पुराणमित्येवनसाधुसाधुन
पुराना कुरा मात्र राम्रा असल र अनुकरणीय हुँदैनन् । नयाँ पनि कतिपय कुरा अति नै ग्राह्य हुन्छन् । नारदीय पुराण पच्चीस हजार श्लोक संख्याको रहेको छ । यस पुराणका दुई भाग छन् जसलाई पूर्व भाग र उत्तर भाग भनिन्छ । पूर्व भागमा चार पाद छन् । यी चार पादमा १२५ अध्याय रहेका छन् । उत्तर भागमा ८२ अध्याय रहेका पाइन्छन् । पहिला पूर्वभागकै कुरा गरौँ । यसको प्रथम पादको पहिला भागमा सूतशौनक संवादका आधारमा संक्षिप्त शैलीमा सृष्टिको वर्णन गरिएको छ । सृष्टिको अर्थ हो नवनिर्माण । पुराणमा सृष्टि भन्नाले यस सूर्यमण्डलमा रहेको खगोल भूगोलको वर्णनलाई र ती स्थानमा रहने नभचर, स्थलचर तथा जलचरको सृजन प्रक्रियाका वर्णनलाई नै सृष्टि भनिएको देखिन्छ ।
संसारमा नवनिर्माण र नवखोजप्रति लागेर प्राप्त भएका सबै कुरालाई सृष्टि मान्न सकिन्छ । यसरी हेर्दा पुराणबद्ध दृष्टि रहेका देखिन्छन् । कुनै खास प्रक्रियाबाट कुनै वस्तु ग्रह, उपग्रह, व्यक्ति, जाति, खोज्नु बनाउनु या नवनिर्माण गर्नुलाई पनि लिन सकिन्छ । पुराणमा मानव, देवीदेवता, खगोल भूगोलको बनावट र प्राकृत विकृत सृष्टि प्रक्रियाका चार प्रकारका जरायुज, स्वेदज, अण्डज र उद्भिज सिर्जनाको वर्णन विवरणलाई प्रत्येक पुराणले दोहोर्याएका छन् । यसरी उनै कुरा पटक-पटक पुराणादिमा आएको देख्दा अनेक लेखकले अनेक समयमा लेखेर व्यासका नाममा राखिदिएका त होइनन् ? भनेर चतुर पाठक जसले कुरो बुझेर पढ्न चाहन्छ जो महमा लट्पटिएको झिँगो जस्तो गरी भगवद्भक्ति मदमा मस्त छैन उसका मनमा यस प्रकारका प्रश्न उठ्छन् ।
नारदीय पुराणमा लोकधारणा, लोकव्यवहार, लोकहितकारी कुराहरू अरू पुराणमा भन्दा अलि बढी आएका छन् । नारद सामान्य व्यक्तिबाट असामान्य व्यक्तित्ववान् बनेर देखापरेका छन् । महातन्त्रका कुरा गरेपछि पशु, पाश र त्यसबाट विमुक्ति लिने उपायका सम्बन्धमा पनि केही कुरा गरिएको छ । सबै प्रकारका जीव पशु हुन् । तिनीहरू माया, मलयुक्त हुन्छन् र पाशमा बाँधिन्छन् ।
यसैगरी, अर्को धर्मसम्बन्धी कुरा पनि पुराणमा दोहोरिएर आएका छन् । तिनलाई पाप र पुण्यका तराजुमा राखेर तौलने गरेको पनि देखिन्छ र दण्ड र पुरस्कार पनि दैवी विधिबाट नै प्रक्षेपण गरिएको भेटिन्छ । जीवलाई बद्ध र मुक्त गरी दुई स्थिति या मार्ग उपलब्ध गराएर मोक्षका उपाय बताउनु पनि पुराणको अर्को मुख्य वर्ण्य विषयका रूपमा आएको देखिन्छ । महात्मा सनन्दनले नारदलाई वेदवेदाङ्गका कुरा सुनाउँछन् ।
वेद चारवटा छन् र वेदाङ्ग ६ वटा रहेका छन् भन्दै शुकोत्पत्तिको कथा विस्तारपूर्वक सुनाउँछन् । शुक भनेको सुगा हो । संस्कृत वाङ्मयमा शुकदेव नामका एकजना महर्षि छन् जो व्यासपुत्रका रूपमा चिनिन्छन् । धेरै पुराणमा व्यासोवेत्ति शुकोवेत्ति सञ्जयोवेत्ति वानवा भनेर व्यासपछिको जान्ने व्यक्तिका रूपमा चर्चा आएको भेटिन्छ । यसरी सनन्दनले नारदलाई उपर्युक्त कुरा बताउँदा बताउँदै पहिलो पाद र दोस्रो पाद सकिएका छन् ।
नारं पानीयमित्युक्तम्...नारदेतिभविष्यति
नार भनेर पानीलाई भनिन्छ । पानी पितृलाई दिँदै गरेका व्यक्तिलाई नै नारद भन्न लागियो । यसरी लोकले गर्दै गरेका कामलाई देखेर नाम राखिदिन्छ । नार अयन भएको व्यक्ति नारायण बनेको देखिन्छ । अयनको अर्थ मार्ग हो । यस पुराणमा लोकधारणा, लोकव्यवहार, लोकहितकारी कुराहरू अरू पुराणमा भन्दा अलि बढी आएका छन् । नारद सामान्य व्यक्तिबाट असामान्य व्यक्तित्ववान् बनेर देखापरेका छन् । महातन्त्रका कुरा गरेपछि पशु, पाश र त्यसबाट विमुक्ति लिने उपायका सम्बन्धमा पनि केही कुरा गरिएको छ । सबै प्रकारका जीव पशु हुन् । तिनीहरू माया, मलयुक्त हुन्छन् र पाशमा बाँधिन्छन् । माया र मलले भरिएका अनि पाशबद्ध पशुका पति या नाथ सर्वेश्वर भएका हुनाले नेपालमा रहेको ज्योतिर्लिङ्गलाई पशुपतिनाथ भनिन्छ ।
सकल जीवका तारक भएका हुनाले शिव पशुपतिनाथ हुन् र उनको यो अवतारको स्वरूप पञ्चमुखी भए तापनि मुखलिङ्गको अवस्थामा रहेको हुन्छ । मन्त्रशोधन, दीक्षाप्रदान, उद्धारका लागि देवपूजनको महिमा बताउँदै मन्त्र प्रयोग विधि, कवचका हजार स्तोत्र वर्णन गरिसकेर गणेश, शिव, विष्णु, सूर्य र शक्तिको क्रममा पञ्चदेवको उपासना विधि, तिनको महिमा सनत्कुमार मुनिले नारदलाई नारदीय पुराणको पूर्वभागको तेस्रा पाउमा बताएका छन् । हरेक नेपाली द्विजातिका घरमा गरिने पाञ्चायन पूजा हो यो । वैदिक सनातन आर्य परम्परामा कोही गाणपत्य कोही शैव, कोही शाक्त कोही वैष्णव र कोही भने सौर्यमार्गी रहेका पाइन्छन् । यी पाँच वटा वैदिक मार्ग हुन् ।
प्रकार्यात्मक विभेदका कारणले यी पाँचवटा महाभूतलाई पाँच प्रकारका मूलदेवता मानेर हरेक वैदिक धर्मावलम्बीले आआफ्नो प्राधान्यका आधारमा आफूलाई ईश्वरको आराधनामा आबद्ध गराउँछन् । पुराणादिमा पाञ्चायन पूजा नगरीकन पानी पनि मुखमा नहाल्ने विधान बताइएको पनि भेटिन्छ । परापूर्व कालका नेपाली भारतीय श्रोत्रीय द्विजातिले पाञ्चायन पूजा गरेर शालग्रामको चरणोदक ग्रहण गरेपछि मात्र अन्य कुरा ग्रहण गर्दथे । अहिलेका ठूलाबडाले बेड टि ग्रहण गरेजस्तै थियो विष्ण्वादि पञ्चदेवको चरणोदक । पृथ्वी, अप, तेज, वायु, आकाशयी पाँच भूतकै सृजना हुन्, समग्र जीवनिर्जीव । अतः दैनिक तिनको स्मरण जीवनको आचरण बनाएर ब्रह्माण्ड बनावटको रहस्य देखाएका थिए पौरस्त्येली चिन्तकहरूले ।
अमन्त्रमक्षरंनास्तिनास्तिमूलमनौषधम् ।
अयोग्यः पुरुषोनास्ति योजकस्तत्रदुर्लभः ।।
मान्त्रिक सामर्थ्य नभएका अक्षर हुँदैनन् । औषधीय गुणविरहित बोटबिरुवा दूबोबन्सो केही पनि हुँदैनन् र योग्यताबिनाको पुरुष पनि हुँदैन तर त्यहाँ संयोजन गर्ने शक्तिवान् व्यक्ति वस्तुको दुर्लभता हुन्छ । नारदीय पुराणले पनि पुराणको लक्षण र प्रमाण बताएर दानदातव्य र दान लिनेदिनेका गुणावगुणको सम्यक निरूपण गरेर बेग्लाबेग्लै दिन, बार, तिथि र नक्षत्रका बेलाका दानको महिमासहित वैशाख महिनाबाट आरम्भ गरेर अर्को वैशाख आउनुभन्दा पहिलेको चैत्र महिनासम्मका मानवीय र सामाजिक एवं राष्ट्रिय कर्तव्याकर्तव्य निरूपण गरेर कुन कुन तिथि र बार नक्षत्र सबै प्रकारका पतनका सम्भावना नाश गरी सुप्रतिफल प्रदान गर्नसक्छन् भन्ने धर्मशास्त्रीय र आचरणशास्त्रीय कुरा पनि सनातन मुनिले नारदलाई वर्णन गरेर सुनाएका रमाइला कथा आएका छन् ।
यसरी हेर्दा नारदीय पुराण विशेष गरी समाज, राष्ट्र र व्यक्तिका काम, कर्तव्य र आचरण पालन गर्ने गराउने कुरामा बढी आकर्षित रहेको देखिन्छ । नारद आफैँ पनि देवदूतका रूपमा परिचित व्यक्तित्व हुन् । उनले आचरण गरेको चरित्र क्रियाकलाप र चिन्तनलाई समयचक्रमा राखेर सनातन जस्ता तपोनिष्ठ ऋषिले बताएको देखिन्छ । यसरी हेर्दा जसरी श्रीमद्भागवतमा कालरूप सर्पले डस्ला कि ? भन्ने त्रासबाट सन्त्रस्त श्रोता र समग्र सांसारिक र पारमार्थिक कुराको अन्तिम रहस्य बुझेका परमहंस वक्ता मिलाएका थिए व्यासले ठीक त्यसैगरी जन्मजन्मान्तरदेखि निवृत्ति मार्गमा आरुढ सनक, सनन्दन, सनत्कुमार तथा सनातनलाई वक्ता र त्यस्तै महाविपद-विद्रूप गर्तबाट उठेर देवर्षि बनेका नारदलाई श्रोता बनाएर जीवनका हीनतर अवस्थाको त्रास र उच्चतम अवस्थाको मोहनीयुक्त झलक प्रस्तुत गरेका छन् ।
पुराणहरू पठनीय साहित्यका सामग्री हुन् भन्ने पनि यही जीवनका त्यागमय मार्गबाट प्राप्त हुने बुद्धको प्रज्वलित संसिद्धि र भोगमय मार्गबाट प्राप्त हुने श्रीकृष्णको सर्वैश्वर्य भोगको अवस्था चित्रण गरेर जीवन जगत्का सम्भाव्य स्वरूपको सुन्दर चित्र प्रक्षेपण गरेका हुनाले काव्यमहाकाव्यबत् पुराणले पनि कान्ता, मित्र र प्रभुसम्मत सल्लाह, सम्मति र आदेश दिएको भेटिन्छ । नारद लोककल्याणका लागि अनेकौँ आपत्विपत्का महाबाढीमा सहजै हेलिने चरित्रका दिव्यगुणयुक्त पात्र हुन् । यस्ता दिव्यादिव्य चरित्रचिन्तन र आचरणले भरिएको पात्रलाई नायक बनाएर वेदव्यासले पुराणलाई इतिहास, तथ्यानुशीलन, राजामहाराजा, देवदवी र ऋषिमहर्षिका गुणावगुणको मात्र ठ्यस्फु नबनाएर जीवन्त विद्याको विधा बनाएर प्रस्तुत गरेका छन् भन्न सकिन्छ । नारदीय पुराणको पूर्वभागमा रहेका चार पादको अध्ययनको संक्षिप्त चर्चालाई यहीँ विश्रान्ति दिएर उत्तर भागमा आएका सामग्रीको अति संक्षिप्त चर्चा गर्न सकिन्छ ।
ईसापूर्व पाँचौँ शताब्दी र छैटौँ शताब्दीको माझका भनिएका आर्य भट्ट र ब्रह्मगुप्तले अंगको आविष्कार गरे भनिने आजको कुरोलाई पहिले सनक, सनन्दन, सनातन र सनतकुमारले नारदलाई र नारदले ब्रह्मालाई ब्रह्माले आफ्ना दशपुत्रलाई सुनाएको कुरो आएको देख्दा नारदीय पुराणको समय पनि ईसापूर्व पाँचौँ र छैटौँ शताब्दीको मध्य हो भने कुरो मिल्यो भन्नुपर्ला ।
नारदीय पुराणको उत्तर भाग
नारदीय पुराणको उत्तर भागमा एकादशी व्रतका सम्बन्धमा वशिष्ठ र मान्धाताका बीचमा संवाद भएको छ । राजा रुक्मांगदको पुण्यदायक कथा भनेपछि मोहिनी उत्पत्तिका सम्बन्धमा वर्णन गर्दै मोहिनीले गरेका कामको विवरण पनि दिइएको छ । मोहिनीबाट वशुलाई दिइएको श्राप र पछि उद्धार गरेको कुरो पनि सविस्तार वर्णन गरिएको छ । मोहिनी भन्नाले चारवटा कुरा या ती चारै संयुक्त सम्पुटनमा देखिने मानवीय सम्मोहन हो भनेर बुझ्नुपर्दछ । पहिलो राम्री तरुनी, दोस्रो हो धनद्रव्य तेस्रो हो आकर्षक पदमर्यादा र चौथो हो ज्ञानशक्ति या शारीरिक शक्ति । यी चारै कुरा एक ठाउँमा भएपछि लोक लठ्याउन अन्य कुनै कुराको आवश्यकता नै पर्दैन । यस प्रकारका शक्ति भएका व्यक्ति स्वार्थका लागि अनर्थ गर्न पुग्छन् । यहाँ विष्णुले पनि सद्वृत्तिवान्का पक्षमा लागेर असद्वृत्तिका समुदायलाई उछित्तो काड्ने उद्देश्यबाट अभिप्रेरित भएको देखिन्छ ।
एक प्रकारले नवपुस्तालाई आन्दोलनमा उतार्ने वृद्धपुस्ताका क्रियाकलाप र हीरा र कीराको भेदै नबुझी अग्निदाह गर्ने गराउने समूहलाई पनि मोहनी रूपका कार्य भनेर बुझ्न सकिन्छ । यसपछि गंगाको पवित्र कथा र गयाको महिमा वर्णन गरिएको छ । काशीपुरीको अतुल महिमा सारा पुराणले जसरी बताएका छन् त्यसैको अनुपालन यहाँ पनि गरिएको छ । यसैगरी, पुरुषोत्तम मास र पुरुषको आख्यानका साथै क्षेत्रको यात्रा कसरी गर्ने भनेर पनि बताइएको छ । प्रयागको महिमा, कुरुक्षेत्रको महत्त्व, हरिद्वारको महिमासँगै कामोदाख्यान पनि आएको छ भने बदरीनाथ धामको महिमासँगसँगै कामाख्या भगवतीको आख्यान जोडिएको छ ।
प्रभासको महिमा र पुराणपुराणन्तर्गतका आख्यान जडानका शैलीको पनि रोचक वर्णन भेटिन्छ । गौतम ऋषिको आख्यानपछि वेदपाठको विधिपछि गोकर्ण क्षेत्र र गोकर्णेश्वरको प्रताप वर्णनपछि लक्ष्मणाख्यान आएको छ । सेतुको महिमा र नर्मदा तीर्थको मुक्तकण्ठले वर्णन गरेको छ । यसैगरी अवन्तिको महिमापछि मथुराको परिचय दिएर वृन्दावनको महत्व प्रस्तुत गरिएको छ । वसुको ब्रह्मान्तिक गति वर्णनका साथै फेरि मोहनी अवतारले सम्पादन गरेका असल कार्य वर्णनकै सन्दर्भमा अङ्क, स्वर, छन्दको उत्पत्ति कसरी भयो भन्ने कुरो पनि आएको छ ।
ईसापूर्व पाँचौं शताब्दी र छैटौँ शताब्दीको माझका भनिएका आर्य भट्ट र ब्रह्मगुप्तले अङ्कको आविष्कार गरे भनिने आजको कुरोलाई पहिले सनक, सनन्दन, सनातन र सनत्कुमारले नारदलाई र नारदले ब्रह्मालाई ब्रह्माले आफ्ना दशपुत्रलाई सुनाएको कुरो आएको देख्दा नारदीय पुराणको समय पनि ईसापूर्व पाँचौँ र छैटौँ शताब्दीको मध्य हो भने कुरो मिल्यो भन्नुपर्ला ।
नारदीय पुराणका प्रतीक र यथार्थ
नारदीय पुराण र स्कन्दपुराणमा जति भूगोलको यथार्थ चित्र अरू कुनै पनि पुराणले प्रस्तुत गरेको देखिँदैन । नेपालको गोकर्णेश्वर या उत्तरबाहिनी वगमतीको महिमा जसरी हिमवत्खण्डले बताएको छ त्यही मात्रामा यसले पनि प्रस्तुत गरेको छ । पाशुपद् दर्शन र देवाधिदेव महादेव एवं विष्णुमा एकत्व दर्शनका लागि शैवक्षेत्र र वैष्णवक्षेत्रको समानान्तर महिमा वर्णन गरिएको छ । नारद जसरी ब्रह्माण्ड यात्री रहेका देखिन्छन् । उनलाई नायक बनाएको यो पुराण नारदजस्तै सबैलाई समान दृष्टिले हेर्ने र सर्वत्र सर्व कुराको संकेत गर्दै खगोलभूगोल र आचरण चिन्तन ज्ञानविज्ञानका क्षेत्रमा पनि समसामयिक पाइलाका डाम छाड्न सफल रहेको देखिन्छ । समाजका निवृत्तिमार्गी र प्रवृत्तिमार्गीका जीवनजगत्का विधिव्यवहारको सुन्दर चित्रणले भरिएको पुराण स्कन्द पुराणपछि नारदीय पुराण नै हो भन्ने यथेष्ट आधार यस पुराणका उत्तर भागले प्रस्तुत गरेको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर