मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशन सम्भवतः आज सम्पन्न गर्दै छ । असार ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने भनिए तापनि प्रतिनिधि व्यवस्थापन गर्न नसक्दा महाधिवेशन लम्बिन पुगेको छ । यो आलेख तयार पार्दासम्ममा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन साहको प्रस्तावमा सभापति पदमा रवि लामिछाने नै निर्विरोध निर्वाचित भइसकेका छन् भने सदस्यहरूका लागि मतदान हुँदै छ । सम्भवतः १० गते नै नभए पनि ११ गतेसम्ममा महाधिवेशन सम्पन्न भई रास्वपाले नयाँ कार्यसमिति पाउनेछ तर पदाधिकारीमा भने प्रायशः पुरानै दोहोरिने निश्चित जस्तै छ ।
प्रथम महाधिवेशनमार्फत रास्वपाले बहुदलीय पद्धतिलाई स्वीकार गरेको छ । महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा समाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा रास्वपालाई चित्रित गरिनुले नेपालको लोकतन्त्रमा आउन सक्ने सम्भावित खतरालाई पन्छाएर लोकतन्त्रवादीहरूलाई खुसीको सन्देश दिएको छ । वर्तमान संविधान सक्रिय रहेकै बेलामा सम्पन्न महाधिवेशनले संवैधानिक समाजवादलाई लक्ष्य बनाएको हुँदा सयौँ शहीदहरूको बलिदानीबाट प्राप्त संविधानको रक्षा पनि रास्वपाबाट हुन्छ भन्ने विश्वास दिलाउन सफल भएको छ । वर्तमान सरकार पूरै पाँच वर्ष टिक्छ भन्ने सञ्चार प्रवाह गरी राजनीतिक अस्थिरताको अन्त्य भएको सन्देश दिन पनि महाधिवेशन चुकेको छैन तर प्रत्यक्ष कार्यकारीका पक्षमा रास्वपा जानुले लोकतन्त्रलाई संस्थागत गर्ने दिशामा केही त्रासको सम्भावना भने बढाएको छ ।
गगन र रविको अंकमाल तथा महाधिवेशनमा गगनको उपस्थितिले राजनीतिमा कोही पनि स्थायी मित्र र स्थायी शत्रु हुँदैन भन्ने कुरालाई प्रत्यक्षै देखाएको अनुभव गरियो भने रवि र बालेनले गुट निर्माण नगर्न जोडका साथ निर्देशन दिनुले रास्वपाभित्र गुट निर्माण गर्न सुरु भइसकेको तथ्यलाई पनि उजागर गरिदियो ।
नेपाल जस्तो संवेदनशील राजनीति भएको मुलुकमा संसदीय व्यवस्थाबाट चुनिएर आएका कार्यकारी प्रधानमन्त्रीहरूले समेत कानुन मिच्दै शासन गरेका उदाहरणहरू विगतदेखि वर्तमानसम्म पर्याप्त छन् । संसद्बाटै चुनिएर संसद्को अपमान गर्दै निरंकुश शैलीमा प्रधानमन्त्रीहरू अघि बढेका दृष्टान्तहरू पनि आजसम्म रोकिन सकेका छैनन् । संसद्को उपेक्षा गर्दै व्यवस्थापिका र न्यायपालिकाका अधिकारसमेत आफ्नै पोल्टामा ल्याएर प्रधानमन्त्रीहरू अधिनायक हुन खोजेका प्रयासहरू पनि निरन्तर रूपमा भइरहेकै छन् । यस्तो मुलुकमा लोकतान्त्रिक आचरण र व्यवहार भएका कार्यकारी प्रधानमन्त्रीले त लोकतान्त्रिक पद्धतिबाट शासन व्यवस्था सञ्चालन गर्लान् तर सबैले जनताको मतको सम्मान गर्दछन् भन्ने अपेक्षा गर्न ज्यादै मुस्किल पर्दछ । त्यसैले प्रत्यक्ष कार्यकारीमा रास्वपाले पुनः एकपटक पुनर्विचार गर्नुपर्ने देखिन्छ ।
महाधिवेशन समुद्घाटन सम्पन्न हुँदा नहुँदैदेखि केही विषयहरू निकै चर्चामा आए । रविले बल आफ्ना खुट्टामा आए पनि गोल हान्न बालेनतिरै दिन्छु भनेको, रवि र बालेन दुबैले गुट निर्माण नगर्न उर्दी जारी गरेको, नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका रविले अंकमाल गरेको र गगनले दिएको सन्तुलित, वैचारिक एवं भावनात्मक मन्तव्यले धेरैको मन छोयो । गगन र रविको अंकमाल तथा महाधिवेशनमा गगनको उपस्थितिले राजनीतिमा कोही पनि स्थायी मित्र र स्थायी शत्रु हुँदैन भन्ने कुरालाई प्रत्यक्षै देखाएको अनुभव गरियो भने रवि र बालेनले गुट निर्माण नगर्न जोडका साथ निर्देशन दिनुले रास्वपाभित्र गुट निर्माण गर्न शुरु भइसकेको तथ्यलाई पनि उजागर गरिदियो ।
राजनीतिमा जे बोलिन्छ, त्यो गरिन्न र जे बोलिँदैन, त्यही गरिन्छ भन्ने गलत भाष्य स्थापित भएको मुलुक नेपाल हो । त्यसैले रविले पटक पटकका मन्तव्यमा बालेनलाई नै अघि सारिरहेका कुरामा शंका गर्नेहरू पनि प्रशस्तै भेटिएका छन् । भारतले रविलाई महत्त्व दिएको देखाउनु र गगन एवं रविका बीचमा सौहार्दता बढे झैँ देखाइनुले हरेक कुरामा शंका गर्नेलाई ठाउँ दिए पनि राजनीतिक अस्थिरताको विरोध गर्दै उदाएको रास्वपाले त्यस्तो गल्ती तत्कालै गरिहाल्दैन भन्ने आशा गर्नुपर्दछ । स्थानीय तहदेखि प्रदेश तहसम्मका निर्वाचनहरूमा गुट निर्माणका झिल्काहरू देखिए पनि केन्द्रीय महाधिवेशनमा आइपुग्दा त्यसलाई उदांगो हुन नदिएबाट रास्वपा एकढिक्का भएरै अघि बढ्छ भन्ने विश्वास गर्न सकिन्छ ।
बालेन समूह र रविको पार्टी मिलेर बनेका शक्तिशाली रास्वपामा गुटहरू त पक्कै छन् र यसलाई पूर्णरूपमा विसर्जन गर्न मुस्किल नै पर्दछ । त्यसैको फलस्वरूप पुराना दलहरूमा रहेका कमजोरीहरू रास्वपाभित्र प्रवेश गर्न नदिने भन्दै आइएको भए तापनि केन्द्रीय महाधिवेशनका निम्ति प्रतिनिधिहरू चयन गर्ने क्रममा केही विवाद देखिए । यसले रास्वपालाई पनि अब चोखो रहन दिने सम्भावना त कम देखिएको छ तर पनि हाललाई यो समस्या टर्नुलाई सुखद् नै मान्नुपर्दछ । पुराना दलहरूलाई जुन रोगले खोक्रो बनाउँदै लगेको थियो, रास्वपमा प्रथम महाधिवेशन सम्पन्न नहुँदै भित्रिएको त्यही रोगले नयाँ दललाई समेत एउटा सबल, सक्षम र विवादरहित दलका रूपमा लामो समय टिक्न मुस्किल बनाउला जस्तो देखिनु दुर्भाग्य नै हो ।
पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका नेता बालेन साहका बीच उत्पन्न हुनसक्ने टकरावले पार्टीलाई कमजोर बनाउँछ र सरकार धर्मराउँछ कि भन्ने आशंकलाई चिर्न पनि यतिबेला यो पार्टी सफल भएको छ । जनताको चाहना दिगो सरकार नै हो र कालखण्डका लागि मात्रै दिगो नभई जनताका काममा, सेवा प्रवाहमा, राष्ट्रियताका सवालमा, लोकतन्त्रका पक्षमा र सुशासनका पक्षमा दिगो सरकारको अपेक्षा हो । सय दिन नपुग्दै सबै पक्षमा के भए र के हुन बाँकी छ भनिहाल्ने समय भएको छैन र पनि जनताको चाहना पूरा गर्न रास्वपाको सरकार चुक्दैन भन्ने आशा गरिएको छ ।
आजका मितिसम्म पार्टी सभापति रवि लामिछानेले हाम्रो सरकार भन्दै आएको सुनेका जनताले प्रधानमन्त्री बालेनले रास्वपाको सरकार भनेको सुन्न पाएका थिएनन् तर महाधिवेशन समुद्धाटन समारोहमा उपस्थित भएर प्रधानमन्त्रीले नै हाम्रो पार्टी भनेको सुनेपछि रास्वपा एक छ र हुन्छ भन्ने सन्देश रास्वपाका समर्थकले पाउनु उनीहरूका लागि मात्रै खुसीको खबर नभई दिगो सरकारको अपेक्षा गरेका सबैका लागि हो ।
एउटा तितोसत्य के हो भने बालेन र रवि सुपर ग्लुले जोडिएकै दुई पात्र हुन् । बालेन रास्वपामा भित्रिनु अघि बालेनलाई प्रवेश गराउने रविको कति चाहना थियो वा रास्वपामा गएर चुनाव लड्ने बालेनको कति इच्छा थियो त्यो उनीहरूले नै जान्ने कुरा हो । त्यो सुपर ग्लु चुनावमा जित्नुपर्ने बाध्यताको उपज हो वा अन्य कारणले हो भन्ने कुरा पनि सामान्य नागरिकका लागि पहुँच बाहिरकै हो । बालेनले निकै पछिसम्म पनि रास्वपाको सदस्य भएको कतै स्वीकार गरेको वा गर्वसाथ भनेको नसुनिँदा सर्वसाधारणले शंका गर्नु स्वाभाविकै पनि थियो तर हालका लागि बालेनले रास्वपाको महाधिवेशनमा उभिएर मन्तव्य दिएपछि ती सबै शंकाहरू मेटिए जस्तै भएको छ ।
यद्यपि रवि लामिछानेको बाध्यता हो कि स्वाभाविक प्रस्फुटन हो, उनले बारम्बार बालेनलाई सक्षम एवं असल नेताकै रूपमा प्रस्तुत गर्दै आएका छन् । रविले बारम्बार सरकारको प्रशंसा गरिरहे तर बालेनको मन्तव्यमा भने रविका प्रति र रास्वपा पार्टीको स्थापनाकर्ताहरू प्रति त्यस्तो कुनै प्रशस्ती सुनिएन । यसरी प्रस्तुत हुने भन्ने उनीहरू दुई बीचको समझदारी भएको भए त्यो हृदयतः स्वागतयोग्य कुरा हो तर रविले एकोहोरो रोटी पकाइरहनु पर्ने भयो भने एकोहोरो रोटी पाक्दैन भन्ने उखानै छ र यसले दीर्घकालमा कसैलाई फाइदा गर्दैन ।
रास्वपा अहिले नेपालको सबैभन्दा ठूलो र बलियो पार्टी हो भन्नेमा कसैलाई द्विविधा छैन । वि.सं. २०७९ को निर्वाचनको मुखमा स्थापित पार्टीले यति छोटो समयमै यति प्रगति गर्नु चानचुने कुरा होइन तर अब यो अवस्थामै पार्टीलाई टिकाउनु सबैभन्दा ठूलो चुनौती हो । पार्टी दह्रो भएपछि अवसरवादीहरूको हालीमुहाली बढ्नु स्वाभाविकै हो र यसबाट नेताहरू जोगिन सक्नैपर्दछ । निहित स्वार्थका लागि एक नेतालाई महान् र अर्कोलाई तुच्छ देखाएर अवसरको खोजी गर्नेहरू रास्वपाभित्र प्रशस्तै देखिइसकेका छन् । बालेनको समूहबाट आएकाले बालेनलाई र रविको समूहकाले रविलाई महत्व दिनु त स्वाभाविकै हो तर बापट्टिको न आमापट्टिकाले यस्तो गर्न थाले भने पार्टी कमजोर हुँदै जान्छ भन्ने पुराना पार्टीबाट नयाँ पार्टीकाले सिकेकै होलान् भन्ने ठान्नुपर्दछ ।
पार्टी सत्तामा पुगेपछि सुकिलामुकिलाहरूको हालिमुहाली बढ्न थाल्छ र त्यसले पार्टीलाई सिध्याउँछ भन्ने खबरदारी नेपाली राजनीतिका महान् नेता विश्वेश्वरप्रसाद कोइरालाले उहिल्यै गरेका थिए । हुन त स्थापनाकालदेखि नै रास्वपा सुकिलामुकिलाहरूकै पार्टी हो र मन्त्री परिषद्का सदस्यहरूको सम्पत्ति विवरणले पनि यसलाई पुष्टि गरेकै छ तर पनि धनीबाट भन्दा पनि अवसरवादीहरूबाट जोगिनु यसका लागि चुनौती हो । नवप्रवेशीहरूको स्वार्थ जति खतरनाक राजनीतिक दलका लागि अरु केही हुँदैन । आज यो पार्टीमा र भोलि अर्को पार्टीमा दौडिँदै दुनो सोझ्याउनेहरूले कांग्रेस र एमालेलाई रसातलमा पुर्याएको रास्वपाका नेताहरूले निश्चय नै देखेका छन् ।
रास्वपाले लोकतन्त्रलाई अंगाले पनि महाधिवेशनको निर्वाचन आउनुभन्दा धेरै अघिदेखि सभापति र वरिष्ठ नेता निर्विरोध गर्ने समाचार प्रवाह गरियो । त्यसभन्दा माथि उठेर लोकतान्त्रिक पार्टीमा निर्वाचनमा अधिकारप्राप्त जो कोही लड्न पाउँछन् भनिएको भए सुनमा सुगन्ध हुने थियो । यो त उही एमालेमा केपी ओली निर्विरोध हुनैपर्ने नभए भीम रावलको जस्तै अवस्था सिर्जना हुने भनेजस्तै हुन पुग्यो ।
यसबाट मात्र नभई रास्वपाले जान्नेलाई छान्ने अन्तर्गत प्राथमिकता दिइएको भनिएका खगेन्द्र सुनार जस्ता व्यक्तिहरू पनि सबैभन्दा ठूलो र सत्ताधारी पार्टीका निमित्त भोलि गएर टाउको दुखाई नबन्लान् भन्न सकिन्न । कहिले शिक्षक पिट्ने कुरा गर्ने त कहिले पाहुना बोलाएर मन्तव्यका लागि मञ्च दिने अनि अर्काको मञ्चमा उभिएर बोल्ने भन्दै उनै पाहुनालाई जथाभावी गाली गर्ने व्यक्तिलाई माननीय जस्ता पदमा राख्ने बानी रास्वपाले बस्याल्यो भने यो अरू कसैका लागि नभई रास्वपाकै लागि घातक हुन्छ भन्ने कुरा नेताहरूले बुझेकै होलान् जबकि मुलुकभर गगन थापाको प्रशंसा भएको छ र रास्वपाकै सदस्यहरूले समेत ताली पिटेका छन् तर खगेन्द्रलाई पचेको छैन । जान्नेलाई छान्ने मध्ये गालीप्रवीण पनि एक सांसद् बनाउनु पर्दछ भन्ने मान्यता रास्वपाले राखेको हो भने बेग्लै कुरा हो ।
मुलुकको हित एकमात्र स्वार्थ राखेका कार्यकर्ताहरू रहेको दलका रूपमा रास्वपालाई विकास गर्ने लक्ष्य राखिएको थियो । व्यक्तिगत स्वार्थलाई तिलाञ्जलि दिएर राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठान्नेहरू मात्रै रास्वपामा रहन सक्ने वातावरण बनाउने ध्येय यसका संस्थापकहरूले राखेको प्रचार गरिँदै आइएकै हो । आफूलाई पद प्राप्त हुँदा त्यसलाई गौण ठानेर मित्रलाई सुम्पिन सक्ने नेपाली कांग्रेसका गणेशमान सिंह जस्ताहरू मात्रै रहेको पार्टी रास्वपा बनाउने उद्देश्य राखेको ठानिएको थियो तर महाधिवेशनमा देखिएको प्रतिनिधि चयनको विवादले रास्वपाप्रति आस्थावान् र आशा राखेकाहरूको ठूलो जमातलाई निराश तुल्याएको छ ।
पहिलो महाधिवेशनमै यस्ता कुराहरूले प्रविष्टि पाउँदा भोलिका लागि सुखद अवसरको छनक दिँदैनन् । वि.सं. २०७९ पछि वैकल्पिक दल जन्मिएको भनिए पनि सबैलाई पछि पारेर यो दल मूलधारको सबैभन्दा ठूलो दल बनिसकेको छ । अब यो रास्वपाको भूमिका फेरिएको छ र यसले पहिलेको वैकल्पिक दलको प्रतिपक्षी भूमिकाबाट माथि उठेर राज्यको भाग्यरेखा कोर्न सक्नैपर्दछ । राष्ट्रिय सन्दर्भमा जिब्रो चिप्लिए पनि मिलाउन सहज हुन्छ तर अन्तर्राष्ट्रिय सवाल र राष्ट्रियताका विषयमा सत्ताधारी दल र सरकार दुबै गम्भीर हुनैपर्दछ । जनताबाट प्राप्त मतलाई घमण्ड गर्ने अवसर प्रदान गरेको ठान्नुभन्दा मुलुक निर्माणको जिम्मेदारी हो भन्ने बुझेमा नेपाल र नेपाली जनताले सुख पाउने छन् ।
रास्वपाले लोकतन्त्रलाई अँगाले पनि महाधिवेशनको निर्वाचन आउनुभन्दा धेरै अघिदेखि सभापति र वरिष्ठ नेता निर्विरोध गर्ने समाचार प्रवाह गरियो । त्यसभन्दा मािथ उठेर लोकतान्त्रिक पार्टीमा निर्वाचनमा अधिकारप्राप्त जो कोही लड्न पाउँछन् भनिएको भए सुनमा सुगन्ध हुने थियो । यो त उही एमालेमा केपी ओली निर्विरोध हुनैपर्ने नभए भीम रावलको जस्तै अवस्था सिर्जना हुने भने जस्तै हुन पुग्यो । नेपाली कांग्रेसका कैयन् गल्ती होलान् र पनि चाहे गिरिजाप्रसाद कोइरालाले होस् या शेरबहादुर देउवाले नै किन नहोस्, आफ्ना प्रतिस्पर्धीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको सबैले देखिएकै छ । यद्यपि रास्वपाले सफलतापूर्वक प्रथम महाधिवेशन सम्पन्न गरेको छ र भोलिका दिनमा लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियाप्रति यसको विश्वास अझ प्रगाढ देखिने छ भन्ने विश्वासका साथ हार्दिक शुभकामना !






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर