काठमाडौं । नक्कली शरणार्थीसम्बन्धी मुद्दा फैसलाको चरणमा पुगेको छ । तीन वर्षमा ८६ पटक पेसी तोकिएपछि ठूला नेताहरूको तानिएको नक्कली शरणार्थीको मुद्दा फैसलाको चरणमा पुगेको हो । पूर्वउपप्रधानमन्त्री, गृहमन्त्री र गृहसचिव सहितका उच्च पदस्थलाई कारागार पुर्याउने यो मुद्दा २०८० जेठ १० गते जिल्ला अदालत काठमाडौंमा दायर भएको थियो । पछिल्ला १३ दिनदेखि मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा फैसलाका लागि सुनुवाइ भइरहेको छ । २०८३ जेठ २७ गते साप्ताहिक पेसीमा चढेको यो मुद्दा त्यसपछि निरन्तर सुनुवाइ भइरहेको छ । सोमबार पनि निरन्तर सुनुवाइ भए पनि हेर्दाहेर्दैमा रहेको छ ।
यसअघि जेठ ५ गतेको पेसीमा प्रमाण बुझ्ने आदेश भएको थियो भने वैशाख २२ गते अदालतले यससँग सम्बन्धित मिसिल झिकाउने आदेश दिएको थियो । सबै मिसिल अदालत पुगेसँगै फैसलाको तयारी भएको हो ।
सुरुमा जिल्ला सरकारी वकिल कार्यालयले बहस गरेको थियो । त्यसपछि जाहेरवालाको तर्फबाट बहस भएको थियो । जाहेरवालाको तर्फबाट बहस सकिएसँगै प्रतिवादीहरूको तर्फबाट बहस भइरहेको छ । प्रतिवादीहरू ३१ जना रहेको र एकै व्यक्तिले धेरैजना वकिल राखेका कारण बहस लम्बिएको हो । तर, एउटै वकिलले एकभन्दा बढी प्रतिवादीको तर्फबाट बहस गरिरहेकाले यो साताभित्रमा बहस सकिने सम्भावना रहेको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
पहिलो चरणमा ३० जनालाई प्रतिवादी बनाइएको थियो । पछिल्लो पटक २०८१ साउन २९ गते बेचन झालाई पक्राउ गरेर पूरक अभियोग दर्ता गरिएको थियो । यी सबै मुद्दाको सुनुवाइ एकसाथ अगाडि बढेको हो ।
ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुर
यस मुद्दामा प्रतिवादीहरूविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा सजाय माग गरिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी भन्दै अमेरिका पठाएर करोडौँ रुपैयाँ ठगी गरेको आरोप उनीहरूमाथि छ । त्यसअघि नेपालमा रहेका भुटानी शरणार्थीहरूलाई अमेरिकासहितका देशमा पुनर्वासको व्यवस्था मिलाइएको थियो । एकलाख १३ हजार बढी शरणार्थी त्यसरी अमेरिकालगायत देशमा गइसकेका थिए । तर, अझै पनि केही भुटानी नेपालमै छन् ।
उनीहरूलाई पुनर्बासका लागि अध्ययन गर्न भन्दै सरकारले नै समिति बनाएको थियो । उक्त समितिको प्रतिवेदनमा छेडखानी गरेर सरकारी तहबाटै नेपालीलाई उक्त शरणार्थीको सूचीमा समावेश गरेर पठाउने खेल भएको आरोप उनीहरूमाथि छ ।
यसरी शरणार्थी बनेर जान तयार नेपालीले बिचौलियामार्फत लाखौँ रुपैयाँ बुझाएको पाइएपछि अनुसन्धान भएको थियो । यसरी अध्ययन थाल्दा गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिव हालका अख्तियार प्रमुख प्रेमकुमार राई थिए । उनीहरू भने अनुसन्धानमा तानिएनन् । टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डेसहितका प्रतिवादीहरूलाई भने पक्राउ गरेर अनुसन्धान गरिएको थियो ।
पहिलो चरणमा टोपबहादुरका छोरा सन्दीप रायमाझी, टंककुमार गुरुङ, मोहनराज राई, नीरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन, राजेश अर्याल, आङटावा शेर्पा, विनिता साम्देन लिम्बू, सागर राई, आशिष बुढाथोकी, केशवप्रसाद दुलाल, सुनिल बुढाथोकी, दीपा हुमागाईं, डा इन्द्रजित राई, शमशेर मियाँ, रामशरण केसी, लक्ष्मी महर्जन, नीरज राई, बालकृष्ण खाँण, सानु भण्डारी, नरेन्द्र केसी, सन्देश शर्मा, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धीरेन राई, प्रतीक थापा र टेकनाथ रिजालविरुद्ध मुद्दा दायर भएको थियो ।
आङटावा शेर्पा पूर्वसांसद हुन् । प्रतीक थापा एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलका छोरा हुन् । बादल गृहमन्त्री हुँदा इन्द्रजित राई सुरक्षा सल्लाहकार थिए । यो मुद्दाका मुख्य कसुरदार केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सागर राई, सन्देश शर्मा रहेको दाबी अभियोगमा छ ।
रायमाझीसहित टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा इन्द्रजित राई, सानु भण्डारी कारागारमा छन् । यस्तै, बेचन झा र प्रतीक थापा पनि कारागारमा छन् । उनीहरू नौ जनाबाहेक सबै प्रतिवादी धरौटी र साधारण तारेखमा रिहा भएका थिए । उनीहरू बाहिरै रहेर मुद्दा लडिरहेका छन् । खाँण भने उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका थिए ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर