काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै यस क्षेत्रलाई सुदृढ बनाउन आवश्यक कानुन, नीति र कार्यक्रम ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने नीति तथा कानुनी व्यवस्था निर्माणमा सरकार तयार रहेको बताउनुभयो।
उहाँले चलचित्र विकास बोर्डले उद्योगको अभिभावकीय भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उल्लेख गर्दै बोर्डका योजना, कार्यक्रम र बजेटले प्रत्यक्ष रूपमा चलचित्र उद्योगलाई लाभ पुग्ने गरी प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनुभयो। चलचित्र क्षेत्र समृद्ध र सन्तुष्ट भएमा मात्र बोर्डको सफलता अर्थपूर्ण हुने उहाँको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा चलचित्रकर्मीका भावना र आवश्यकतालाई समेट्न बोर्डलाई आग्रह गर्नुभयो। साथै, संसद्मा विचाराधीन चलचित्र विधेयकलाई समयसापेक्ष, व्यावहारिक र उद्योगमैत्री बनाउन सबै सरोकारवालासँग सुझाव संकलन गरिने जानकारी दिनुभयो।
उहाँले चलचित्र क्षेत्रले अपेक्षा गरेअनुसारको कानुन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै निरन्तर संवाद र सहकार्यबाट मात्रै प्रभावकारी कानुनी व्यवस्था बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। चलचित्रकर्मीसँग नियमित छलफल गरी आवश्यक नीतिगत र संरचनात्मक सुधार अघि बढाइने पनि उहाँले स्पष्ट पार्नुभयो।
नेपाली चलचित्र उद्योग कठिन परिस्थितिका बीच पनि निरन्तर अघि बढिरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले यसको श्रेय अग्रज चलचित्रकर्मीको समर्पण र योगदानलाई दिनुभयो। चलचित्र क्षेत्रको इतिहास, विकासक्रम र योगदानलाई दस्तावेजीकरण गर्न अनुसन्धानमा आधारित लेख, पुस्तक तथा अध्ययन प्रकाशनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो।
लोकतान्त्रिक व्यवस्थामा प्रत्येक क्षेत्रले नागरिकको विश्वास जित्नुपर्ने उल्लेख गर्दै उहाँले विभिन्न लोकतान्त्रिक आन्दोलनमा चलचित्र क्षेत्रले खेलेको भूमिकाको स्मरण गर्नुभयो। चलचित्र उद्योगलाई आर्थिक रूपमा थप सबल बनाउन स्वस्थ प्रतिस्पर्धा, पारस्परिक सहयोग र सहकार्यको संस्कृतिलाई मजबुत बनाउन पनि उहाँले चलचित्रकर्मीलाई आग्रह गर्नुभयो।
कार्यक्रममा सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन गुणस्तरीय सामग्री उत्पादन, आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो। उहाँले सरकार, चलचित्र विकास बोर्ड र निजी क्षेत्रबीच अझ सुदृढ सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नयाँ चलचित्र विधेयक निर्माणको चरणमा रहेकाले सबै सरोकारवालाले सक्रिय रूपमा सुझाव दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले उद्योगको अनुभव र व्यावहारिक पक्ष समेटिएको कानुनले मात्रै चलचित्र क्षेत्रको दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष डीसीले वरिष्ठ चलचित्रकर्मीको सामाजिक सुरक्षालाई प्राथमिकता दिँदै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउनुभयो। आगामी आर्थिक वर्षको बजेट चलचित्र उद्योगमैत्री हुने विश्वास व्यक्त गर्दै उहाँले संस्थागत विकास, प्रविधि विस्तार तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धिका लागि थप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर