काठमाडौं । असार १५ नेपाली किसानका लागि केवल पात्रोको एउटा मिति होइन, पसिना, परिश्रम र उत्पादनको उत्सव हो। खेतमा धान रोपेर हिलोले लतपतिएका हात, थकानले गलेको शरीर र त्यसपछि परिवारसँग बसेर दही–चिउरा खाने परम्पराले यो दिनलाई विशेष बनाएको छ । यही कारण असार १५ लाई राष्ट्रिय धान दिवससँगै दही–चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ ।
यद्यपि यस वर्ष धेरै किसानका लागि यो पर्व विगतजस्तो उल्लासपूर्ण बन्न सकेको छैन । पर्याप्त वर्षा, सिँचाइ र मलको अभावका कारण कतिपय स्थानमा रोपाइँ नै प्रभावित भएको छ। खेतमा धान रोप्न नपाएका किसानका लागि असार १५ ले खुसीभन्दा बढी चुनौतीको अनुभूति गराएको छ ।
असार १५ मा दही–चिउरा खाने चलन किन बस्यो भन्ने प्रश्नको उत्तर नेपाली कृषि सभ्यतामै भेटिन्छ। परम्पराअनुसार रोपाइँ सकिएपछि किसानले आफ्नो मेहनतको खुसी साटासाट गर्न घरमै उपलब्ध दही र चिउराको भोज गर्थे । त्यसबेला अधिकांश घरमा गाईभैँसी पाल्ने चलन भएकाले दहीको अभाव हुँदैनथ्यो भने धान उत्पादन गर्ने किसानका घरमा चिउरा पनि सहजै उपलब्ध हुन्थ्यो ।
रोपाइँको व्यस्त समयमा माछामासु पकाएर खान समय हुँदैनथ्यो। यस्तो अवस्थामा छिट्टै तयार हुने, स्वादिलो र पोषिलो दही–चिउरा नै किसानको रोजाइ बन्न पुग्यो। यसले शरीरलाई शीतलता दिनुका साथै थकान कम गर्न सहयोग गर्ने विश्वास पनि रहिआएको छ ।
समयसँगै जीवनशैली फेरिएको छ । अहिले दही र चिउरा वर्षभरि नै बजारमा सहजै पाइन्छ। तर असार १५ मा यसको स्वादसँग जोडिएको सांस्कृतिक महत्व भने अझै उस्तै छ। खेतीपातीसँग प्रत्यक्ष सम्बन्ध नभएका मानिसहरूले समेत यो दिन दहीचिउरा खाएर पर्व मनाउने गरेका छन् ।
नेपाली संस्कृतिमा दहीको धार्मिक र सांस्कृतिक महत्व पनि उत्तिकै गहिरो छ । शुभकार्यमा निस्कनुअघि दही अक्षता लगाउने, सगुनका रूपमा दही खुवाएर यात्रा वा नयाँ कामको सुरुआत गर्ने परम्परा आज पनि कायम छ। दही खाएर घरबाट निस्किए साइत पर्ने जनविश्वास नेपाली समाजमा अझै जीवित छ ।
स्वास्थ्यका दृष्टिले पनि दही निकै उपयोगी मानिन्छ। यसले पाचन प्रणालीलाई सुदृढ बनाउन मद्दत गर्ने विश्वास गरिन्छ । आयुर्वेदमा भोजनपछि मोही सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिएको छ । पखालाजस्ता समस्यामा पनि दही चिउरालाई घरेलु उपचारका रूपमा प्रयोग गर्ने चलन अझै धेरै ठाउँमा पाइन्छ ।
त्यसैले असार १५ को दही–चिउरा केवल एउटा परिकार होइन, नेपाली कृषि संस्कृति, श्रमप्रतिको सम्मान, स्वास्थ्य र परम्पराको प्रतीक बनेको छ । समय परिवर्तन भए पनि हिलोमा पसिना बगाएर उत्पादनको सपना देख्ने किसान र दही–चिउराको मिठासबीचको सम्बन्ध भने पुस्तौंदेखि निरन्तर रहँदै आएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि