भक्तपुर । “हाम्रो कला, हाम्रो संस्कृति : मध्यपुर थिमि हाम्रो सम्पत्ति” भन्ने मूल नारालाई आत्मसात गर्दै मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विकासमुखी बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले ३ अर्ब ७१ करोड ८७ लाख ४१ हजार रुपैयाँको बजेट ल्याउँदै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा संरक्षण र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको छ।
भक्तपुर जिल्लाका चार नगरपालिकामध्ये सबैभन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको मध्यपुर थिमिले आगामी वर्षलाई विकास विस्तार र सेवा सुधारको वर्षका रूपमा अघि बढाउने लक्ष्य लिएको छ।
नगरसभामा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख विजय कृष्ण श्रेष्ठले बजेट वक्तव्य प्रस्तुत गर्नुभएको थियो।
नगर प्रमुख श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मध्यपुर थिमिको मौलिक कला, संस्कृति, सम्पदा र ऐतिहासिक पहिचानलाई संरक्षण गर्दै आधुनिक र समृद्ध नगर निर्माण गर्ने लक्ष्य रहेको बताउनुभएको थियो। उहाँले नगरको विकास केवल भौतिक संरचनामा सीमित नभई शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, वातावरण संरक्षण र नागरिक सेवाको गुणस्तर सुधारसँग जोडिएको बताउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोही आधारमा तयार गरिएको उल्लेख गर्नुभएको थियो।
नगर प्रमुख श्रेष्ठले नगरपालिकाले नागरिकमैत्री सेवा प्रवाह, दिगो पूर्वाधार विकास र स्थानीय स्रोत साधनको प्रभावकारी उपयोगमार्फत मध्यपुर थिमिलाई व्यवस्थित र समृद्ध नगर बनाउने अभियानलाई निरन्तरता दिने बताउनुभयो।
नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले बुधबार सम्पन्न नगर सभामा प्रस्तुत गरेको बजेटले स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र नगर विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। जिल्लाका अन्य तीन पालिकाको तुलनामा मध्यपुर थिमिको बजेट आकार सबैभन्दा ठूलो रहेको छ।
प्रस्तुत बजेटमा पुँजीगत खर्चतर्फ ६० प्रतिशत र चालुतर्फ ४० प्रतिशत रकम विनियोजन गरिएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका योजनालाई तीव्रता दिने तथा नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ।
मध्यपुर थिमि नगरपालिकाले बजेटको प्रमुख उद्देश्यका रूपमा निःशुल्क स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको सुनिश्चिततालाई अघि सारेको छ। त्यसका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा ४६ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ।
नगरपालिकाले आधारभूत स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा नागरिकको सहज पहुँचमा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य लिएको छ। त्यस्तै विद्यालय शिक्षाको गुणस्तर सुधार, शैक्षिक पूर्वाधार विकास र प्रभावकारी सिकाइ वातावरण निर्माणमा बजेट केन्द्रित गरिएको छ।
भौतिक पूर्वाधारतर्फ मध्यपुर थिमिले सबैभन्दा ठूलो लगानी गर्ने भएको छ। नगरपालिकाले यस शीर्षकमा १ अर्ब १८ करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरेको छ। सडक, ढल, खानेपानी, सार्वजनिक संरचना निर्माण तथा नगरको दीर्घकालीन विकाससँग जोडिएका आयोजनालाई बजेटमा समेटिएको छ।
आन्तरिक स्रोत व्यवस्थापनतर्फ नगरपालिकाले आगामी आर्थिक वर्षमा ४९ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ। राजस्व, सेवा शुल्क र दस्तुरबाट प्राप्त हुने आम्दानीलाई बजेट कार्यान्वयनको आधार बनाइएको छ।
प्रशासनिक खर्च नियन्त्रणमा समेत नगरपालिकाले ध्यान दिएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ३१ करोड रुपैयाँ विनियोजन गरिएको छ। जिल्लाका अन्य पालिकाको तुलनामा मध्यपुर थिमिको प्रशासनिक खर्च कम रहेको देखिन्छ
प्रशासनिक खर्च नियन्त्रणमा पनि मध्यपुर थिमि अन्य पालिकाभन्दा अगाडि देखिएको छ। कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ नगरपालिकाले ३१ करोड रुपैयाँ मात्र विनियोजन गरेको छ। भक्तपुर नगरपालिकाले ३५ करोड, चाँगुनारायणले ३५ करोड र सूर्यविनायकले ४६ करोड रुपैयाँ प्रशासनिक खर्च अनुमान गरेका छन्।
यसैबीच बजेट प्रस्तुत गर्ने क्रममा उपप्रमुख श्रेष्ठले सशस्त्र जनयुद्धका शहीदलाई समेत स्मरण गर्नु भएको छ। उहाँले विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै नगर विकासको यात्रालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
भक्तपुरका चार नगरपालिकामध्ये मध्यपुर थिमिको बजेट आकार ठूलो भए पनि खर्चको प्राथमिकता विकासमुखी रहेको देखिन्छ। शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई केन्द्रमा राखिएको बजेटले आगामी वर्ष नगरको सेवा प्रवाह र विकास निर्माणमा थप गति दिने अपेक्षा गरिएको छ।
स्वास्थ्य क्षेत्रमा नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नीति लिइएको छ। स्वास्थ्य संस्थाको क्षमता विस्तार, जनस्वास्थ्य कार्यक्रम सञ्चालन तथा नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने योजनालाई प्राथमिकता दिइएको छ।
मध्यपुर थिमिको ऐतिहासिक पहिचान र सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै पर्यटन विकास गर्ने योजना पनि बजेटको महत्वपूर्ण पक्ष बनेको छ। नगरभित्र रहेका ऐतिहासिक मठ–मन्दिर, पाटी–पौवा, बहाल–बही, देवस्थल तथा अन्य सांस्कृतिक सम्पदाको संरक्षण, पुनःनिर्माण र प्रवर्द्धनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ।
नगरपालिकाले सांस्कृतिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउने लक्ष्य राखेको छ। मध्यपुर थिमिको मौलिक कला, जात्रा, पर्व र संस्कृतिलाई पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने नीति लिइएको छ।
कृषि क्षेत्रको विकास, स्थानीय उत्पादनको प्रवर्द्धन र रोजगारी सिर्जनालाई पनि बजेटमा समेटिएको छ। कृषि उत्पादन वृद्धि, स्थानीय वस्तुको बजारीकरण, उद्यमशीलता विकास तथा सीपमूलक कार्यक्रम सञ्चालन गर्ने योजना नगरपालिकाले अघि सारेको छ।
सामाजिक विकासतर्फ ज्येष्ठ नागरिक सम्मान, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, दलित, जनजाति तथा आर्थिक रूपमा कमजोर वर्गको उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख विजय कृष्ण श्रेष्ठले नगरको समृद्धि, नागरिकको जीवनस्तर सुधार र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताउनुभएको थियो। उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सम्पदा संरक्षणमार्फत मध्यपुर थिमिलाई थप व्यवस्थित र समृद्ध नगर बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।
नगरसभाले नीति तथा कार्यक्रम, बजेट र विभिन्न विषयगत समितिका प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको छ। नगरपालिकाले बजेटको प्रभावकारी कार्यान्वयनमार्फत सांस्कृतिक पहिचानसहितको आधुनिक, व्यवस्थित र नागरिकमैत्री मध्यपुर थिमि निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर