‘आँखाले देख्ने संसार सबैले उही हो, आगोले पोल्दा र तुसारोले ठिहिर्याउँदा उत्पन्न हुने अनुभूति सबैका एकै हुन् । दुःख र सुखले सिर्जना गर्ने मनको स्थिति सायद सबैको एउटै हो । फेरि पनि किन पृथकतामा अर्थिन्छ मान्छे ? किन बुझिन्छ मान्छे उचाइ र निचाइमा ? किन अस्तित्ववान् छन् त्यसरी भिन्न तुल्याइदिने तराजुहरू समाज व्यवस्थाभित्र ?’
लेखकले पात्रहरूको छनोट र उनीहरूको मनोदशाको चित्रण निकै सूक्ष्म रूपमा गरेका छन् । एकातिर रमणको न्यायप्रतिको निष्ठा, अर्कोतिर नक्खीको आफ्नो प्रेम र परिवारबिचको छटपटीलाई देखाएका छन् । कथामा पछिल्लो क्रममा जोडिन आएको रिदमको आर्थिक चक्रव्यूहभित्र रुमल्लिएको घटनाले पनि पाठकलाई बाँधिरहन्छ ।
उल्लिखित भनाइ शिखा बुक्सद्वारा प्रकाशित डा.महेन्द्रकुमार मल्लद्वारा लिखित उपन्यास ‘नक्खी’को ब्लर्ब अंश हो । यी हरफहरूले नीलो ग्रह मानिएको पृथ्वी वा ब्रह्माण्डको एउटा शाश्वत सत्यलाई आत्मसात् गर्छ । प्रस्तुत कृति ‘नक्खी’ हाम्रै नेपाली समाजको यही तीतो यथार्थलाई उद्भाषित गर्ने उपक्रममा देखिन्छ । समाजमा विषमताले सिर्जना गरेका त्रासद वर्तमान ‘नक्खी’मा छर्लङ्ग देख्न सकिन्छ ।
प्रकृतिले मानिस-मानिसबीच कुनै भेद गरेको छैन । घामको ताप, पानीको शीतलता र पीडाको आँसु सबैका लागिसमान हुन् । तथापि यही प्राकृतिक रूपमा समान मानव जाति नै आफैँ मानवनिर्मित समाजव्यवस्थाभित्र प्रवेश गर्दा अनेक टुक्रामा विभाजित भएको भेट्टाउँदछ । किन मान्छे तथाकथित उचाइ र निचाइमा बुझिन्छ र बुझ्न खोज्छ ? किन समाजमामानिसहरूबीच नै एकाएक विभेद र भिन्नताका तराजु अस्तित्वमा आउँछन् र अटाउँछन् ?
उपन्यासकार मल्लले प्रस्तुत उपन्यासमा यही गहन र गम्भीर दार्शनिक जिज्ञासाको शमन गर्ने मार्ग खोज्ने दुःसाहस गरेका छन् । उनले यही कठोर समाज व्यवस्थाको जडलाई प्रस्तुत गर्नपश्चिम नेपालको सामाजिक परिवेशमा छिरेर त्यहाँ फ्रचलित निकै दुरुह, त्रूर र कारुणिक पाटोलाई उजागर गरेका छन् । विशेषतः नेपालको पश्चिमी भेगको सामाजिक परिवेश, जातीय सङ्कीर्णता र महाव्याधिको समयमा श्रमजीवी वर्गले भोगेका आर्थिक सङ्कटलाई समुच्चयमा यस उपन्यासले मुख्य विषयवस्तुका रूपमासुन्दर ढङ्गले बुनेको छ ।
डा.मल्लको उपन्यास ‘नक्खी’को केन्द्रमा मुख्य दुई पात्र छन्- रमण र नक्खी । रमण तथाकथित नेपाली समाजको तल्लो जातको प्रतिनिधित्व गर्ने एक सचेत युवा हो । सचेत यस कारण पनि हो कि उसले स्कुले शिक्षादेखि नै उत्कृष्ट हुँदै स्नातकसम्मको अध्ययन पूरा गरेको देखिन्छ । अर्कोतर्फ नक्खी नेपालको त्यही समाजको उच्च र सम्भ्रान्त मानिने ठकुरी खान्दानकी हुकुम ठकुरी र सुनकेस्राकी दोस्रो सन्तानका रूपमा जन्मिएकी छोरी हुन् ।
भौगोलिक रूपमा विकट र सांस्कृतिक रूपमा जड परम्परावादी सोचले ग्रस्त पश्चिम नेपालको पृष्ठभूमिमा यी दुईविपरीत ध्रुवका पात्रहरू बीचको सामीप्य र प्रेमबाट कथाको झिनो त्यान्द्रो सुरु हुन्छ । प्रकृति र भावनाको तहमा रमण र नक्खीको प्रेम जति निश्छल र पवित्र छ, समाजको नजरमा त्यो त्यति नै ठुलो ‘अपराध’ बन्न पुगेको अनुभूति उपन्यासको अन्त्यतिरमात्रै पात्रले पत्तो लगाउन सक्छन् ।
नेपाली समाज बाहिरबाट जतिसुकै आधुनिक र रूपान्तरित देखिए पनि यसको भित्री चुरो अझै सामन्ती र जातीय अहंकारले ग्रस्त छ भन्ने कुरालाई यस उपन्यासले बलियो गरी देखाएको छ । रमण र नक्खीको सम्बन्ध केवल दुई व्यक्तिबिचको सामीप्य त हुँदै हो । यसका साथसाथै स्थापित नेपालको सामाजिक संरचना, आफू ठकुरी खानदानको तथाकथित उच्चताको घमण्ड एकातिर छ । यसको परिणामस्वरूप शोषित, पीडित र सीमान्तकृतमा पारिएका मानिससँगको अस्तित्वको लडाइँको एउटा द्वन्द्व पनि स्पष्टै रूपमा देख्न सकिन्छ ।
लेखकले पुस्तकको आकार बढाउन हो वा पाठकलाई विविधताको स्वाद चखाउन जातीयताको सङ्घर्षको कथासँगै कोरोनाको महाविपत्तिलाई पनि ठ्याक्कै सान्दर्भिक रूपमा समेटेका छन् । नक्खीको नातामा दाजुपर्ने रिदमको आत्महत्यासम्मको अवस्थाको चित्रणले कोभिड-१९ पछिको त्रासदी र आर्थिक महासङ्कटको जीवन्त चित्र प्रस्तुत गरेको छ । रमणसँगको सङ्गत छुटाउन नक्खीलाई उसको परिवारले गुपचुप रूपले रातारात काठमाडौँ पठाएको थियो । अनामनगरमा रहेको त्यही रिदमको रेष्टुरेण्टमा नै उसले काम र आर्थिक सहायताको आधार पाएकी थिई ।
डा.मल्लको प्रस्तुत उपन्यासमा केवल जातीय विभेदमात्रै नभई उपकथाका रूपमा उनिएको कोरोनाको प्रभाव पनि उत्तिकै प्रभावकारी रूपमा जोडिन आएको छ । पछिल्लो समयमानव जातिले भोगेको कोभिड–१९ को प्रकोप र त्यसले अर्थतन्त्रको जग हल्लाउँदा निम्त्याएको मानवीय सङ्कटको प्रभाव आज पनि अनुभूत गरिरहेको देखाइएको छ । उपन्यासमा उद्यमशील स्वभावको रिदमको माध्यमबाट मध्यमवर्गीय र निम्न-मध्यमवर्गीय नेपाली युवाहरूको प्रतिनिधि पात्र पनि हो । उसले जुन नियतिलाई भोगेको छ त्यसलाई जीवन्त रूपमा उतारिएको छ ।
केही वर्षअघि काठमाडौंको बानेश्वरमा इलामका ३६ बर्से प्रेमप्रसाद आचार्यको घटनालाई रिदमको स्थितिले सदृश्य सम्झना गराउँछ । उनले राज्यलाई नै दोष दिँदै गरिखाने वातावरण नभएकाले ऋण तिर्न नसकेर आत्मदाह गर्नुपरेको जनाउँदै विद्रोहात्मक रूपमा गलत कदम चालेका थिए । अवसरको खोजीमा र दुई पैसा गोजीमा हुन गाउँबाट शहर हुँदै खाडी जान चिलगाडी चढ्ने विकल्प रोजेनन् । बरू यही देशमा केही गर्छुभन्दा व्यावसायिक असफलताले ऋण तिर्नसक्ने कुनै आधार नभेटेर आत्मदाह गर्नुपरेको तत्कालीन स्वास्थ्यमन्त्री डा.तोसिमा कार्कीसँग गुनासो गरेका थिए ।
ठीक त्यस्तै अवस्था उपन्यासमा पनि रिदमले आफ्नो घरजग्गा बैँक वा साहुकहाँ बन्धकी (धितो) राखेर ५० लाख ऋण लिएर बुलबुल नामक एउटा रेस्टुरेन्ट व्यवसाय सुरु गर्छ । आफ्नो पसिना र सपना लगानी गरेर आत्मनिर्भर बन्ने उसको उत्कट चाहना राखेको थियो । तर कोरोनाको कारण अचानक लकडाउन र त्यसपछिको आर्थिक शिथिलताले चलिरहेको उसको आम्दानीयुक्त व्यवसायलाई पूर्णरूपमा ध्वस्त पारिदिन्छ ।
एकातिर व्यवसाय ठप्प हुनु र अर्कोतिर ऋणको ब्याज र किस्ता तिर्न सम्बन्धित बैँकको निरन्तरको दबाबले मानसिक रूपमा विचलित हुन पुग्छ । पत्रिकामा तीन पुस्ते नामावलीसहित धितो राखिएको सम्पत्ति लिलामका लागि प्रकाशित भएपछि तनाब पुग्छ । आफ्नो पुर्ख्यौली सम्पत्ति पनि गुम्ने निश्चित भई आर्थिक भारसमेत सहन नसकेर रिदमले मट्टितेल खन्याएर आत्मदाह गर्छ ।
रिदमको यो आत्महत्या केवल एउटा भवितव्य होइन, बरू यो राज्यको फितलो नीति र सङ्कटको समयमा नागरिकलाई संरक्षण दिन नसक्ने मौनताले गराएको ‘संस्थागत हत्या’ हो । कोभिडको समय र पछिसम्म पनि कतिपय उद्यमशील युवाहरूले मौन रूपमा आफ्ना सपनाहरूलाई चितामा जलाउनुपरेको तथ्यको एक जीवन्त एवं मर्मस्पर्शी दृष्टान्त हो ।
उपन्यासले वर्तमान नेपाली कानुनी व्यवस्था र सामाजिक व्यवहारबीचको खाडललाई देखाएको छ । कानुनले जातीय परिपाटीको अन्त्य भएको घोषणा गरे पनि शिक्षा र चेतनाको अभावमा सामाजिक मनोविज्ञान अझै उस्तै रहेको अनुभूत गराउँछ ।
फेरि उपन्यासको मूल सन्दर्भ तर उत्तरार्धतिरको घटनालाई नियाल्ने हो झने मानवीय त्रूरताको पराकाष्ठा भेटिन्छ । उपन्यासको उपसंहार सामाजिक कुरूपतामा नरसंहारको क्लाइमेक्स छ । यसले पाठकलाई एकपटक मौन तर हृदयसंवेद्य रूपले सोच्न बाध्य तुल्याउँछ । रिदमको मृत्युपछि गाउँ फर्किएकी नक्खी र रमणबिच मुस्किलसँग सम्पर्क स्थापित हुनपुग्छ । रमण र नक्खीको आत्मिक प्रेमले पूर्णता खोज्छ । यसका लागि सबै प्रकारका तथाकथित सामाजिक बन्धनहरू तोडेर विवाहका लागि गोप्य तयारी हुन्छ । यसको भेउ पाएपछि लामो समयदेखि जरा गाडेर बसेको नेपाली समाजको कथित उच्चवर्गीय ठकुरीहरूको अहङ्कार जागृत हुन्छ । रमण र उसका साथीहरूले नक्खीसँग विवाह गर्न प्रतिबद्ध भई अगाडि सबरी नदीको किनारमा पुग्नेबित्तिकै नक्खीको परिवार र उनीहरूका पक्षमा उभिएका गाउँलेहरूको एउटा विशालभिड हिंस्रक बन्न पुग्छ ।
सबरी नदीको किनारमारमणलाई कञ्चटमा बन्चरो प्रहार गरी मार्छन् । रमणले किन बोलाएको भन्नेसमेत थाहा नपाएका निर्दोष साथीहरूको रगतले नदी नै रातो हुन्छ । नक्खीको परिवारले जम्मा गरेको क्रुर भिडले रमण र उसका साथीहरूलाई लखेटी-लखेटी, निर्मम रूफमा कुटी कुटी हत्या गर्छ ।
विडम्बना र मानवीय त्रूरताको चरम स्वरूप त्यहाँ प्रस्तुत हुन्छ । उक्त नरसंहारबाट ज्यान जोगाएर भाग्न सफल भएका अन्य युवाहरूलाई समेत भीडले खोजीखोजी सिध्याउन उद्यत देखिन्छ । यो दृश्यले केही वर्षअघि रुकुममा घटेको नवराज विक र उनका साथीहरूको बीभत्स हत्याकाण्डलाई पुनःस्मरण गराउँछ । उपन्यासकारले काल्पनिक पात्रहरूको माध्यमबाट सामाजिक विद्रूपताको वर्तमानका त्रासदीहरूलाई सुन्दर ढङ्गले बुनेका छन् । उपन्यासकार मल्लले नदी आदिम समाज, मानव जीवन र सभ्यताको प्रतीक हुनुफर्ने स्थानमा मानवीय त्रूरताको अतिशय सीमानाघेको विरोधाभासपूर्ण अवस्थालाई देखाएका छन् ।
लेखकले पात्रहरूको छनोट र उनीहरूको मनोदशाको चित्रण निकै सूक्ष्म रूपमा गरेका छन् । एकातिर रमणको न्यायप्रतिको निष्ठा, अर्कोतिर नक्खीको आफ्नो प्रेम र परिवारबीचको छटपटीलाई देखाएका छन् । कथामा पछिल्लो क्रममा जोडिन आएको रिदमको आर्थिक चक्रव्यूहभित्र रुमल्लिएको घटनाले पनि पाठकलाई बाँधिरहन्छ । उपन्यासले वर्तमान नेपाली कानुनी व्यवस्था र सामाजिक व्यवहारबीचको खाडललाई देखाएको छ । कानुनले जातीय परिपाटीको अन्त्य भएको घोषणा गरे पनि शिक्षा र चेतनाको अभावमा सामाजिक मनोविज्ञान अझै उस्तै रहेको अनुभूत गराउँछ ।
समग्रमा, ‘नक्खी’ परम्परागत जातिगत संरचनागत सामाजिक विकृतिको सग्लो चित्र हो । यसले नेपाली समाजकोअँध्यारो पक्षको यथार्थलाई प्रस्तुत गर्दै चेतनाका माध्यमले परिवर्तनमा उत्प्रेरित गरिरहन्छ । भेरी नदी किनारमा बगेको नवराज विकको हत्या र काठमाडौंमा आर्थिक शिथिलताले थिलथिलिएको इलामका प्रेमप्रसाद आचार्यको आत्मदाह पनि नेपाली समाजकै कालो छायाँ हो । त्यसकै अनुकरण झैँ प्रतीत हुने रमण र उसका साथीहरूको रगत र रिदमको आत्मदाहले हाम्रो चेत र मानवतालाई गिज्याइरहेको अनुभूति गराउँछ ।






ओमानलाई ८७ रनले हराउँदै नेपाल
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार
बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी
सांसद बिष्टको आरोप– सामाजिक सञ्जालमा
प्रधानमन्त्री र सचिवालयले हुकुमी शैलीमा