काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी थालेको छ।
सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ मन्त्रालयले डिजिटल सरुवा प्रणाली विकासको काम अघि बढाएको जनाएको छ।
मन्त्रालयका अनुसार नयाँ प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। कर्मचारीका व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) मार्फत आबद्ध हुने भएकाले आवश्यक विवरण स्वतः अद्यावधिक हुनेछ।
सरुवासम्बन्धी आवेदनका लागि ‘फ्ल्यागिङ सिस्टम’ समेत राखिनेछ। यस प्रणालीले दोहोरिने, विशेष निगरानी आवश्यक पर्ने वा थप परीक्षण गर्नुपर्ने आवेदनलाई सहज रूपमा पहिचान गर्न सहयोग गर्ने मन्त्रालयको भनाइ छ।
यसैगरी, कर्मचारीहरूले आफ्नो सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी ‘प्रोसेस ट्र्याकिङ सिस्टम’मार्फत अनलाइनबाटै हेर्न सक्ने व्यवस्था गरिनेछ।
मन्त्रालयका अनुसार सरुवासम्बन्धी पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन्। आवश्यकताअनुसार अन्य सम्बन्धित निकायका प्रणालीसँग एपीआईमार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था पनि रहनेछ।
साथै, सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र स्वतः सार्वजनिक हुने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिलामन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने सरकारको नीतिअनुसार डिजिटल सरुवा प्रणालीलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो।
उहाँले यो प्रणाली कार्यान्वयनमा आएपछि सरुवा प्रक्रियामा हुने ढिलाइ घट्ने, पारदर्शिता अभिवृद्धि हुने तथा कर्मचारीले सहज, छिटो र विश्वासयोग्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर