अमेरिकाको ओहायो राज्यमा मेडिकेड कार्यक्रमसँग सम्बन्धित कथित ठगी प्रकरण सार्वजनिक भएपछि नेपालीभाषी भुटानी समुदाय एकाएक चर्चाको केन्द्रमा आएको छ । केही पत्रकारले समचार सम्प्रेषण गर्ने क्रममा केही व्यवसायलाई आरोप लागेका समाचारहरू सार्वजनिक भएका छन् । कानुनी प्रक्रिया आफ्नो मार्गमा अघि बढिरहेको हुनसक्छ तर यस घटनाले एउटा गम्भीर प्रश्न जन्माएको छ, के केही व्यवसाय वा व्यक्तिमाथि लागेको आरोपका आधारमा सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी ठहर गर्न मिल्छ ? मेरो विचारमा यसको उत्तर स्पष्ट रूपमा ‘मिल्दैन’ भन्ने नै हो ।
हामीले एउटा महत्त्वपूर्ण कुरा भने कहिल्यै बिर्सनु हुँदैन न्याय व्यक्तिगत हुन्छ, सामूहिक होइन । अपराध व्यक्तिगत हुन्छ, जातीय होइन । जिम्मेवारी व्यक्तिगत हुन्छ, सामुदायिक होइन । यही सिद्धान्तलाई बेवास्ता गरियो भने कुनै पनि समुदाय कुनै पनि बेला पूर्वाग्रहको शिकार बन्न नसक्ला भन्न सकिन्न ।
लोकतान्त्रिक समाजको आधारभूत मान्यता भनेकै कानुनको शासन हो । कानुनले व्यक्तिको जिम्मेवारी निर्धारण गर्छ, समुदायको होइन । कुनै व्यक्ति वा व्यवसायीले अपराध गरेको प्रमाणित भएमा उसले कानुनी सजाय भोग्नुपर्छ भन्नेमा मेरो दुईमत भने छैन । तर, त्यही व्यक्तिको कार्यलाई आधार बनाएर हजारौँ निर्दोष मानिसहरूको पहिचान, प्रतिष्ठा र सामाजिक योगदानमाथि प्रश्न उठाउनु न्यायको सिद्धान्तसँग मेल खाएको देखिदैन ।
पछिल्लो समय सामाजिक सञ्जाल र केही सार्वजनिक बहसहरूमा देखिएको प्रवृत्ति निकै नै चिन्ताजनक छ । कतिपयले अनुसन्धानको प्रारम्भिक चरणमै निष्कर्ष निकाल्ने मात्र होइन, सम्पूर्ण नेपालीभाषी भुटानी समुदायलाई नै शंकाको दृष्टिले हेर्ने प्रयास गरेको पाईन्छ । अझ केही टिप्पणीमा समुदायलाई नै ठगी, अनियमितता वा सरकारी सुविधा दुरुपयोगसँग जोड्ने प्रयाससमेत भएको देखिन्छ । यस्ता अभिव्यक्ति तथ्यभन्दा बढी पूर्वाग्रहबाट प्रेरित भएका देखिन्छन् ।
समाजमा हुने हरेक गलत कामको जिम्मेवारी व्यक्ति विशेषको हुन्छ । उदाहरणका लागि यदि कुनै एउटा चिकित्सकले अपराध गर्छ भने सम्पूर्ण चिकित्सक समुदाय अपराधी हुन सक्दैनन् । कुनै शिक्षकले गल्ती गर्छ भने सबै शिक्षकहरू दोषी ठहरिन सक्दैनन् । कुनै व्यवसायीले आर्थिक अनियमितता गर्छ भने सम्पूर्ण व्यवसायी समुदायमाथि प्रश्न उठाइँदैन । त्यसैगरी, यदि नेपालीभाषी भुटानी समुदायका केही व्यक्तिमाथि आरोप लागेको छ भने त्यसको जिम्मेवारी उनीहरू स्वयंले वहन गर्नुपर्छ, सम्पूर्ण समुदायले होइन ।
यस विषयमा अर्को महत्त्वपूर्ण पक्ष के छ भने नेपालीभाषी भुटानी समुदायले विगत तीन दशकमा कठिन संघर्षको इतिहास बोकेको छ । विस्थापन, शरणार्थी जीवन र पुनर्वासको लामो यात्रा पार गरेर हजारौं परिवारहरूले अमेरिकालगायत विभिन्न देशमा नयाँ जीवन निर्माण गरिरहेका छन् । उनीहरूले शिक्षा, व्यवसाय, स्वास्थ्य सेवा, सार्वजनिक सेवा र सामाजिक नेतृत्वका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । धेरै परिवारले आफ्नो मिहिनेत र इमानदारिताको बलमा सम्मानजनक जीवन निर्माण गरिरह्का छन् । यस्तो अवस्थामा केही व्यक्तिमाथि लागेको आरोपका कारण सम्पूर्ण समुदायको योगदानलाई ओझेलमा पार्ने प्रयास गर्नु न्यायपूर्ण हुन सक्दैन ।
यस घटनाले पत्रकारिताको भूमिकामाथि पनि प्रश्न उठाएको छ । पत्रकारिताको धर्म तथ्य खोज्नु हो, पूर्वाग्रह निर्माण गर्नु भने पटक्कै होइन । कुनै पनि समाचारलाई सनसनीपूर्ण बनाउने उद्देश्यले सम्पूर्ण समुदायलाई मुछ्नु वा पर्याप्त प्रमाणबिना निष्कर्ष प्रस्तुत गर्नु गैरजिम्मेवार पत्रकारिताको पराकाष्ठ हो । विशेष गरी जातीय, भाषिक वा सांस्कृतिक पहिचानसँग जोडिएका विषयमा पत्रकारहरूले थप संवेदनशीलता अपनाउनु पर्दछ ।
सामाजिक सञ्जालको युगमा गलत सूचना र आधा-सत्य सूचनाको प्रभाव झन् तीव्र हुनसक्छ । एउटा अपुष्ट पोष्ट, एउटा भ्रामक भिडियो वा एकपक्षीय टिप्पणीले हजारौं मानिसको धारणालाई प्रभावित गर्नसक्छ । दुर्भाग्यवश, धेरै मानिसहरू अनुसन्धानको वास्तविक अवस्था बुझ्नुभन्दा पहिले नै भावनात्मक निष्कर्षमा पुग्ने गर्छन् । यही कारणले तथ्यमा आधारित संवाद आजको सबैभन्दा ठूलो आवश्यकता रहेको देखिन्छ ।
यस विषयलाई राजनीतिक रंग दिन खोज्नु पनि उत्तिकै दुर्भाग्यपूर्ण हो । कुनै पनि कानुनी अनुसन्धानलाई जातीय वा राजनीतिक चश्माबाट हेर्दा वास्तविक समस्याको निराकरण हुन नसक्ने कुराको सहजै अनुमान गर्न सकिन्छ । बरू यसले समुदायहरूबीच अविश्वास र विभाजन बढाउँछ । यदि ठगी भएको छ भने अनुसन्धानले दोषी पत्ता लगाओस् । यदि आरोप गलत छन् भने निर्दोषहरूलाई न्याय मिलोस् । यही नै सभ्य समाजको अपेक्षा हो ।
यदि कसैले गल्ती गरेको छ भने उसले कानुनअनुसार जवाफदेही हुनुपर्छ भन्ने कुरामा फरक मत भने छैन । यसमा कुनै विवाद छैन । तर, केही व्यक्तिको कार्यलाई आधार बनाएर सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषीको रूपमा चित्रित गर्नु न तथ्यसंगत छ, न नैतिक रूपमा स्वीकार्य हुनसक्छ । अनुसन्धानलाई आफ्नो निष्कर्षमा पुग्न दिऊँ, कानुनलाई आफ्नो काम गर्न दिऊँ तर निर्दोष समुदायमाथि सामूहिक आरोप लगाउने प्रवृत्तिलाई भने दृढतापूर्वक अस्वीकार गरौ“ । यही न्यायको मार्ग हो, यही सामाजिक सद्भावको आधार हो ।
एउटा भर्खरै प्रकाशित समाचारलाई राम्ररी निहाल्ने अवसर मिल्यो । विशिष्ट मानिने पत्रकार भुषण दाहालले अंग्रेजी भाषामा नेपाली भाषी भुटानीलाई लक्षित गरि लेखिएको समाचार पढ्दा विद्वान् भनिने पत्रकारको मुर्खताको पराकाष्ठ झल्किएको अनुभूत गराउँछ । कुनै पनि समुदायको ऐतिहासिक कुराहरू लेख्नु अगाडि त्यस समुदायको पृष्ठभूमिको अनुसन्धान गर्नुपर्छ र तथ्य संगत लेख समावेश हुनुपर्छ भन्ने सम्मको हेक्का नराख्नु कति न्यायपूर्ण हुन्छ ? कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी गलत सूचना प्रवाह गर्नु र तथ्यहरूको स्वमित्व लिनु सच्चा पत्रकारिताको धज्जी उडाउनुसरह हो ।
अर्कोतर्फ एउटै वीर पूर्खाका सन्ततिहरू संसारभर छरिएर बस्नु कुनै रहर नभई बाध्यता हो भन्ने बुझ्न नसक्नु, एउटा नेपालीलाई दुख्दा हिजो विश्वभर रहेका नेपालीभाषी भुटानी समुदायले पुर्याएको सहयोग, एउटा नेपालीलाई दुख्दा सारा नेपाली भाषीको मन दुःख्छ भन्ने सोच नराख्नु र समाजिक सञ्जालमा तथ्यहीन समाचार सम्प्रेषण गरी सिंगो समुदायलाई विभाजन गरी आफ्नो विद्वताको अंहकार देखाउनु सबभन्दा ठूलो भुल र मूर्खता देखिन्छ ।
हामीले एउटा महत्त्वपूर्ण कुरा भने कहिल्यै बिर्सनु हुँदैन न्याय व्यक्तिगत हुन्छ, सामूहिक होइन । अपराध व्यक्तिगत हुन्छ, जातीय होइन । जिम्मेवारी व्यक्तिगत हुन्छ, सामुदायिक होइन । यही सिद्धान्तलाई बेवास्ता गरियो भने कुनै पनि समुदाय कुनै पनि बेला पूर्वाग्रहको शिकार बन्न नसक्ला भन्न सकिन्न ।
आज ओहायो मेडिकेड प्रकरणको सन्दर्भमा नेपालीभाषी भुटानी समुदायमाथि औँला उठाइएको हुनसक्छ । भोलि यही अवस्था अर्को कुनै समुदायमाथि दोहोरिन सक्छ । त्यसैले यो केवल एउटा समुदायको प्रतिष्ठाको प्रश्न होइन, यो न्याय, निष्पक्षता र सामाजिक उत्तरदायित्वको प्रश्न पनि हो ।
अन्ततः, यदि कसैले गल्ती गरेको छ भने उसले कानुन अनुसार जवाफदेही हुनुपर्छ भन्ने कुरामा फरक मत भने छैन । यसमा कुनै विवाद छैन । तर, केही व्यक्तिको कार्यलाई आधार बनाएर सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषीको रूपमा चित्रित गर्नु न तथ्यसंगत छ, न नैतिक रूपमा स्वीकार्य हुनसक्छ । अनुसन्धानलाई आफ्नो निष्कर्षमा पुग्न दिऊँ, कानुनलाई आफ्नो काम गर्न दिऊँ तर निर्दोष समुदायमाथि सामूहिक आरोप लगाउने प्रवृत्तिलाई भने दृढतापूर्वक अस्वीकार गरौँ । यही न्यायको मार्ग हो, यही सामाजिक सद्भावको आधार हो ।
(लेखक डा.हरि उप्रेती अन्तर्राष्ट्रिय गीतकार संघका अध्यक्ष हुनुहुन्छ ।)







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर