भक्तपुर । चाँगुनारायण नगरपालिका–२ स्थित गोल्डेन सुनगाभा बोर्डिङ इङ्लिस स्कुलले विद्यार्थीको नेतृत्व क्षमता, वाककला तथा विश्व परिवेशसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले नमुना संयुक्त राष्ट्रसङ्घीय महासभाको आयोजना गरेको छ ।
विद्यार्थीलाई संयुक्त राष्ट्रसङ्घको महासभाको कार्यप्रणाली, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वका समसामयिक विषयबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विद्यालयले नमुना महासभा आयोजना गरेको हो ।
विद्यालयका माध्यमिक तहका सामाजिक विषय शिक्षक विष्णुचन्द्र गौतमका अनुसार कार्यक्रमले विद्यार्थीमा नेतृत्व सीप विकास गर्नुका साथै समूहमा सहकार्य गर्ने भावना, तर्क गर्ने क्षमता र सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने कलाको विकास गर्न सहयोग पुर्याउने उद्देश्य राखेको थियो ।
“पाठ्यपुस्तकमा सीमित ज्ञानलाई व्यवहारमा उतार्दै विद्यार्थीलाई विश्वका घटनाक्रम र अन्तर्राष्ट्रिय विषयसँग परिचित गराउने उद्देश्यले नमुना संयुक्त राष्ट्रसङ्घीय महासभाको अभ्यास गराइएको हो,” गौतमले बताउनुभयो ।
कार्यक्रममा कक्षा ८ मा अध्ययनरत विद्यार्थी संविधान श्रेष्ठलाई महासभाको अध्यक्ष र कक्षा ७ की विद्यार्थी रुमानी राईलाई महासचिवको भूमिका दिइएको थियो । विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिका रूपमा प्रस्तुत हुँदै अन्तर्राष्ट्रिय मुद्दामा आफ्नो धारणा राखेका थिए ।
नमुना महासभामा संयुक्त राज्य अमेरिका, भारत, चीन, फिनल्यान्ड, स्विजरल्यान्ड, नर्वे, नेपाल, दक्षिण अफ्रिका, रुवान्डा, अष्ट्रेलियालगायत ११ देशका प्रतिनिधिका रूपमा विद्यार्थी सहभागी भएका थिए ।
विद्यार्थी प्रतिनिधिहरूले विश्वका समसामयिक विषयहरूमा आ–आफ्नो देशको दृष्टिकोण प्रस्तुत गरेका थिए । जलवायु परिवर्तन, विश्व शान्ति, विकास, अन्तर्राष्ट्रिय सहकार्यलगायतका विषयमा विद्यार्थीहरूले कूटनीतिक शैलीमा विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रममा केही विद्यार्थीलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिको भूमिका समेत दिइएको थियो । उनीहरूले विभिन्न देशका प्रतिनिधिलाई प्रश्न गर्दै संवाद तथा छलफल सञ्चालन गरेका थिए । प्रश्नोत्तर सत्रमा विद्यार्थीहरूले देखाएको आत्मविश्वास र प्रस्तुतिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बदलिँदो विश्व परिवेशमा सिर्जनात्मक र व्यवहारिक शिक्षाको महत्त्व दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो। उहाँले पाठ्यपुस्तकको सीमाभन्दा बाहिर निस्केर विद्यार्थीमा नेतृत्व क्षमता, आलोचनात्मक सोच, सामाजिक उत्तरदायित्व तथा विश्वदृष्टिकोण विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने उल्लेख गर्नुभयो।
उहाँले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई ) मा विद्यालयले ४.०० जिपिए सहित चाँगुनारायण नगरपालिकाभित्र प्रथम स्थान हासिल गरेको प्रसङ्ग स्मरण गर्दै विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उक्त उपलब्धिले विद्यालयको गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गरेको उहाँको भनाइ थियो।
“विद्यार्थीलाई सानै उमेरदेखि विश्व परिवेश बुझ्ने, आफ्ना विचार आत्मविश्वासका साथ अभिव्यक्त गर्ने र नेतृत्व गर्ने अवसर दिनु आवश्यक छ। यस्ता अभ्यासले उनीहरूलाई सक्षम, जिम्मेवार र दूरदर्शी नागरिकका रूपमा विकसित हुन प्रेरित गर्छ,” नगर प्रमुख खत्रीले भन्नुभयो।
विद्यालयका प्रधानाध्यापक महेश चन्द्र गौतमले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण व्यक्तित्व विकासलाई केन्द्रमा राख्दै अतिरिक्त तथा व्यवहारिक शिक्षालाई निरन्तर प्राथमिकता दिँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार नमुना संयुक्त राष्ट्रसङ्घीय महासभा (MUN) जस्ता कार्यक्रमले विद्यार्थीमा अनुसन्धान, विश्लेषण, प्रस्तुतीकरण, निर्णय क्षमता, कूटनीतिक सोच तथा नेतृत्व कौशलको विकास गराउँदै कक्षाकोठाको ज्ञानलाई व्यवहारसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्छ।
त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलानाथ निरौलाले भविष्यका नेतृत्वकर्तालाई आजैदेखि तयार पार्न यस्ता नवीन र सिर्जनात्मक शैक्षिक अभ्यास अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
“आजका विद्यार्थी नै भोलिका नीति निर्माता र नेतृत्वकर्ता हुन्। उनीहरूलाई जिम्मेवारी, अनुशासन, सहकार्य र विश्व घटनाक्रमप्रति सचेत बनाउँदै अघि बढाउन सके राष्ट्रले सक्षम, नैतिक र दूरदर्शी नेतृत्व पाउनेछ,” अध्यक्ष निरौलाले भन्नुभयो।
विद्यालयले यस्ता कार्यक्रममार्फत विद्यार्थीमा नेतृत्व क्षमता, अनुसन्धान गर्ने बानी, विश्व परिवेश बुझ्ने क्षमता र आत्मविश्वास विकास हुने जनाएको छ । नमुना संयुक्त राष्ट्रसङ्घीय महासभाले विद्यार्थीलाई भविष्यमा आवश्यक पर्ने प्रस्तुतीकरण, संवाद र निर्णय क्षमताको अभ्यास गर्ने अवसर प्रदान गरेको विद्यालयको भनाइ छ ।
गोल्डेन सुनगाभा बोर्डिङ इङ्लिस स्कुलले आयोजना गरेको नमुना संयुक्त राष्ट्रसङ्घीय महासभा केवल एक शैक्षिक कार्यक्रम मात्र नभई विद्यार्थीको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि र विश्व परिवेश बुझ्ने महत्वपूर्ण अभ्यासका रूपमा देखिएको छ । पाठ्यपुस्तकमा सीमित ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्दै गरिएको यस अभ्यासले विद्यार्थीमा आत्मविश्वास, तर्क गर्ने क्षमता, समूहमा काम गर्ने संस्कार र सार्वजनिक रूपमा आफ्ना विचार राख्ने सीप विकास गर्न सहयोग पुर्याएको छ ।
विश्वका समसामयिक विषयमा विभिन्न देशका प्रतिनिधिको भूमिकामा रहेर विद्यार्थीहरूले गरेको प्रस्तुति र बहसले उनीहरूमा अन्तर्राष्ट्रिय सोचको विकास भएको देखाएको छ । यस्ता सिर्जनात्मक शैक्षिक अभ्यासले विद्यार्थीलाई भविष्यमा जिम्मेवार, सक्षम र नेतृत्वदायी नागरिक बन्न प्रेरणा दिने विश्वास गर्न सकिन्छ । गोल्डेन सुनगाभाको यो प्रयासले शिक्षा केवल परीक्षामुखी नभई व्यवहारिक, अनुसन्धानमूलक र जीवनोपयोगी हुनुपर्ने सन्देश दिएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर