काठमाडौं । राहदानी छपाइ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । सोमबार अनुसन्धान पूरा गरेर आयोगले विशेष अदालतमा १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरेको हो । आयोगको न्यायिक हिरासतमा रहेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, विभागको सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी र विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, जर्मन कम्पनी मुल्हबाउरका नेपाली प्रतिनिधि मुनिन्द्रराज मल्लसहित सात जनालाई अभियोग पत्रसहित अदालतमा उपस्थित गरेको छ ।
आयोगले अनुसन्धानमा राहदानी प्रकरणमा करिब आठ अर्ब हिनामिना भएको निष्कर्ष निकालेको छ । राहदानी विभागले २०८१ मंसिरमा पाँच वर्षका लागि ६४ लाख थान नयाँ विद्युतीय राहदानी आपूर्ति र त्यसको प्रणाली व्यवस्थापन गर्न ग्लोबल टेण्डर आह्वान गरेको थियो । बोलपत्र मूल्यांकनको लागि तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले २०८१ फागुन ९ मा विभागका महानिर्देशक तीर्थराज अर्यालको नेतृत्वमा बोलपत्र मूल्यांकन समिति गठन गर्नुभएको थियो । त्यही मितिमा विभागका सूचना प्रविधि निर्देशक सुनिल केसीको नेतृत्वमा प्राविधिक कर्मचारी रहनेगरी उपसमिति गठन गरिएको थियो ।
छपाइको ठेक्का जर्मन कम्पनी भेरिडोस र मुल्हबाउरले लिएका थिए । मुल्हबाउरले एक अर्ब ५५ करोडको प्याकेज र भेरिडोसले ६ अर्ब ५५ करोडको ठेक्का पाएका थिए । भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल हुन् ।
ठेक्का सम्झौताअनुसार राहदानी छपाई र प्रणाली व्यवस्थापनको काम सुरु भएको छैन । तर, ठेक्का प्रक्रिया र सम्झौतामा खरिद नियमावली मिचिएको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियारलाई अनुसन्धान गर्न दबाब दिएको थियो । त्यतिबेला ठेक्का प्रक्रियाबाट फ्रेन्च कम्पनी आइडिमिया बाहिरिएको थियो ।
राहदानी छपाइमा भएको अनियमितताको विषयमा छुट्टै अनुसन्धान गर्नका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि अख्तियारले बोलाएको थियो । तर, मुद्दा अभियोजनमा उहाँलाई प्रतिवादी भने बनाइएको छैन । त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि अख्तियारले बयान लिएको थियो ।







प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा