलरले सीमा स्पष्टता र स्थिरतामा योगदान दियो। सन् १८५७ को विद्रोहमा सहयोगपछि नयाँ मुलुक फिर्ता पाउनु महत्वपूर्ण उपलब्धि हो।”
उहाँले जङ्गबहादुरको समयमा जारी गरिएको मुलुकी ऐनलाई नेपालको पहिलो कानूनी संहिताका रूपमा उल्लेख गर्दै त्यसले राज्य सञ्चालनलाई संस्थागत आधार दिएको बताउनुभयो। यद्यपि त्यसमा तत्कालीन सामाजिक संरचना अनुसारका असमानताका पक्षहरू रहेकाले आजको दृष्टिकोणबाट पुनः मूल्याङ्कन आवश्यक हुने उहाँको भनाइ थियो।
साथै, सती प्रथा अन्त्यतर्फको प्रारम्भिक पहल जङ्गबहादुरकै समयमा भएको उल्लेख गर्दै उहाँले इतिहासका सकारात्मक र नकारात्मक दुवै पक्षलाई बुझ्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
पूर्वराष्ट्रपति भण्डारीले इतिहासबाट शिक्षा लिँदै अझ सबल, समुन्नत र आत्मविश्वासी नेपाल निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै आफ्नो मन्तव्य समापन गर्नुभयो।







प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन्
कोलम्बियामा शक्तिशाली भूकम्प : १११
कोरोला नाका जोड्ने घमी खोला
दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा
क्यानले रोहित पौडेललाई भन्यो :
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै