काठमाडौं । सरकारले चिया निर्यातमा देखिएको समस्याको समाधान खोज्न उच्चस्तरीय विशेष समिति गठन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्दै गए पनि निर्यात प्रक्रियामा देखिएका प्राविधिक तथा व्यापारिक अवरोधले उद्योग क्षेत्रलाई चुनौती थपिरहेको छ ।
सोही समस्या समाधानका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको समितिलाई नेपाली चिया निर्यातमा देखिएका सबैखाले अवरोधहरूको अध्ययन गरी सुधारका उपाय सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । समितिले दुई साताभित्र विस्तृत प्रतिवेदन सरकारसमक्ष बुझाउनेछ । चिया व्यवसायीका अनुसार विभिन्न मुलुकले लागू गरेका कडा गुणस्तर मापदण्ड, प्राविधिक परीक्षण, प्रामाणीकरण प्रक्रिया तथा भन्सारसम्बन्धी जटिलताले निर्यातमा ढिलाइ र अतिरिक्त लागत बढाइरहेको छ । सोही कारण नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक बन्नु चुनौतीपूर्ण रहेको उनीहरूको भनाइ छ । सरकारद्वारा गठित समितिले तत्काल समाधान गर्न सकिने व्यवस्थागत सुधारदेखि दीर्घकालीन व्यापार रणनीतिसम्मका विषयमा सुझाव दिने र सोही प्रतिवेदनका आधारमा नीतिगत सुधार, व्यापार सहजीकरण र कूटनीतिक पहल अघि बढाउने तयारी गरिएको छ ।
निर्यात अवरुद्ध हुँदा १० लाख केजीभन्दा बढी चिया उद्योगमै कुहिने अवस्था आउँदा पनि सरकारले निर्यात सहजीकरण नगरेपछि उद्योग नै बन्द गर्न बाध्य भएको उद्योगीले बताएका छन् ।
समितिको नेतृत्व द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सह–सचिवले गर्नुहुनेछ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, परराष्ट्र, कृषि, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधिहरूका साथै भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकारीहरू पनि सहभागी छन् ।
उद्योगीहरूका अनुसार भारतले चिया निर्यातमा अवरोध गरेपछि इलामको सूर्योदय नगरपालिका क्षेत्रमा अर्थोडक्स चिया उत्पादन गर्ने ५३, इलाम नगरपालिका क्षेत्रमा अर्थोडक्स उत्पादन गर्ने १२ सहित झापामा सिटिसी चिया उत्पादन गर्ने ३० वटा उद्योग बन्द भएका छन् । त्यसैगरी ‘टी एलाइन्स अफ नेपाल’ (टान) मा आबद्ध इलाम, पाँचथर, धनकुटा र भोजपुरका समेत १६ उद्योग बन्द भएका छन् ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार उल्लेखित उद्योगहरूमा एक लाख मजदुर र किसानका ३० हजार घरपरिवार जोडिएका छन् । इलाममा वार्षिक ६५ लाख केजी र झापामा वार्षिक दुई करोड केजी चिया उत्पादन हुँदै आएको छ । भारतीय चिया बोर्डले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा भारत पुगेको झण्डै दुई लाख केजी चिया बजारमा जान नदिएर आयातकर्ताको गोदाममै थन्क्याएको र निर्यात अवरुद्ध हुँदा १० लाख केजीभन्दा बढी चिया उद्योगमै कुहिने अवस्था आउँदा पनि सरकारले निर्यात सहजीकरण नगरेपछि उद्योगीहरू उद्योग नै बन्द गर्न बाध्य भएका छन् ।
गत वैशाख १८ देखि भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ ‘स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि २१ दिनसम्म निर्यात ठप्प भएको थियो । व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ‘र्यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित जानकारी दिएपछि दुई दिन पुनः निर्यात भएको थियो । तर, भारतीय पक्षले निर्यातकर्ताको गोदाममै पुगेर गुणस्तर परीक्षणका नाममा नमुना संकलन गर्दै परीक्षण रिपोर्ट नआएसम्म चिया गोदामबाट बाहिर ननिकाल्न आदेश दिएपछि चिया निकासी पूर्णरूपमा ठप्प भएको र उद्योग नै बन्द गर्नुपरेको उद्योगीहरूले बताएका छन् ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर