काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेताको रूपमा समेत चिनिनुभएका खरेलको ८० वर्षको उमेरमा निधन भएको हो । उहाँ पछिल्ला केही वर्षदेखि ‘दम’ रोगबाट पीडित हुनुहुन्थ्यो । काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार गराइरहेको अवस्थामा आइतबार राती उहाँको निधन भएको छोरा महेश खरेलले जानकारी दिनुभयो ।
सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानका रूपमा विसं. २००३ मा काभ्रेको खरेलथोकमा जन्मिनुभएका राजेन्द्र विसं. २०५६ को आमनिर्वाचनमा काभ्रेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएका नेता खरेल प्रजातन्त्र स्थापनापछि शिक्षा राज्यमन्त्री हुँदै महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत हुनुभएको थियो ।
स्वर्गीय खरेलले नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहनुका साथै नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा पटक-पटक गरी झण्डै नौ वर्ष जेलजीवन बिताउनुभएको थियो । जननायक बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराईको सामिप्यमा रहेर उहाँले पार्टी संगठनका लागि उल्लेखनीय योगदान पुर्याउनुभएको थियो । विसं. २०४९ देखि २०५३ असारसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय उहाँकै नयाँ बानेश्वरस्थित घरबाट सञ्चालन भएको थियो ।
स्वर्गीय खरेल २०४८, २०५१, २०५६ र २०६४ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । विसं. २०५६ को आमनिर्वाचनमा काभ्रेपलाञ्चोकको क्षेत्र नं. ३ बाट विजयी हुनुभएका खरेल शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाजकल्याण मन्त्री हुनुभएको थियो । नेपाली कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर उहाँले पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । समाजसेवाका काममा लागिरहेका खरेल पञ्चायती अत्याचारविरुद्ध उभिँदाउभिँदै राजनीतिमा पुग्नुभएको थियो । त्यही समयमा कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईसँग निकट भएपछि उहाँ पार्टी र राजनीतिमा जोडिनुभएको हो ।
नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि उहाँले पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहने कांग्रेसले विज्ञप्तिमार्फत् जनाएको छ । कांग्रेसले उहाँको निधनबाट नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ । उहाँका तीन छोराहरू- कृष्णचन्द्र खरेल, महेश खरेल (पाँचखाल नगरपालिकाका प्रमुख एवं काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ का क्षेत्रीय सभापति) र शैलेस खरेल हुनुहुन्छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नुभएको छ, ‘विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको आदर्श, सिद्धान्त र लोकतान्त्रिक आन्दोलनमा निरन्तर समर्पित रहनुभएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुखित बनाएको छ । नेपाली कांग्रेसको संगठन सुदृढीकरण, लोकतन्त्र स्थापनाका आन्दोलन तथा लोकतन्त्र पुनर्स्थापनाको संघर्षका क्रममा उहाँले भोग्नुभएको लामो जेलजीवन, त्याग, समर्पण र संघर्ष पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीरशान्तिको कामनासाथ शोकसन्तप्त परिवारजन र आफन्तजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको थियो । उहाँको सोमबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि