काठमाडौं । एशियन कलेज अफ लले ‘नमुना संसद कार्यक्रम’ दोस्रो संस्करणको आयोजना गरेको छ । कक्षा ११ र १२ मा अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीको सहभागितामा कलेजकै सभाहलमा कार्यक्रम आयोजना गरिएको हो । गत वर्ष कलेजले गरेको प्रथम नमुना संसद कार्यमको दोस्रो संस्करणको रूपमा कलेजले यस वर्ष उक्त कार्यक्रमको ‘दोस्रो संस्करण-२०८३’ आयोजना गरेको हो ।
विद्यार्थीहरूलाई संसदीय अभ्यास सिकाउँदै कार्यविधिमा जानकार बनाउन कार्यक्रमको आयोजना गरिएको कलेजका प्राध्यापक एवम् अध्यक्ष प्रा.डा. बलबहादुर मुखियाले बताउनु भयो । कार्यक्रमको उद्घाटन सत्रको प्रमुख आतिथ्यता गर्नु भएकी त्रिवि कानुन संकायकी सहायक डिन डा. लक्ष्मी शर्माले यस्ता कार्यक्रमले विद्यार्थीहरुको नेतृत्व तथा उत्तरदायी क्षमता अभिवृद्धि गर्ने बताउनु भयो ।
नमुना संसद कार्यक्रममा ‘पर्यटन विधेयक-२०८३’ उपर छलफल गरिएको थियो । सत्तापक्ष, प्रतिपक्ष समेतको सहभागिता रहेको उक्त कार्यक्रममा सरकारका तर्फबाट विभिन्न मन्त्री एवम् प्रधानमन्त्रीको समेत जिम्मेवारी तोकिएको थियो । संसद्मा हुने गतिविधिअन्तर्गत आकस्मिक समय, शुन्य समय र विशेष समयमा सांसदहरूलाई बोल्न दिइएको थियो भने सरकारका तर्फबाट मन्त्रीहरूले विभिन्न सांसदले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।
नमुना संसदीय अभ्यासमा विद्यार्थीहरूले आ-आफ्ना विषयवस्तुलाई निक्कै रोचक एवम् आकर्षक ढंगबाट प्रस्तुत गरेका थिए । संसदमा हुने सरकार पक्ष र प्रतिपक्षी दलहरूको भुमिकालाई प्रष्ट रूपमा हेर्न र बुझ्न सकिने गरि सहभागी विद्यार्थीहरूले प्रस्तुतीकरण दिएका थिए ।
कार्यक्रममा उत्कृष्ट वक्ता, उत्कृष्ट रणनीतीकार र उत्कृष्ट अनुसन्धानकर्ता गरी उत्कृष्ट तीन जनालाई प्रमाणपत्रसहित जनही पाँच हजारको दरले पुरस्कृत गरिएको थियो भने अन्य सहभागीहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । सम्मान कार्यक्रमका प्रमुख आतिथिको रूपमा रहनु भएका नेपाल खुला विश्वविद्यालयका उपकुलपति डा. जीवन खड्काले यस्ता प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक ज्ञानलाई अभिवृद्धि गर्न सघाउ पुर्याउने बताउनु भयो । कार्यक्रमको विशिष्ट अतिथिको रूपमा रहनु भएका नेपाल कानुन आयोगका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा. लक्ष्मीप्रसाद मैनालीले नमुना संसद कार्यक्रममा विद्यार्थीहरुले वास्तविक संसदको झल्को दिएको टिप्पणी गर्नु भएको थियो ।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानीरिक्षक राजन अधिकारीले कानुन निर्माणमा विद्यार्थीहरुको सहभागिताले समाजमा कानुनको पालनामा ठूलो योगदान पुर्याउने बताउनुभयो ।
एशियन कलेज अफ ल का प्रबन्ध निर्देशक इन्द्र शेखर खड्काले कानुन पढाई हुने कलेजहरूमा यस्ता किसिमका कार्यक्रमहरू आयोजना हुनुले विद्यार्थीहरूको व्यक्तित्व विकास हुने र कानुन निर्माण प्रकृयाबारे अझ बढी जानकार रहने बताउनु भएको थियो । यस्ता कार्यक्रमले विद्यार्थीहरुको व्यक्तित्व विकासमा अब्बल भूमिका निर्वाह गर्न मद्दत पुग्ने उहाँको भनाई थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर