१. पृष्ठभूमि :
मानव सभ्यताको एकाबिहानै, जब पश्चिमा संसार केवल भौतिक अस्तित्वको खोजीमा बामेसर्दै थियो तब हिमालयको काखमा बसेर हाम्रा पूर्वजहरूले ब्रह्माण्ड र शरीरको अकाट्य सम्बन्धको अनुसन्धान गरिसकेका थिए । हाम्रा ऋषिहरू केवल ‘मन्त्र द्रष्टा’ मात्र थिएनन्, तिनीहरू त उच्चकोटिका वैज्ञानिक र शरीरशास्त्री पनि थिए । पूर्वीय दर्शनमा एउटा सुन्दर सूक्ति छ, ‘जथा ब्रह्माण्डे तथा पिण्डे’ अर्थात् जे यो ब्रह्माण्डमा छ त्यही हाम्रो शरीरमा छ । ‘जथा ब्रह्माण्डे तथा पिण्डे’को स्वास्थ्य सन्देश यही हो कि यदि निरोगी रहने हो भने शरीरलाई प्रकृतिको नियमविपरीत होइन, प्रकृतिको लयमा हिँडाउनुपर्छ । प्रकृतिसँगको दुश्मनी रोग हो र प्रकृतिसँगको तादात्म्यता नै पूर्ण स्वास्थ्य हो । प्रकृतिको लयविपरीतको यात्रको दण्ड नै रोग हो ।
औपनिवेशिक मानसिकताका कारण हामीले पश्चिमा विज्ञानलाई मात्र अकाट्य सत्य मान्यौं । आफ्ना वेद, उपनिषद् र आयुर्वेदका पानाहरूमा लेखिएका सूत्रलाई ‘अन्धविश्वास’ वा ‘धार्मिक रुढीवाद’को विल्ला भिराएर पाखा लगाइयो । हालको हाम्रो चुनौती हाम्रो प्राचीन ज्ञानलाई आधुनिक विज्ञानको कसीमा घोटेर संसारले बुझ्ने भाषामा प्रस्तुत गर्नु हो ।
प्रकृतिमा ऋतुहरू बदलिन्छन्, चन्द्रमाका कलाहरू घटबढ हुन्छन् । चन्द्रमाको कला भन्नाले यो चन्द्रमाको आकार र रूप हो । चन्द्रमाको काल भन्नाले यो चन्द्रमाको गतिले निर्धारण गर्ने समय वा अवधि हो । यसैको पदचापलाई पच्छ्याउँदै हाम्रा पूर्वजहरूले शरीरलाई पनि समय-समयमा ‘विश्राम’ दिने पद्धतिको विकास गरे, जसलाई हामीले ‘व्रत’ वा ‘उपवास’ भन्यौं । यो केवल भगवान्लाई खुशी पार्ने कर्मकाण्ड थिएन । यो त शरीरको आन्तरिक इन्जिनलाई सफा गर्ने, जठराग्निलाई पुनर्जागृत गर्ने र चेतनालाई ऊर्ध्वगामी बनाउने एउटा सूक्ष्म प्रविधि थियो । एकादशी, साउनको सोमबार, नवरात्रि जस्ता अनगिन्ती उपवासका नियम वास्तवमा शरीरलाई निश्चित अन्तरालमा खानाबाट टाढा राखेर भित्री प्रणालीको मरम्मत गर्ने आवधिक उपवासकै सनातन रूपहरू थिए ।
२. विस्मृतिको गहिरो निद्रा :
समयको अनन्त प्रवाहमा कतिपय सभ्यता इतिहास रच्छन् तर आफ्नै सिर्जनाको अभिलेख राख्न चुक्छन् । पूर्वीय दर्शन, विशेषगरी भारतीय उपमहादेशको ज्ञान-परम्परा यस्तै एउटा कटुसत्यको साक्षी छ । हाम्रा ऋषिमुनिहरूले ब्रह्माण्ड र मानव शरीरको गहिरो सम्बन्धलाई ध्यान, साधना र अन्तर्दृष्टिद्वारा उजागर गरे तर विडम्बना ! हामीले जुन ज्ञानलाई ‘संस्कार’ र ‘धर्मको कडा आवरणभित्र मात्र सीमित राख्यौं, त्यसैलाई आधुनिक पश्चिमा र पूर्वी एसियाली जगत्ले विज्ञानको कसीमा घोटेर विश्वकै सर्वोच्च पुरस्कारको हकदार बनायो ।
आवधिक उपवास जसलाई आजको विश्वले स्वास्थ्य र दीर्घायुको अचुक ओखती मानिरहेको छ, त्यो वास्तवमा हाम्रा पूर्वजहरूको दैनिक जीवनपद्धति थियो तर यसको स्वामित्व र जस आज जापानी वैज्ञानिकको पोल्टामा छ । जबकि यसको व्यावहारिक जग हाम्रा ऋषिहरूले युगौं अघि बसालेका थिए । यो विरोधाभासले हाम्रो बौद्धिक दासता, अनुसन्धानप्रतिको उदासीनता र आफ्नै विरासतप्रतिको उपेक्षालाई छताछुल्ल पारेको छ ।
३. ज्ञानको जरा : ऋषिमुनिहरूको उपवास र आधुनिक ‘अटोफेजी’ :
पूर्वीय सनातन संस्कृतिमा ‘उपवास’ शब्दको अर्थमात्र भोकै बस्नु होइन । ‘उप’ अर्थात् नजिक र ‘वास’ अर्थात् बस्नु अर्थात् आफ्नै आत्मा र प्रकृतिको नजिक बस्नु हो । एकादशी, पूर्णिमा, व्रतबन्ध वा विभिन्न चाडपर्वमा राखिने व्रत केवल धार्मिक कर्मकाण्ड थिएनन् । हाम्रा पूर्वजहरूलाई राम्ररी थाहा थियो कि मानव शरीरलाई निरन्तर भोजन दिइरहँदा पाचन प्रणाली थाक्छ । शरीरभित्र ‘आम’ अर्थात् विषाक्त तत्व जम्मा हुन्छ । त्यसैले हप्ता वा पक्षमा शरीरलाई विश्राम दिन उपवासको व्यवस्था गरियो । जसले शरीरको स्वतः शोधन प्रक्रियालाई सक्रिय बनाउँथ्यो । ऋषिमुनिहरूको यही प्रयोगात्मक ज्ञानलाई सन् २०१६ मा जापानी कोष जीववैज्ञानिक योशिनोरी ओसुमीले प्रयोगशालामा प्रमाणित गरिदिए ।
उनले पत्ता लगाए कि जब शरीर लामो समयसम्म भोको रहन्छ तब कोषहरूले आफैंभित्र रहेका पुराना, मृत र खराब भइसकेका प्रोटिन एवं अंगहरूलाई आफैं खाएर नष्ट गर्छन् र नयाँ ऊर्जा पैदा गर्छन् । यस प्रक्रियालाई वैज्ञानिक भाषामा ‘अटोफेजी’ भनिन्छ । ‘अटोफेजी’ दुईवटा ग्रीक शब्द मिलेर बनेको छ । आफैं र खानु । अर्थात्, ‘आफैंलाई खानु’ । यो शरीरका कोषिकाभित्र चल्ने एउटा यस्तो प्राकृतिक प्रक्रिया हो जहाँ कोषिकाहरूले आफैंभित्र रहेका पुराना, काम नलाग्ने, रोगग्रस्त वा मृत हिस्सालाई आफैं खाएर नष्ट गर्छन् र त्यसलाई सफा गर्छन् । यसलाई सजिलो भाषामा ‘शरीरको भित्री भ्याकुम क्लिनर’ वा ‘रिसाइक्लिङ फ्याक्ट्री’ भन्न सकिन्छ ।
४. वैज्ञानिक सत्य र सनातन अभ्यास :
अटोफेजीको अर्थ हो ‘आफैंलाई खानु’ । जब हामी उपवास बस्छौं, शरीरले बाहिरबाट ऊर्जा नपाएपछि भित्रका फोहोर र क्यान्सरजन्य कोषलाई गलाएर ऊर्जामा बदल्न थाल्छ । ओसुमीले यसै सिद्धान्तका लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाए तर गहिरिएर हेर्दा यो चिकित्सा विज्ञानको नयाँ आविष्कार होइन, बरू हाम्रा ऋषिमुनिहरूले ‘लंघनं परम औषधम्’ अर्थात् उपवास नै सबैभन्दा ठूलो औषधि हो भनी घोषणा गरेको सत्यको आधुनिक पुनर्व्याख्यामात्र हो ।
५. हामी कहाँ चुक्यौं ? स्वामित्व गुम्नुको गम्भीर विश्लेषण :
हाम्रो उपमहाद्वीप ज्ञानको मामिलामा हिजो जति धनी थियो । त्यसको संवर्द्धन र प्रमाणीकरणमा आज उति नै दरिद्र साबित भयो । आफ्नै आँगनको बहुमूल्य जडिबुटीलाई ‘घाँस’ देख्ने र विदेशीले त्यसैलाई ‘औषधी’ भनिदिएपछि मात्र पूजा गर्ने आत्मग्लानिपूर्ण मानसिकता नै हाम्रो मुख्य कमजोरी हो । हामी चुक्नुका पछाडि मुख्य रूपमा निम्न कारण छन् :
क. विदेशीकरण र हिनताबोध :
औपनिवेशिक मानसिकताका कारण हामीले पश्चिमा विज्ञानलाई मात्र अकाट्य सत्य मान्यौं । आफ्ना वेद, उपनिषद् र आयुर्वेदका पानामा लेखिएका सूत्रहरूलाई ‘अन्धविश्वास’ वा ‘धार्मिक रुढीवाद’ को विल्ला भिराएर पाखा लगाइयो । अहिलेको हाम्रो चुनौती हाम्रो प्राचीन ज्ञानलाई आधुनिक विज्ञानको कसीमा घोटेर संसारले बुझ्ने भाषामा प्रस्तुत गर्नु हो ।
ख. प्रमाण र अभिलेखीकरणको अभाव :
हाम्रा ऋषिहरूले ज्ञानलाई सूत्र र श्रुति परम्परामा राखे । उनीहरूले त्यसको व्यावहारिक फाइदा त लिए तर त्यसलाई आधुनिक प्रयोगशालाको मापदण्डमा ढालेर तथ्यांक र प्रमाणसहित संसारसामु प्रस्तुत गर्न सकेनन् । त्यस समयमा ज्ञानलाई लिपिबद्ध गर्ने प्रविधि नभएकाले ज्ञान नष्ट नहोस् भनेर श्रुति र स्मृति परम्पराको विकास गरियो । विशाल ज्ञानलाई ससाना वाक्य वा सूत्रमा संकुचित गरियो ताकि त्यसलाई सजिलै कण्ठ गर्न सकियोस् । जस्तै : पाणिनीको व्याकरण वा पतञ्जलिको योगसूत्र । ऋषिहरू सिद्धान्त प्रतिपादन गर्नभन्दा पनि त्यसको व्यावहारिक प्रयोग (जस्तै : आयुर्वेद, ध्यान, खगोल विज्ञान)मार्फत जीवनलाई सहज बनाउन बढी केन्द्रित थिए । त्यो ज्ञान ‘अनुभूति’ र ‘अनुभव’ मा आधारित थियो तर आधुनिक संसारले खोज्ने तथ्यांक र पुनरावृत्तिको कडा मापदण्डमा त्यसलाई दस्ताबेजीकरण गरिएन ।
ग. कर्मकाण्डमा मात्र संकुचन :
हामीले उपवासलाई केवल भगवान् खुशी पार्ने माध्यम बनायौं । एकादशीको व्रत बस्दा ‘किन बस्ने ?’ भन्ने वैज्ञानिक कारण खोज्नुको साटो ‘कुन भगवानको पूजा गर्ने ?’ भन्ने कुरामा अल्झियौं । फलस्वरूप, विज्ञान ओझेलमा पर्यो र कर्मकाण्डमात्र बाँकी रह्यो । एकादशी वा उपवासले शरीरका अंगहरूलाई दिने विश्राम, पाचन प्रणालीको शुद्धीकरण र जैविक घडीको सन्तुलन जस्ता अकाट्य वैज्ञानिक पक्षहरूलाई हामीले वास्ता गरेनौं । उपवासलाई स्वास्थ्य बीमाको साटो भय र भगवान् खुशी पार्ने संकुचित घेरामा सीमित गरिदियौं । फलस्वरूप,जुन कुरा ‘जीवन पद्धति’ र ‘निवारक औषधि’ बन्नुपर्ने थियो, त्यो केवल एउटा धार्मिक औपचारिकतामा खुम्चिन पुग्यो ।
६. राज्य र प्राज्ञिक क्षेत्रको उदासीनता :
हाम्रा विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूले रैथाने ज्ञानलाई कहिल्यै प्राथमिकता दिएनन् । बजेट र बौद्धिकता दुवै आयातित सिद्धान्तलाई घोक्न र सिकाउनमै खर्च भइरहे । साँच्चै भन्नुपर्दा यो जापानीहरूको सफलतामात्र होइन, हाम्रो प्राज्ञिक र बौद्धिक दरिद्रताको पराकाष्ठा हो । हाम्रा वैज्ञानिकहरूको असफलता हो । ज्ञान हाम्रो घरमा जन्मियो तर त्यसको न्वारान अरू कसैले गरिदियो ।
७. अबको मार्गचित्र : के गर्ने ? कसरी ब्युँझिने ?
विगतमा जे भयो त्यो इतिहास बनिसक्यो तर भविष्य अझै हाम्रै हातमा छ । जापानी वैज्ञानिकले अटोफेजीको नोबेल पुरस्कार जितेर हाम्रो आँखा खोलिदिएका छन । अब हामीले केवल पछुताएर वा ‘यो त हाम्रै पूर्वजको हो’ भनेर खोक्रो अहंकार गरेर बस्ने समय छैन । अबको बाटो गफको होइन कार्यको हुनुपर्छ । हामीले हाम्रो गुमेको बौद्धिक स्वामित्व र गौरव फिर्ता गर्न निम्न कदम चाल्नु अनिवार्य छ ।
क. रैथाने ज्ञानको वैज्ञानिक पुनर्मूल्यांकन र प्रयोगशाला परीक्षण :
हाम्रा ग्रन्थहरूमा लुकेका ज्ञानलाई केवल पूजाको कोठामा सीमित नराखी विश्वविद्यालयका प्रयोगशालाहरूमा लैजानुपर्छ । आयुर्वेदका प्रत्येक सूत्र, योगका आसन र प्राणायामका विधिको प्रभावलाई आधुनिक चिकित्सा उपकरणको सहायताले परीक्षण गरिनुपर्छ । जबसम्म हामी आफ्नै ज्ञानलाई विज्ञानको भाषामा अनुवाद गर्दैनौं तबसम्म संसारले त्यसलाई स्वीकार गर्नेछैन ।
ख. बौद्धिक सम्पत्तिको अधिकार र अभिलेखीकरण :
अबको लडाइँ ज्ञानको होइन, ज्ञानको स्वामित्वको हो । हाम्रा रैथाने जडिबुटी, ध्यानका पद्धति र जीवनशैलीका प्रविधिलाई कानुनी रूपमा सुरक्षित गर्न पेटेन्ट लिने प्रक्रियामा राज्य आक्रामक रूपमा लाग्नुपर्छ । बेसार र नीमको पेटेन्ट अधिकारका लागि लडेजस्तै अन्य हजारौं रैथाने प्रविधिहरूको रक्षा गर्न ढिलो गर्नु हुँदैन ।
ग. शिक्षा प्रणालीमा मौलिकताको समावेश :
हाम्रो पाठ्यक्रममा पश्चिमा वैज्ञानिकहरूको जीवनी र सिद्धान्त मात्र पढाइन्छ । अब हाम्रा रैथाने वैज्ञानिकहरू, जस्तै चरक, सुश्रुत, आर्यभट्ट, र पतञ्जलिका योगदानहरूलाई आधुनिक विज्ञानसँग जोडेर पढाउनु आवश्यक छ । विद्यार्थीहरूलाई बाल्यकालदेखि नै आफ्नो संस्कृतिप्रति हिनताबोध होइन, गौरवबोध गराउने शिक्षा दिनुपर्छ ।
घ. व्यावसायिकता र वैश्विक ब्राण्डिङ :
पश्चिमाहरूले बेसार-दूधलाई ‘टर्मेरिक लाते’ बनाएर महँगोमा बेचिरहेका छन् र हामी त्यही किनेर खाइरहेका छौं । हामीले हाम्रा परम्परागत स्वस्थकर खानेकुरा, उपवास पद्धति र जडिबुटीहरूलाई आधुनिक उपभोक्ता अनुकूल बनाएर विश्व बजारमा ब्राण्डिङ गर्नुपर्छ ।
हाम्रो उपमहाद्वीप ज्ञानको त्यो महासागर हो, जहाँ हामी आफैं तिर्खाएर बसेका छौं । अतीतको केवल जयजयकार गरेर वर्तमानको युद्ध जित्न सकिँदैन । पुर्खाको विरासतको ब्याज खाएरमात्र भविष्य सुरक्षित हुँदैन । अबको पुस्ताले पुरानो ढर्राको रूढिवाद र पश्चिमा जगत्को अन्धअनुकरण दुबैबाट माथि उठ्नुपर्छ ।
८. निष्कर्ष :
इतिहासको गौरवबाट वर्तमानको कर्मतर्फ :
यो सत्य हो कि हाम्रा पूर्वजहरूले आविष्कार गरेको उपवासको व्याख्या गरेर जापानी वैज्ञानिकले नोबेल पुरस्कार जित्नु हाम्रो लागि एउटा मीठो झापड हो । यो झापडले हामीलाई ब्युँझाउनुपर्छ, थचार्नु हुँदैन । ज्ञान कसैको पेवा हुँदैन, जसले त्यसलाई परिमार्जन गर्छ, संवर्द्धन गर्छ र संसारको हितमा प्रयोग गर्छ, स्वामित्व उसैको हुन्छ । हाम्रा ऋषिमुनिहरूले हजारौं वर्षअघि प्रयोग सिद्ध गरेको ‘उपवास’लाई जापानी वैज्ञानिकले ‘अटोफेजी’का रूपमा ल्याएर नोबेल पुरस्कार जित्नु हाम्रा विश्वविद्यालय र बौद्धिक जगत्का लागि एउटा रचनात्मक चेतावनी हो । यसले हामीलाई हीनताबोधमा थचारिन होइन, बरू आफ्नो सम्पत्ति चिन्न निन्द्राबाट ब्युँझने ऊर्जा दिनुपर्छ ।
ज्ञान कुनै भूगोल वा वंशको पेवा हुँदैन । इतिहासमा कसले आविष्कार गर्यो भन्ने कुराको महत्त्व हुँदैन, वर्तमानमा त्यसलाई कसले आधुनिक विज्ञानको कसीमा घोटेर, प्रमाणित गरेर मानव कल्याणमा लगायो, स्वामित्व उसैको ठहरिन्छ । अबको दायित्व पूर्वजको गौरव गाएरमात्र पुग्दैन । यदि हामीले आफ्ना रैथाने शास्त्र र प्राकृतिक चकित्साका सूत्रहरूलाई समयसापेक्ष परिमार्जन र वैज्ञानिक अभिलेखीकरण गर्न सकेनौँ भने हाम्रा अरू अनेकौं मौलिक ज्ञानहरू पनि विश्वबजारमा अरू कसैको नाममा ‘पेटेन्ट’ हुनेछन् ।
हाम्रो उपमहाद्वीप ज्ञानको त्यो महासागर हो, जहाँ हामी आफैं तिर्खाएर बसेका छौं । अतीतको केवल जयजयकार गरेर वर्तमानको युद्ध जित्न सकिँदैन । पुर्खाको विरासतको ब्याज खाएरमात्र भविष्य सुरक्षित हुँदैन । अबको पुस्ताले पुरानो ढर्राको रूढिवाद र पश्चिमा जगत्को अन्धअनुकरण दुबैबाट माथि उठ्नुपर्छ । हाम्रो अबको एकमात्र गन्तव्य भनेको पूर्वको ध्यान र पश्चिमको विज्ञानलाई एकाकार गर्नु हो ।
जब हाम्रा रैथाने विश्वविद्यालय र प्रयोगशालाहरूबाट निस्किएका अनुसन्धानहरूले विश्वका आधुनिक रोगहरूलाई निको पार्न थाल्नेछन् तबमात्र हाम्रा ऋषिमुनिहरूप्रति सच्चा न्याय हुनेछ । अतीतको गौरवलाई भविष्यको ग्यारेन्टी बनाउन ‘ऋषि-ज्ञान’ लाई ‘आधुनिक विज्ञान’ को कसीमा खारेर विश्वसामु उभ्याउनु नै आजको मुख्य ऐतिहासिक कार्यभार हो ।
हाम्रा ऋषिमुनिहरूले दिएको ज्ञानको अथाह सागरमा हामी पौडिन बिर्सेका छौं । अबको पुस्ताले अतीतको गौरवगान गाएरमात्र बस्ने छुट पाउने छैन । हामीले पूर्वजहरूको ध्यान र पश्चिमाहरूको विज्ञानलाई एकाकार गर्दै नयाँ युगको सिर्जना गर्नुपर्छ । जब हाम्रा प्रयोगशालाबाट निस्किएका निष्कर्षहरूले विश्वलाई निको पार्न थाल्नेछन् तबमात्र हाम्रा ऋषिमुनिहरूको आत्माले सच्चा शान्ति पाउनेछ र यो उपमहाद्वीप पुनः विश्वको ‘ज्ञान–गुरु’का रूपमा स्थापित हुनेछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर