कैलाली । १९ असारमा कैलालीको धनगढीमा हुने ‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’को चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।
छनोट समितिकाअनुसार वर्ष प्रशिक्षकको लागि क्रिकेटका धिरेन्द्र चन्द, कबड्डीका विष्णुदत्त भट्ट र भारोत्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् । चन्दले प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमलाई पहिलोपटक फाइनल पुगाउँदै इतिहास रचेका थिए । भट्टले बङ्गलादेशविरुद्धको कबड्डी शृङ्खलामा नेपाललाई स्वर्ण पदक दिलाउनुका साथै दोस्रो विश्वकप कबड्डीमा नेपाली टोलीलाई चौथो स्थान दिलाएका थिए । यस्तै, जीवन गौतमले राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गराउने तथा आफ्ना खेलाडीमार्फत एक वर्षमै १० स्वर्ण पदक जिताउने सफलता हासिल गरेका छन् ।
‘वर्ष युवा खेलाडी’ विधामा एथलेटिक्सका विरेन्द्र नाथ, कबड्डीका सुशील चुनारा र एथलेटिक्सकी संगीता विक मनोनयनमा परेका छन् । विरेन्द्रले राष्ट्रपति रनिङ शिल्डमा दुई स्वर्ण जितेका छन् भने सुशीलले १८ वर्षकै उमेरमा मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगितामा सुदूरपश्चिमलाई च्याम्पियन बनाउँदै टोलीको नेतृत्व गरेका थिए । संगीता विकले राष्ट्रिय यू-२० कीर्तिमान कायम गर्नुका साथै एसियाली यू-२० एथलेटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
त्यस्तै, ‘सुदूरपश्चिम आइकन पुरुष’ विधामा क्रिकेटका नारायण जोशी, भारोत्तोलनका अशोक भण्डारी र सुटिङका सुनिल चन्द मनोनयनमा परेका छन् । प्रधानमन्त्री कपमा उत्कृष्ट ब्याटिङ गर्दै सुदूरपश्चिमलाई पहिलोपटक फाइनल पुर्याउन महत्वपूर्ण योगदान दिएका नारायण जोशी, लगातार राष्ट्रिय प्रतियोगितामा स्वर्ण र राष्ट्रिय कीर्तिमान बनाएका अशोक भण्डारी तथा सुटिङमा सुदूरपश्चिमलाई पहिलोपटक राष्ट्रिय पदक दिलाएका सुनिल चन्द प्रतिस्पर्धामा छन् ।
‘सुदूरपश्चिम आइकन महिला’ विधामा कबड्डीकी दिपा देउवा, एथलेटिक्सकी पूजा साउँद र तेक्वान्दोकी दिपा जैशी मनोनयनमा परेका छन् । देउवाले राष्ट्रिय तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी छन् भने पूजा साउँदले राष्ट्रपति रनिङ शिल्डमा दुई स्वर्ण पदक जितेकी छन् । जैशीले लगातार चार संस्करणसम्म राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दै आफ्नो उत्कृष्टता कायम राखेकी छन् ।
अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) छ भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्द्धकका रूपमा साथ दिन सम्झौता गरिसकेको छ । सातौ संस्करणको अवार्डमार्फत वर्ष २०८२-०८३ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई आठ विधामा अवार्ड प्रदान गरिने छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर