काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व–अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नुभएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा सुर्खेत प्रहरीले सोमबार अपराह्न पौडेललाई पक्राउ गरेको हो । एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य पौडेल सुझाव संकलनका क्रममा सुर्खेत पुग्नुभएको थियो । यसअघि कार्यदलले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सुझाव संकलन तथा भेला गरेको थियो । त्यसपछि उहाँ कार्यदलको टोलीसँगै सुर्खेत पुग्नुभएको थियो ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ ऐरीचोकस्थित शुभ होटलको सभाहलमा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम चलिरहेको थियो । सोही कार्यक्रमस्थलबाटै उपाध्यक्ष पौडेललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ठाकुरप्रसाद पौडेलको कमाण्डमा खटिएको १० जनाको विशेष प्रहरी टोलीले उहाँलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ ।
उपाध्यक्ष पौडेललाई सोमबार नेपालगञ्जस्थित प्रहरीको कर्णाली प्रदेश तालिम केन्द्रमा राखिएको थियो । नेपालगञ्ज विमानस्थलमा राति पार्किङ हुने र आज (मंगलबार) बिहान पहिलो उडान गर्ने जहाजमा उहाँलाई काठमाडौं ल्याउने तयारी छ ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग सम्बद्ध स्रोतका अनुसार, पौडेलमाथि राज्यसंयन्त्रमा रहँदा विभिन्न व्यापारिक र स्वार्थ समूहको हित हुनेगरी काम गरेको र त्यसपछि विभिन्न ढंगलबाट लाभ लिएको आरोप छ । बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबार पनि उहाँसँग जोडिएको छ ।
भट्टको नाममा पौडेलले करिब ३० करोड रुपैयाँको सेयर लिएको स्रोतको दाबी छ । प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टविरुद्ध हालै चारवटा मुद्दा दायर गरेका छन् । भट्टको कारोबारमाथि थप अनुसन्धान चलिरहँदा सम्बन्ध देखिएका व्यक्ति समेतको पहिचान गरिएका छन् । त्यसक्रममा पौडेलसमेत देखिएपछि उहाँलाई पक्राउ गरिएको हो । पौडेल हाल बसिरहेको काठमाडौं भैँसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । पौडेललाई काठमाडौं ल्याएर हिरासतमा राखिने र मंगलबार म्याद थपका लागि विशेष अदालतमा पेश गरिने विभागले जनाएको छ ।
पौडेलको पक्राउपछि एमाले नेताहरू आक्रोशित
यसैबीच, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राज्यका निकायहरूले अनुसन्धान र न्याय सम्पादनका क्रममा स्थापित कानुनी प्रक्रियाको पालना गर्नुपर्ने बताउनुभएको छ । उपाध्यक्ष विष्णु पौडेलको पक्राउपछि प्रतिक्रिया दिँदै उहाँले पहिले निष्पक्ष र गहिरो अनुसन्धान सम्पन्न गरेर आवश्यक आधार जुटाएपछि मात्र पक्राउको प्रक्रिया अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।
ज्ञवालीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको प्रतिक्रियामा नेकपा (एमाले) को स्थापित मान्यता संवैधानिक र कानुनी अधिकारप्राप्त निकायले गर्ने अनुसन्धानमा सहयोग गर्ने, आफूमाथि उठेका प्रश्नहरूको कानुनी रूपमा सामना गर्ने तथा अदालतको निर्णयलाई सहज रूपमा स्वीकार गर्ने रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले अनुसन्धान र न्याय निरूपणको स्थापित विधिअनुसार पहिले निष्पक्ष र गहिरो अनुसन्धान हुने, त्यसपछि अभियोजन र अदालतको प्रक्रियाबाट अगाडि बढ्ने तथा अत्यावश्यक अवस्थामा मात्रै नियन्त्रणमा लिने अभ्यास हुनुपर्ने बताउनुभएको छ । तर, व्यवहारमा भने पहिले पक्राउ गर्ने र त्यसपछि अनुसन्धान सुरु गर्ने प्रवृत्ति लामो समयदेखि देखिएको उहाँको टिप्पणी छ । ज्ञवालीले राज्यका निकायहरूको निर्णय कुनै पनि हालतमा पूर्वाग्रह, प्रतिशोध वा राजनीतिक आग्रहबाट प्रभावित हुन नहुनेमा जोड दिनुभएको छ ।
यता, एमाले सचिव महेश बस्नेतले पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको घटनामा प्रतिवाद गर्न आह्वान गर्नुभएको छ । सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै बस्नेतले एमाले पंक्तिले यो घटना केवल एउटा व्यक्तिसँग सम्बन्धित घटनाका रूपमा नभई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आवश्यक रहेको बताउनुभएको हो । उहाँ लेख्नुहुन्छ, ‘कुखुरा मर्यो’ भन्दा पनि ‘स्याल पल्कियो’ भन्ने चेतका साथ यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्छ, किनकि आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्छ ।’






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर