नेपालको संविधानले प्रत्याभूत गरेको खाद्य सम्प्रभूताको हकलाई पूरा गर्न, कृषि पेसालाई आकर्षक र सम्मानजनक बनाई कृषि क्षेत्रको औद्योगिकीकरणमार्फत आर्थिक रूपान्तरण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु आजको आवश्यकता हो । नेपालको कृषि विकासमा अथाह सम्भावना हुँदा पनि कृषकहरूले अपेक्षित लाभ लिन नसकेको कुरा सर्वविदितै छ । यसको पछाडि विविध कारणहरू छन् जसमध्ये उपयुक्त, नयाँ र कृषि यान्त्रीकरणका प्रमाणित प्रविधिहरू कृषकस्तरमा पुर्याउन नसक्नु पनि एक हो । कृषि क्षेत्रको आधुनिकीकरणसँगै कृषि (भूमि तयारी, बाली उत्पादन, प्रशोधन तथा बजारीकरण जस्ता क्रियाकलापहरूमा यान्त्रिकीकरणको भूमिका अत्यन्त महत्त्वपूर्ण बन्दै गएको छ । नेपालको कृषिलाई आधुनिकीकरणमार्फत औद्योगिकीकरणको दिशामा अगाडि बढाउन यान्त्रीकरण नै प्रमुख हतियार भएकोले देशको भूगोल सुहाउँदो यन्त्र र उपकरणहरूको प्रयोगमा जोड दिनु आवश्यक देखिन्छ ।
पछिल्लो समयमा आधुनिक उपकरणहरूको विकाससँगै नेपाली किसानहरूको धान खेती गर्ने तरिका पनि परिवर्तन हुँदै गएको छ । हाते धान रोप्ने मेसिनबाट सुरु भएको धान रोप्ने मेसिनको विकासक्रम आज आएर अत्याधुनिक र स्वचालित रूपमा इञ्जिनबाट चल्ने मेसिनको रूपमा विकसित भएको छ ।
चामल, मकै, गहुँ र कोदो सबैभन्दा महत्त्वपूर्ण आधारभूत खाद्यान्न हुन् किनभने लगभग ६५ प्रतिशत तातो ऊर्जा, ५५ प्रतिशत प्रोटिन, र ६० प्रतिशतभन्दा बढी भिटामिन अन्नबाट पूरा हुन्छ । चामलको माग प्रमुख खाद्यको रूपमा विश्वव्यापी रूपमा बढ्दै गएको छ र यो अनुमान गरिएको छ कि एक अर्ब जनसंख्याको औसत वृद्धिको लागि धानको आवश्यकता पूरा गर्न प्रतिवर्ष थप सय मिलियन टन धान उत्पादन आवश्यक छ । दक्षिण एसिया र चीनमा चामलले राष्ट्रिय खाद्य सुरक्षा र अर्थतन्त्रमा निर्णायक भूमिका खेल्छ । विश्वका करिब ३५ देशहरू प्रमुख खाद्यान्नका रूपमा धानमा धेरै निर्भर छन्, र तीमध्ये ५० प्रतिशत एसिया क्षेत्रमा छन्, जसले कुल धान उत्पादनको करिब ९० प्रतिशत योगदान गर्दछ । नेपालमा, कृषि क्षेत्रले संस्कृति, जिडिपीको मुख्य स्रोत र रोजगारीका अवसरहरूको प्रतिनिधित्व गर्दछ, जबकि जिडिपीमा धानको अंश लगभग एक चौथाइ छ । विश्वव्यापी परिप्रेक्ष्यमा, धान उत्पादन र उत्पादकत्वमा नेपालको वरीयता क्रमशः १७औँ र ६४औँ छ ।
विश्वमा नै धानखेती परम्परागत (श्रमप्रदान) रहेको छ । १९६० को दशकमा नै जापानले व्यावसायिक धान रोप्ने मेसिनको प्रयोग गर्न सुरुवात गरे पनि (Poudel et al. 2026) हालसम्म विश्वको ८० प्रतिशत धान रोपाइँ परम्परागत रहेको छ । जापान, कोरिया, भियतनाम, चीन, थाइल्याण्ड लगायतका देशहरूले धान रोप्ने कार्यमा मेसिनको प्रयोग बढाउँदै लगेका छन् । जापान र कोरियाले ९८ प्रतिशतभन्दा बढी धान मेसिनले नै रोप्ने गरेका छन् । धान नेपालको प्रमुख खाद्यान्न बाली हो, जसले देशको खाद्य सुरक्षा, रोजगारी तथा ग्रामीण अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । नेपालमा परम्परागत रूपमा धान रोपाइँ श्रमप्रधान कार्यका रूपमा हुँदै आएको छ, जहाँ अधिकांश क्षेत्रमा महिलाहरू र तराई क्षेत्रमा पुरुषहरू समेतले घण्टौँसम्म हिलोमा उभिएर धान रोप्ने अभ्यास विद्यमान छ । यसले अत्यधिक श्रम, समय तथा उत्पादन लागत बढाउने गरेको छ ।
पछिल्लो समयमा कृषि मजदुरको अभाव, युवा जनशक्तिको वैदेशिक रोजगारीतर्फ आकर्षण तथा कृषि उत्पादन लागतमा भएको वृद्धिका कारण धान रोपाइँमा पनि मेसिनको आवश्यकता झन् बढ्दै गएको छ । यही आवश्यकतालाई सम्बोधन गर्न ‘मेसिनबाट धान रोप्ने प्रविधि’ प्रभावकारी विकल्पको रूपमा विकास भएको हो । यस प्रविधिमा विशेष प्रकारको ‘ट्रे वा म्याट’ नर्सरीमा उत्पादन गरिएको कलिलो बेर्नालाई राइस ट्रान्सप्लान्टर मेसिनको सहायताले खेतमा रोपिन्छ । परम्परागत तरिकामा ३०-४० दिनसम्मको नर्सरीबाट उखेलिएको, जरा पखालिएको र जरामा असर पुगेको बेर्ना रोप्ने गरिएकोमा यस प्रविधिमा १५-२० दिनको (माघमा राखिएको नर्सरीमा २५ दिनसम्म) कलिलो बेर्ना, जसले परम्परागतको तुलनामा छिटो वृद्धि गर्ने तथा उत्पादन बढाउने क्षमता राख्छ । धान रोप्ने मेसिनको मुख्य सिद्धान्त ‘म्याट नर्सरी बेर्नालाई विभिन्न प्रकारका मेसिनहरूबाट निश्चित दूरी र गहिराइमा खेतमा रोप्ने’ प्रक्रियामा आधारित हुन्छ । ट्रे वा म्याटमा उत्पादन गरिएको धानको बेर्ना मेसिनको Seedling platform मा राखिन्छ । मेसिन अगाडि बढ्दै जाँदा यसको Planting Armले सानो समूहमा बेर्ना टिपेर खेतमा निश्चित गहिराइमा रोप्ने कार्य गर्दछ ।

तलको तालिकाले परम्परागत विधिको तुलनामा मेकानिकल राईस ट्रान्सप्लान्टरले धान रोपाइँ गर्दा इनपुट उत्पादन लागत कसरी बचत गर्छ भनेर संकेत गर्छ । यान्त्रिक विधिबाट एक हेक्टर धान रोप्न करिब ३० हजार चाहिन्छ भने परम्परागत विधि अपनाएमा यो मूल्य ५० हजार पुग्छ । मेकानिकल राइस ट्रान्सप्लान्टर विधिले इनपुट उत्पादन लागत बचत मात्र गर्दैन, प्रत्यारोपण प्रक्रियामा कठिनाइ तथा अत्यधिक श्रमलाई पनि कम गर्छ ।
पछिल्लो समयमा आधुनिक उपकरणहरूको विकाससँगै नेपाली किसानहरूको धान खेती गर्ने तरिका पनि परिवर्तन हुँदै गएको छ । हाते धान रोप्ने मेसिनबाट सुरु भएको धान रोप्ने मेसिनको विकासक्रम आज आएर अत्याधुनिक र स्वचालित रूपमा इञ्जिनबाट चल्ने मेसिनको रूपमा विकसित भएको छ । परम्परागत कृषि प्रणाली झन्झटिलो र खर्चिलो भएका कारण नेपाली युवाहरूमा कृषि आकर्षक पेसाको रूपमा नरहेको र कृषिका लागि आवश्यक जनशक्तिको अभाव भइरहेको बेलामा यस्ता किसिमका मेसिनहरूको उपयोग वृद्धि गर्न सके यान्त्रिकरणमार्फत युवाहरूलाई कृषिप्रति आकर्षित गराउन सकिन्छ र लागत खर्च घट्न गई कृषि पनि व्यवसायीकरण हुँदै नाफामूलक पेसामा परिवर्तन हुन सक्नेछ । नेपालमा मेकानिकल राइस ट्रान्सप्लान्टरको व्यापक, दिगो र वैज्ञानिक प्रयोगका लागि उपयुक्त नीति, जिल्ला र स्थानीय तहमा कृषि इञ्जिनियरिङ सेवाका लागि संस्थागत व्यवस्था तथा प्राविधिक पक्षहरूलाई सम्बोधन गरिनुपर्छ ।
(लेखक डा. जीतबहादुर चन्द वरिष्ठ कृषि इञ्जिनियर, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम हुनुहुन्छ ।)
निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि