अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने कृषि क्षेत्र नेपालमा भने अझै पनि उपेक्षित अवस्थाबाट गुज्रिरहेको छ । देशका अन्नदाता किसानको जीवन थप कष्टकर बन्दै गएको छ । बजार अभावमा कृषि उपजको मूल्य किसान नभई बिचौलियाले तोक्ने गरेका छन् । उत्पादनको उचित मूल्य नपाएकै कारण पछिल्लो समय किसानहरू कृषि पेशाबाट पलायन हुनेक्रम बढिरहेको छ भने खेतीयोग्य जमिन बाँझो बन्दै गइरहेको छ । मल, बीउ, सिँचाइ पुँजी र प्रविधि अभावबीच गुजि्रँदै आएका किसान राज्य र समाजबाट पनि तिरष्कृत हुनुपर्दा यस्तो अवस्था आएको हो । जसका कारण हरेक वर्ष खाद्यान्न आयात बढ्दै गइरहेको छ । कृषि क्षेत्रलाई मानव जीवनको अस्तित्वका साथै अर्थतन्त्र र रोजगारीको मुख्य आधार भन्ने गरिए पनि राज्यले सोहीअनुसारको नीति, योजना, कार्यक्रममा जोड नदिँदा देश कृषिमा परनिर्भर बन्दै गएको कृषि अभियन्ताहरूले बताउने गरेका छन् । विगत वर्षहरूमा कृषिलाई उपेक्षा गर्दै निजी क्षेत्रसमेत केही वर्षयता कृषि नै दिगो अर्थतन्त्रको आधार भन्दै कृषि क्षेत्रमा आउन थालेको छ तर सरकारको कृषि क्रान्ति अभियान कागजमै सीमित छ । कृषि मन्त्रालयका लागि विनियोजित बजेट आकारले उल्लेखित तथ्य पुष्टि गर्छ । नयाँ सरकारले समेत कृषि क्षेत्रलाई उपेक्षा गरेको अभियन्ताहरूले गुनासो गर्न थालेका छन् । अनेकौं समस्या र चुनौतीका बाबजुद पनि वर्षौदेखि उपेक्षित कृषि क्षेत्रमा जागरण ल्याउने उद्देश्यसाथ करिब सात वर्षअघि स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी उद्देश्य प्राप्तिका लागि दृढतासाथ अघि बढिरहेको छ ।
प्रारम्भिक चरणमा ‘कृषिसँग मुक्तिनाथ’ अभियानमा रहेको कम्पनीले पछिल्लो समय मुक्तिनाथ फुड बैंकमार्फत्् ‘उपभोक्तासँग मुक्तिनाथ‘ अभियान पनि सुरु गरेको छ । कम्पनीले विभिन्न उत्पादनहरू मुक्तिनाथ ब्राण्डमा बजारमा ल्याउनेक्रम सुरु गरेको कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले बताउनुभएको छ । मुक्तिनाथ कृषि कम्पनीअन्तर्गत विभिन्न १० वटा सहायक कम्पनीमार्फत् कृषि क्षेत्रको प्रवर्द्धनमा जोड दिँदै आएको उक्त कम्पनीको पछिल्लो अवस्थाबारे कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालसँग हिमालय टाइम्सका लागि लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :-
मुक्तिनाथ कृषि कम्पनीको पछिल्लो अवस्था के छ ?
मुक्तिनाथ कृषि कम्पनी विगत सात वर्षदेखि कृषि क्षेत्रमा काम गर्दै आएको छ । हामीले खासगरी उत्पादन र उत्पादकत्व वृद्धिका लागि किसानसँग मिलेर काम गरिरहेका छौं । किसानलाई क्वालिटीको मल, बीउ, प्रविधि सेवा उपलब्ध गराउँदै आएका छौं । अब उहाँहरूले हाम्रो उत्पादन पनि खरिद पनि गरिदिनुपर्यो भनिरहनुभएको छ । त्यसका लागि त हामीसँग संस्थागत बजार हुनुपर्यो, अहिले जति पनि कृषि सम्बन्धित बजार छन्, ती संस्थागत बजार होइनन् । व्यक्तिविशेषले सञ्चालन गरेका बजारमा हामीलाई किसानका उत्पादन ल्याएर बेच्न गाह्रो हुन्छ । त्यसकारण देशका प्रमुख शहरमा सुविधासम्पन्न थोक बजार हुनुपर्छ भनेर हामी लागिरहेका छौं, किसानका उत्पादन अथवा नेपाली उत्पादनलाई प्रमोट गर्ने खालको बजार । अहिले हामी सार्वजनिक, निजी, साझेदारी(पिपिपी) मोडलमा कृषि बजार स्थापनाका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरिरहेका छौं । सरकारले जग्गा व्यवस्था गरिदिए हामी निजी क्षेत्र लगानी गर्न तयार छौं । त्यस्तो अत्याधुनिक बजार, जुन बजारभित्र कुनै पनि वस्तु आइसकेपछि कुनै पनि वस्तु खेर जाँदैन, त्यहाँभित्र कोल चेन हुन्छ, कोलस्टोर हुन्छ ।
विश्वमा दिनप्रतिदिन फुडको माग बढ्दो छ । फुडको सोर्स भनेको एग्रिकल्चर नै हो । एग्रिकल्चरको सोर्स भनेको हावा, पानी, माटो र प्रविधि हो । त्यो नेपालमा छ । अब हामीले बाँझो रहेका जग्गामा उत्पादन बढाउनुपर्छ । उत्पादित वस्तुको बाइ ब्याक ग्यारेन्टी गरेर युवालाई यहीँ रोजगार पनि दिने हो । रोजगार दिने भनेको कृषि क्षेत्र नै हो ।
उत्पादनको गुणस्तर चेक गर्न ल्याबहरू हुन्छन् । विभिन्न किसिमका वेयर हाउसहरू हुन्छन्, विभिन्न किसिमका प्रोसेसिङ इण्डष्ट्रीहरू हुन्छन् । जस्तै उदाहरणका लागि कुनै तरकारी फलफूल, तरकारी समयमा बिक्री भएन भने खेर फाल्नु नपरोस् । बजारमात्र भएर पनि हुँदैन, बजारसँग सम्बन्धित उद्योगहरू पनि हुनुपर्छ । किनभने सबै उत्पादन एकैपटक बजारमा ल्याउन सकिन्न, मौसमअनुसार उत्पादन हुने हो । मौसमअनुसार हुने उत्पादन हामीले चाहिएको बेलामा निरन्तर बजारमा लैजान हामीसँग इण्डष्ट्री पनि चाहिन्छ । इण्डष्ट्रीमा पनि हामी एक्लैले काम गर्नेभन्दा सरकारसँग मिलेर काम गर्ने हो, इण्डष्टीका लागि पनि मुख्य समस्या जग्गा नै हो, त्यो सरकारले मात्रै व्यवस्था गर्न सक्छ ।
हालसम्म कुनै ठाउँमा बजारका लागि जग्गा व्यवस्थापन भएको छ ?
त्यसका लागि हामीले विभिन्न प्रदेश, संघीय र स्थानीय सरकारहरूसँग कुरा गरिरहेका छौं । किनभने हाम्रो अबको मिसन भनेको बजार र उद्योग हो । हामीले त्यसलाई व्यवस्थित गर्नेबित्तिकै कन्ट्रयाक्ट फार्मिङ गरेर त्यसको बाइ ब्याक ग्यारेन्टी गरेर कृषि उत्पादनहरूको बजारीकरण गर्छौं । हामीले बजार र उद्योग व्यवस्थित गर्नेबित्तिकै क्वालिटी र क्वान्टिटीमा उत्पादन हुन्छ । अनि हामीले अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली वस्तु ब्राण्डिङ गरेर लैजान सक्छौं । त्यसो भएमा युवाहरू कृषिमा आउँछन् । युवालाई कृषिमा ल्याउन उनीहरूलाई बाइ ब्याक ग्यारेन्टी गर्ने गरी हामीजस्ता धेरै कम्पनीहरू आउनुपर्छ भन्ने यो हाम्रो पहल पनि हो, सन्देश पनि हो ।
तपाईं यसपटकको संसदीय निर्वाचनमा प्रतिस्पर्धामा पनि हुनुहुन्थ्यो । कस्तो महसुस गर्नुभयो ?
हो, चुनावी अभियानका क्रममा म गाउँ-गाउँ पुगेँ । धेरैजसो गाउँबस्तीमा मोटरबाटो पुगेको छ, बिजुली पुगेको छ, खानेपानी छ, स्कुल, स्वास्थ्य चौकीहरू पनि छन् तर गाउँचाहिँ पूरै खाली छ । घर खाली छन्, जग्गाजमिन बाँझो छ । गाउँबस्ती नजिकै पोखरा, काठमाडौं, बुटवलजस्ता ठूला बजारहरू छन् तर हामीचाहिँ अन्तर्राष्ट्रिय बजारबाट वस्तु ल्याएर उपभोग गरिरहेका छौं । यदि हामीले त्यहाँ उत्पादन गर्ने भने बजार अभाव हुँदैन । अहिले सयौं बिघा, हजारौं रोपनी जग्गा लिजमा लिएर काम गर्न सक्ने अवस्था छ । हाम्रा गाउँहरूमा पूर्वाधार पुगेको छ । हामीसँग धेरै जग्गा जमिन बाँझो छ । पछिल्लो समय ग्लोबल वार्मिङका कारण भारतीयहरू नेपाल घुम्न आउने ट्रेन्ड बढ्दैछ । टुरिजम बढ्नेबित्तिकै कृषिको कन्जम्सन पनि बढ्दै जान्छ । युवालाई नेपालमै रोजगार दिन यो एकदमै सही समय भएको मैले महसुस गरेको छु ।
अहिले नयाँ सरकार आएको छ, केही फरक पाउनुभयो ?
नयाँ सरकार आए पनि कृषिमा त्यस्तो खासै केही सुधारको संकेत देखिएको छैन । बजेटमा पनि कृषिका लागि नयाँ कुरा केही आएन । कृषि क्षेत्र प्रवर्द्धनका लागि सबैभन्दा पहिले कृषिसम्बन्धी पूर्वाधारमा जोड दिनुपर्छ । कृषिसम्बन्धी पूर्वाधार, खासगरी कृषि बजार र कृषिजन्य उद्योग स्थापनाका लागि सरकारले लामो समयसम्म जग्गा लिजमा दिने कानुन बनाइदियोस् । बाँकी कृषि पूर्वाधारका लागि हामीजस्ता निजी क्षेत्रले लगानी गर्छ । किनभने राज्यले गर्ने भनेको नीति बनाइदिने हो, निजी क्षेत्रलाई सहजीकरण गर्ने हो, राज्यले आफैं व्यवसाय गर्ने होइन । राज्यले जति धेरै निजी क्षेत्रको लगानी बढाउन सक्यो, त्यति धेरै नै देशमा रोजगारी सिर्जना हुन्छ, उत्पादन बढ्छ, उद्योगको विकास हुन्छ, राजस्व बढ्छ भन्ने सोच राखेर नीति, कार्यक्रम बनाउनुपर्छ । निजी क्षेत्र लगानी गरेर जोखिम पनि आफैं लिन तयार छ तर निजी क्षेत्रसँग मिलेर हामीले काम गर्नुपर्छ भन्ने सरकारको दिमागमा नपरेसम्म राज्यले किसानलाई दिएका अनुदानले मात्रै किसानको उत्पादन बढ्दैन भनेर नै हामीले मुक्तिनाथ कृषि कम्पनी सञ्चालनमा ल्याएका हौं ।
हामीले बाँझो रहेका जग्गामा उत्पादन बढाउनुपर्छ । उत्पादित वस्तुको ‘बाइ ब्याक ग्यारेन्टी’ गरेर युवालाई यहीँ रोजगार पनि दिने हो । रोजगार दिने भनेको कृषि क्षेत्र नै हो । अरुबाट सर्भिस सेक्टर पछिल्लो समय डिजिटल बन्दै गएकाले रोजगारी खुम्चिँदै गएको अवस्था छ ।
मुक्तिनाथ कृषि कम्पनीअन्तर्गत धेरै विधागत कम्पनीहरू छन्, ती कम्पनीहरूको अवस्थाचाहिँ के छ ?
हामीले मल, बीउका साथै पछिल्लो समय कृषि मेसिनरी उद्योग पनि सुरु गरेका छौं । हामीले सातै प्रदेशमा कार्यालयहरू स्थापना गरेका छौं । तराई र पहाडी क्षेत्र गरी दुई ठाउँमा हामीले ‘आर एण्ड डी’ सेन्टर पनि स्थापना गरेका छौं । पहाडी क्षेत्रका लागि स्याङ्जा र तराई मधेसका लागि चितवनमा सेन्टर स्थापना गरिएको हो । ती सेन्टरहरूमा खासगरी खाद्यान्न बाली, तरकाली, फलफूलका बिरुवाहरू उत्पादन र अनुसन्धानको काम भइरहेको छ । त्यसले पनि राम्रो परिणाम दिइरहेको छ । हामीले गत वर्षदेखि किसानको उत्पादनको बाइ ब्याक ग्यारेन्टीका लागि मुक्तिनाथ फुड बैंकमा पुँजी वृद्धि गरेका छौं । फुड बैंकले किसानका उत्पादन संकलन गर्ने, त्यसलाई वेयर हाउसमा राख्ने, प्रोसेसिङ गरेर बजारीकरण गर्ने काम गरिरहेको अवस्था छ । हामीले काम गरिरहेका छौं तर कृषि ठूलो क्षेत्र भएकाले हामीले काम गरे पनि नदेखिएको हो । त्यही भएर हामीले मुक्तिनाथ कृषि कम्पनीजस्ता अरु पनि धेरै कृषि कम्पनीहरू आउनुपर्छ भन्दै आएका छौं ।
हालसम्म मुक्तिनाथ कृषि कम्पनीमा कति किसान जोडिएका छन् ?
प्रत्यक्ष त धेरै नहोलान्, २०-२५ हजार होलान् । अप्रत्यक्ष लाखौं छन् । कृषिमा युवाहरूलाई जोड्ने पनि हाम्रो अभियान हो । हामीले कृषिमा भविष्य देखेरै प्लानिङसाथ अघि बढिरहेका छौं ।
मुक्तिनाथ कृषि ब्राण्डका सामानहरू बजारमा कहिलेसम्म आउँछन् ?
त्यो हामीले सुरु गरिसकेका छौं । हामीसँग अहिले पनि ४०-५० वटा आइटम छन् तर डाइरेक्ट नगरेर कतिपय होम डेलिभरी गर्ने, मार्टहरूमा दिने गरेका छौं । त्यसका लागि हामीसँग छुट्टै डेलिभरी भ्यान पनि छ । आगामी एक-दुई वर्षभित्र बजारमा पनि हाम्रा उत्पादनहरू देखिनेछन् । हामीले पाँच-सात वर्षसम्म किसानसँगै काम गर्यौं, अब उपभोक्तासँग जोडिन इण्डष्ट्री, वेयर हाउस, बजारसँग जोडिन खोजिरहेका छौं । कालिमाटीलगायत बजारहरूसँग पनि निरन्तर संवादमा छौं ।
मुक्तिनाथ कृषिले कृषिसम्बन्धी रियालिटी शोका लागि सहकार्य गरेको छ, उक्त रियालिटी शोका बारेमा बताइदिनुस् न ?
हो, अब असर १५ गते पनि कार्यक्रम हुँदैछ । हाम्रा साथीहरू पनि त्यसमा जोडिनुभएको छ । उक्त रियालिटी शोले कृषि क्षेत्रमा सकारात्मक सन्देश दिएको छ । खासगरी युवा उद्यमीलाई कृषिमा जोड्न रियालिटी शोले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ । किनभने अब विश्वकैे सबैभन्दा ठूलो बिजनेस फुड हो । विश्वमा दिनप्रतिदिन फुडको माग बढ्दो छ । फुडको सोर्स भनेको एग्रिकल्चर नै हो । एग्रिकल्चरको सोर्स भनेको हावा, पानी, माटो र प्रविधि हो । त्यो नेपालमा छ । अब हामीले बाँझो रहेका जग्गामा उत्पादन बढाउनुपर्छ । उत्पादित वस्तुको बाइ ब्याक ग्यारेन्टी गरेर युवालाई यहीँ रोजगार पनि दिने हो । रोजगार दिने भनेको कृषि क्षेत्र नै हो । अरुबाट सर्भिस सेक्टर पछिल्लो समय डिजिटल बन्दै गएकाले रोजगारी खुम्चिँदै गएको अवस्था छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि