काठमाडौं । नेपाली चिया निर्यातमा भारतीय अवरोधपछि चिया उद्योग गम्भीर संकटमा परेको भन्दै उद्योगी र किसान सरकारको ध्यानाकर्षण गराउन काठमाडौंमा आएका छन् । उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर चिया निर्यात खुलाउन तत्काल कूटनीतिक पहल गर्न ज्ञापनपत्र बुझाएका हुन् । सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा सरकारलाई बुझाइएको ज्ञापनपत्रमा भारतीय पक्षले नेपाली चियाको प्रत्येक खेप (कन्साइनमेन्ट) को अनिवार्य नमुना संकलन र प्रयोगशाला परीक्षण गर्नुपर्ने झन्झटिलो व्यवस्था गरेकाले समस्यामा परेको उल्लेख छ ।
एसोसिएसनका अनुसार करिब तीन लाख केजी नेपाली चिया कोलकातामा रोकिएको छ भने थप १० लाख केजी तयारी चिया नेपालभित्रै भण्डारमा रहेको अवस्था छ ।
नयाँ व्यवस्थामा प्रत्येक खेपको विवरण भारतीय चिया परिषद्को पोर्टलमा दर्ता गर्नुपर्ने, परीक्षण शुल्क तिर्नुपर्ने र रिपोर्ट नआउन्जेल चिया बिक्री वा वितरण गर्न नपाइने, दुर्ई हप्तामा आउने भनिएको रिपोर्ट आउन महिनौं लाग्ने गरेकाले निर्यात ठप्प भएको बताइएको छ । प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा भारतीय निकायहरूद्वारा नेपाली चियामा लागू गरिएको नयाँ परीक्षण तथा आयात व्यवस्थाका सम्बन्धमा कूटनीतिक पहल गरिदिन अनुरोध गरिएको छ ।
ज्ञापनपत्रमा परीक्षण शुल्क, गोदाम खर्च, ढुवानी अवरोध, ट्रक पार्किङ तथा भण्डारण लागतका कारण नेपाली निर्यातकर्ताहरूको सञ्चालन खर्च उल्लेखनीयरूपमा बढेकाले नेपाली चियाको प्रतिस्पर्धात्मक क्षमतामा प्रत्यक्ष असर पुर्याएको, भारतीय सीमामा प्रवेश गरिसकेपछि परीक्षणमा असफल घोषित गरिएका चियाका खेपहरू नेपाल फिर्ता ल्याउनसमेत कठिन हुने अवस्था रहेकाले नेपाली निर्यातकर्तालाई उच्च व्यावसायिक जोखिम तथा अनिश्चितताको सामना गर्न बाध्य बनाएको, प्राथमिक तथा पुनः परीक्षण दुवै भारतीय प्रयोगशालाबाट मात्र सञ्चालन हुने व्यवस्थाका कारण परीक्षणको निष्पक्षता, पारदर्शिता तथा विश्वसनीयतासम्बन्धी प्रश्नहरू उठेका र नेपाली पक्षबाट स्वतन्त्र प्रमाणीकरण वा पुनः परीक्षणको प्रभावकारी व्यवस्था उपलब्ध नरहेको बताइएको छ । चिया उद्योगीले विद्यमान व्यवस्थाहरूको असंगत तथा कठोर कार्यान्वयनका कारण नेपाली चिया उद्योग गम्भीर संकटमा परेको बताएका छन् ।
एसोसिएसनका अनुसार करिब तीन लाख केजी नेपाली चिया कोलकातामा रोकिएको छ भने थप १० लाख केजी तयारी चिया नेपालभित्रै भण्डारमा रहेको अवस्था छ । समस्याको शीघ्र समाधान नभएमा हजारौं किसान श्रमिक तथा उद्योगीहरू प्रत्यक्षरूपमा प्रभावित पनि उनीहरूको भनाइ छ । चिया उद्योगीहरूले भारतीय सरकार तथा सम्बधित निकायहरूसँग तत्काल कूटनीतिक संवाद प्रारम्भ गरी हाल लागू गरिएका व्यवस्थाहरूको स्पष्टता सहजीकरण तथा नेपाली चियाको निर्बाध निर्यात सुनिश्चित गर्न आवश्यक पहल गर्न, नेपाल र भारतबीच चिया व्यापारसँग सम्बन्धित प्राविधिक तथा नियामकीय विषयहरूको समाधानका लागि स्थायी द्विपक्षीय संयन्त्र स्थापना गर्न, दुवै देशका मान्यता प्राप्त प्रयोगशालाबीच परीक्षण प्रतिवेदनको पारस्परिक मान्यतासम्बन्धी व्यवस्था विकास गरी दोहोरो परीक्षण तथा अनावश्यक व्यापारिक अवरोध हटाउन, नेपाली चिया किसान, उत्पादक, प्रशोधन उद्योग तथा निर्यातकर्ताहरूको हित संरक्षण हुने गरी आवश्यक कूटनीतिक तथा नीतिगत सहयोग उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
एसोसिएसनका अनुसार नेपालको चिया क्षेत्र राष्ट्रिय अर्थतन्त्र ग्रामीण रोजगारी तथा निर्यात व्यापारको महत्त्वपूर्ण आधारका रूपमा रहेको छ । विशेषगरी पूर्वी पहाडी क्षेत्रका हजारौं किसान श्रमिक उद्योगी तथा निर्यातकर्ताको जीविकोपार्जन प्रत्यक्षरूपमा चिया क्षेत्रसँग आबद्ध रहेको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गर्दै आएको चिया निर्यात पछिल्लो समय १५.७२ प्रतिशतले घटेर तीन अर्ब ३५ करोडमा सीमित भएको थियो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको तथ्यांकअनुसार चिया निर्यात १५.७२ प्रतिशतले घटेको हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर