इतिहासले देखाउँछ कि समाजलाई नयाँ दिशा दिने विद्वानहरू सधैँ सबैका लागि समान रूपमा स्वीकार्य हुँदैनन् तर समयसँगै तिनका विचार, दृष्टिकोण र योगदानले उनीहरूलाई दीर्घकालसम्म स्मरणीय बनाउँछ । नेपालमा वास्तुकला, सम्पदा संरक्षण, विपद् व्यवस्थापन, वातावरणीय चिन्तन र दिगो विकासलाई एकीकृत रूपमा व्याख्या गर्दै निरन्तर सार्वजनिक बहस अघि बढाउने विद्वानहरूमध्ये प्राडा.जीवराज पोखरेल अग्रपङ्क्तिमा पर्नुहुन्छ । नेपालको उज्ज्वल भविष्य निर्माणका गर्न हरित उद्यम विकासका लागि बाँसको प्रयोग र प्रयोजनका सन्दर्भमा निरन्तर कलम चलाइरहनुभएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले पहिलो राष्ट्रिय बाँस सम्मेलन, अनुसन्धान, उद्यम विकास तथा ‘बाँस राजधानी’ अवधारणामार्फत बाँसलाई विकासको केन्द्रमा राख्ने अभियान सञ्चालन गरिरहेको छ । यस अभियानको राष्ट्रिय बहस र चर्चा भएको छ । यस अभियानलाई बौद्धिक आधार प्रदान गर्न प्राडा.पोखरेलका लेखहरूले उल्लेखनीय भूमिका खेलेका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का पूर्वउपकुलपति, प्राध्यापक तथा अनुसन्धानकर्ता पोखरेलले शैक्षिक ज्ञानलाई कक्षाकोठामा सीमित नराखी नीतिनिर्माण, स्थानीय अभ्यास र हरित विकाससँग जोड्ने प्रयास गर्दै आउनुभएको छ । उहाँ राष्ट्रियस्तरको लेखक तथा नियमित स्तम्भकार पनि हुनुहुन्छ । हिमालय टाइम्स राष्ट्रिय दैनिक, हिटा अनलाइनदेखि अन्य विभिन्न अनलाइन र पत्रपत्रिकामा उहाँले हरित क्रान्तिबारे कलम चलाउँदै र विचार प्रक्षेपण गर्दै आउनुभएको छ । बाँसबारेका उहाँका प्रकाशित लेखहरूले हरित निर्माण, स्थानीय स्रोतको उपयोग तथा जलवायु अनुकूल विकासका विषयमा राष्ट्रिय बहसलाई नयाँ आयाम दिएका छन् ।
ज्ञान, अनुसन्धान र सार्वजनिक सरोकार
प्राडा.पोखरेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक, पूर्वडिन तथा नास्टका पूर्वउपकुलपति समेतको जिम्मेदारीका आधारमा वास्तुकला, सम्पदा संरक्षण, शहरी विकास र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा उहाँको लामो शैक्षिक तथा अनुसन्धानात्मक अनुभव रहेको छ । उहाँका लेखहरूको मुख्य विशेषता प्राविधिक विषयलाई सामाजिक सरोकारसँग जोड्ने क्षमता हो । त्यसैले उहाँका विचार शैक्षिक वृत्तमा मात्र सीमित नरही सार्वजनिक बहस र नीतिनिर्माणसम्म प्रभाव पार्न सफल भएका छन् । सैद्धान्तिक बहसमात्र होइन व्यावहारिक रूपमा समेत उहाँको सक्रियता अरूका लागि प्रेरणाको स्रोत बन्नसक्तछ ।
बाँस परम्परा र आधुनिक विकास
४ मार्च २०२५ को एउटा अनलाइनमा प्रकाशित लेखमा उहाँले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको प्रथम राष्ट्रिय बाँस सम्मेलनलाई स्थानीय सरकारको दूरदर्शी पहलका रूपमा व्याख्या गर्नुभएको छ । स्थानीय स्रोतलाई विकाससँग जोड्ने यस्ता प्रयासले अन्य स्थानीय तहलाई पनि प्रेरणा दिनसक्ने उहाँको निष्कर्ष रहेको छ । २३ डिसेम्बर २०२५ मा प्रकाशित अर्को लेखमा प्राडा.पोखरेलले दिक्तेलमा आयोजित राष्ट्रिय बाँस सम्मेलनले बाँसलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको उल्लेख गर्नुभएको छ ।
उहाँले नगरप्रमुख तीर्थराज भट्टराईको आमरण अनशनपछि सरकारले बाँसको प्रयोगलाई प्रोत्साहन गर्ने सहमति जनाएको र त्यसको परिणामस्वरूप शहरी विकास तथा भवन निर्माण विभागले बाँस संरचनाको डिजाइनसम्बन्धी म्यानुअल प्रकाशन गरेको उल्लेख गर्नुभएको थियो । बाँसमा आधारित निर्माणलाई मुख्यधारको निर्माण उद्योगको हिस्सा बनाउन अझ थप मापदण्ड र नियमावली आवश्यक रहेको धारणा उहाँले लेखमा उद्धृृत गर्नुभएको छ । ‘उहाँका अनुसार बाँस परम्परागत प्रयोगमा सीमित सामग्री नभई वैज्ञानिकरूपमा प्रमाणित भूकम्प प्रतिरोधी र वातावरणमैत्री निर्माण सामग्री हो । शहरी विकास तथा भवन निर्माण विभागले बाँस संरचनासम्बन्धी मापदण्ड (म्यानुअल) जारी गर्नु नेपालमा हरित निर्माणको महत्त्वपूर्ण सुरुवात भएको उहाँको धारणा छ । उक्त प्रक्रियामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको निरन्तर पहल र नगरप्रमुख तीर्थराज भट्टराईको सक्रिय चासोले सकारात्मक भूमिका खेलेको उहाँले उल्लेख गर्नुभएको छ ।
हरित आवासको बहस
२०८३ जेठ २ गते प्रकाशित लेखमा प्राडा.पोखरेलले बागमती प्रदेश सरकारले सुरु गरेको एक हजार घर निर्माण कार्यक्रमलाई स्वागतयोग्य भन्दै त्यसलाई स्थानीय स्रोतमा आधारित, कम लागतको र वातावरणमैत्री प्रविधिसँग जोड्न सुझाव दिनुभएको छ । उहाँका अनुसार सिमेन्ट र स्टिलमा आधारित निर्माण प्रणाली महँगो त हुन्छ नै वातावरणीय दृष्टिले पनि चुनौतीपूर्ण हुन्छ । यसको विकल्पका रूपमा नेपालमै पर्याप्त उपलब्ध बाँस र लिसाइलो रातोमाटो प्रयोग गर्न सकिने वैज्ञानिक आधार उहाँले प्रस्तुत गर्नुभएको छ ।
अनुसन्धान तथा अन्तर्राष्ट्रिय अभ्यासलाई उद्धृत गर्दै उहाँले बाँसबाट निर्मित संरचनालाई इँटाको गारोसँग तुलनीय रूपमा बलियो मानिएको उल्लेख गर्नुभएको छ । उहाँले औँल्याउनुभएको अर्को महत्त्वपूर्ण पक्ष कार्बन उत्सर्जनसँग सम्बन्धित छ । एक टन सिमेन्ट उत्पादन गर्दा करिब एक टन कार्बन डाइअक्साइड उत्सर्जन हुने तर बाँसले कार्बन अवशोषण गर्ने भएकाले उहाँले बाँसलाई ‘हरितनिर्माण सामग्रीमात्र नभई जलवायु न्यायको उपकरण’ का रूपमा समेत विश्लेषण गर्नुभएको छ ।
दिक्तेलको अभियान र बौद्धिक आधार
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले पहिलो राष्ट्रिय बाँस सम्मेलन, अनुसन्धान, उद्यम विकास तथा ‘बाँस राजधानी’ अवधारणामार्फत बाँसलाई विकासको केन्द्रमा राख्ने अभियान सञ्चालन गरिरहेको छ । यस अभियानको राष्ट्रिय बहस र चर्चा भएको छ । यस अभियानलाई बौद्धिक आधार प्रदान गर्न प्राडा.पोखरेलका लेखहरूले उल्लेखनीय भूमिका खेलेका छन् । उहाँले यसलाई केवल एउटा स्थानीय परियोजनाका रूपमा नभई नेपालका अन्य स्थानीय तहले पनि अनुसरण गर्नसक्ने हरित विकासको नमुनाका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँको हौसलापूर्ण आलेखले बाँसलाई ग्रामीण अर्थतन्त्र, रोजगारी, वातावरण संरक्षण र आधुनिक निर्माण प्रविधिसँग जोड्ने राष्ट्रिय बहसलाई थप सशक्त बनाउन मद्दत पुर्याएको मेरो ठम्याइ छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने : प्राडा.जीवराज पोखरेलले आफ्ना लेख, अनुसन्धान र सार्वजनिक बहसमार्फत बाँसलाई परम्परागत उपयोगको सीमाबाट बाहिर निकालेर दिगो विकास, हरित निर्माण र जलवायुमैत्री अर्थतन्त्रसँग जोड्ने प्रयास गर्नुभएको छ । नेपालजस्तो जलवायु संवेदनशील र विकासशील देशका लागि स्थानीय स्रोतमा आधारित विकासको उहाँको दृष्टिकोण नीतिगत बहसका लागि महत्त्वपूर्ण मान्न सकिन्छ । स्थानीय सरकारदेखि प्रदेश र संघीय तहसम्मलाई हरित निर्माणको अवधारणा विस्तार गर्न उहाँले प्रस्तुत गरेका विचारहरूले भविष्यको विकास नीति, प्रविधि र समाजलाई वातावरणमैत्री दिशातर्फ उन्मुख गराउन प्रेरणा दिनसक्छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दृष्टिकोणलाई राष्ट्रिय बहस गराउनु हुने प्राडा.जीवराज पोखरेलप्रति हार्दिक साधुवाद ।
(लेखक भट्टराई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख हुन् ।)







जय कला क्रान्ति !!!