काठमाडौं । नवलपरासी (पश्चिम) को सुस्ताका सयौँ बासिन्दाले नागरिकता, लालपुर्जा र सीमा अतिक्रमणको समस्या समाधानको माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा धर्ना दिएका छन्।
सुस्ता बचाउ अभियानको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले सुस्ताको भूमि संरक्षण, नागरिकता वितरण र जग्गाको स्वामित्व सुनिश्चित गर्न सरकारसँग तत्काल पहल गर्न माग गरेका छन्।
प्रदर्शनमा सहभागी वृद्धवृद्धा, महिला र युवाले नेपाली राष्ट्रिय झण्डा तथा विभिन्न प्लेकार्डसहित आफ्नो माग सार्वजनिक गरेका थिए। उनीहरूले नदीको बहाव परिवर्तनपछि उर्वर खेतीयोग्य जमिन भारतीय सीमा क्षेत्रमा परेको र राज्यबाट लालपुर्जा नपाउँदा वर्षौंदेखि समस्या झेल्दै आएको बताएका छन्।
सुस्ताबासीले सरकारसमक्ष तीन मुख्य माग अघि सारेका छन्। उनीहरूले सुस्ताको नेपाली भूमिमाथि भएको अतिक्रमण रोक्न र सुगौली सन्धिअनुसार सीमा विवाद समाधानका लागि प्रभावकारी कूटनीतिक पहल गर्न, सुस्ताका बासिन्दालाई नेपाली वंशजको नागरिकता उपलब्ध गराउन तथा पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गाको नापजाँच गरी लालपुर्जा वितरण गर्न माग गरेका छन्।
प्रदर्शनका क्रममा ‘दया होइन, न्याय दे’ र ‘हामी खेती गर्छौं, यसको स्वामित्व हाम्रो हो’ लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरिएका थिए। धर्नामा सहभागीहरूले आफूहरूलाई राज्यले आधारभूत अधिकारबाट समेत वञ्चित गरेको भन्दै समस्या समाधानका लागि ठोस कदम चाल्न सरकारसँग आग्रह गरेका छन्।
















निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि