पूर्वी नेपालको झापास्थित शरणार्थी शिविरमा जन्मिनुभएका एक व्यक्तित्व, जसले विस्थापनको कठिन अवस्थाबाट आफ्नो जीवनयात्रा सुरु गर्नुभयो । भुटानबाट विस्थापित परिवारसँगै शिविरमा हुर्किंदै प्रारम्भिक शिक्षा हासिल गर्नुभएका उहाँले बाल्यकालमै संघर्ष, अनुशासन र आशाको अर्थ बुझ्ने अवसर पाउनुभयो । ती अनुभवहरूले नै उहाँलाई जीवनमा अगाडि बढ्ने दृढता र आत्मविश्वास प्रदान गर्यो ।
अमेरिकामा शरणार्थी पुनर्स्थापन कार्यक्रममार्फत आगमनपछि उहाँले आफ्नो शिक्षा र करियरलाई निरन्तरता दिनुभयो । कठिन परिश्रम, लगनशीलता र लक्ष्यप्रतिको प्रतिबद्धताका साथ उहाँले पेशागत यात्रामा उल्लेखनीय सफलता हासिल गर्नुभयो । हाल उहाँ सेन्टरलाइट होम केयर एलएलसी प्रमुख अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ, जहाँ-उहाँ विभिन्न पृष्ठभूमिका विकासात्मक अपांगता भएका व्यक्तिहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा समर्पित हुनुहुन्छ ।
व्यावसायिक सफलतासँगै गीतसंगीतप्रति उहाँको लगाव उत्तिकै गहिरो छ । शरणार्थी शिविरमै बाल्यकालदेखि सुरु भएको गायन यात्राले उहाँलाई आशा र प्रेरणाको स्रोत प्रदान गर्यो । सन् २०१९ देखि उहाँले व्यावसायिक रूपमा संगीत क्षेत्रमा प्रवेश गर्दै नेपालका चर्चित गायक, अभिनेत्री र मोडलहरूसँग सहकार्य गर्ने अवसर प्राप्त गर्नुभएको छ । उहाँका गीतहरूमार्फत उहाँ आफ्ना जरा, पहिचान र समुदायका कथाहरूलाई व्यापक दर्शकमाझ पुर्याउने प्रयासमा हुनुहुन्छ । ओहायोस्थित सेन्टरलाइट होम केयर एलएलसीका प्रमुख सञ्चालन अधिकृत रोशन अधिकारीसँग अर्जुन प्रधानले गर्नुभएको संवादको संक्षिप्त अशःं-
यहाँले आफूलाई कसरी चिनाउनुहुन्छ, सेन्टरलाइटले के सेवा प्रदान गर्छ ?
म रोशन अधिकारी । म एक सामुदायिक सदस्य, उद्यमी तथा ओहायोस्थित सेन्टरलाइट होम केयर एलएलसीको प्रमुख सञ्चालन अधिकृतका रूपमा आफ्ना कार्य अघि बढाइरहेको छु । सेन्टरलाइटले विकासात्मक अपांगता भएका व्यक्तिहरूका लागि समूह आवास सहयोग, घरायसी तथा व्यक्तिगत हेरचाह सेवा, यातायात सहयोग र वयस्क दिवस सेवाजस्ता सेवाहरू प्रदान गर्दछ । हामी विविध पृष्ठभूमिका व्यक्ति र परिवारहरूलाई सेवा दिन्छौं । हामी केवल भुटानी समुदायलाई सेवा दिने वृद्ध हेरचाह संस्था होइनौं ।
यहाँलाई गम्भीर आरोपहरू लागेका छन् नि ?
सबैभन्दा भ्रामक पक्ष मेरो व्यक्तिगत छवि र जीवनशैलीलाई विवाद सिर्जना गर्ने ढंगले प्रस्तुत गरी कुनै प्रमाणबिना मेडिकेड ठगीसँग जोड्ने प्रयास हो । हामीमाथि ठगीको आरोप लगाइएको छैन, ठगीमा दोषी ठहर गरिएको छैन र कुनै कानुनी निकायले हामीलाई सम्पर्क गरेको छैन । सेन्टरलाइट भुटानी वृद्ध हेरचाह सेवा प्रदायकको रूपमा सञ्चालन हुँदैन । हामी मुख्यतः विकासात्मक अपांगता भएका व्यक्तिहरूलाई समूह आवास र वयस्क दिवस सेवामार्फत सेवा प्रदान गर्छौं ।
यी दाबी गलत भएको प्रमाणित कसरी गर्नुहुन्छ ?
हामी व्यावसायिक अभिलेख, सेवा स्वीकृति कागजातहरू, मेडिकेड प्रदायकसम्बन्धी अभिलेख, उपस्थिति रेकर्ड, कर्मचारी कार्यतालिका, सेवा अभिलेखीकरण, इभिभि अभिलेख, बिलिङ विवरण तथा कानुनी रूपमा अनुमति भएको हदसम्म ग्राहकहरूको जनसांख्यिकीय विवरण उपलब्ध गराउन सक्छौं । केही अभिलेखहरू एचआइपिएए तथा गोपनीयता कानुनअन्तर्गत संरक्षित छन्, तर सम्बन्धित नियामक निकायले ती हेर्न सक्छन् ।
कुनै संघीय वा राज्य निकायले अनुसन्धान गरिरहेको छ ?
हालसम्म कुनै पनि संघीय वा राज्यस्तरीय कानुनी निकायले ठगीसम्बन्धी औपचारिक अनुसन्धानका लागि हामीलाई सम्पर्क गरेको छैन । कुनै निकायले कागजात वा अन्तर्वार्ताका लागि अनुरोध गरेको छैन ।
कम्पनीको मेडिकेड बिलिङ प्रक्रिया कसरी अनुगमन र प्रमाणीकरण हुन्छ ?
हाम्रो बिलिङ प्रक्रिया सेवा स्वीकृति, कर्मचारीद्वारा तयार पारिएको अभिलेख, सेवा प्रदान गरिएको प्रमाण, उपस्थिति रेकर्ड तथा आवश्यक भएमा इभिभिमा आधारित हुन्छ । सेवा अभिलेखीकरण बिनाबिलिङ गरिँदैन । सेवा योजना, स्वीकृति, कर्मचारी टाइमसिट र सहायक कागजातहरू पुनरावलोकन गरेर बिलिङ सेवानुसार मिलेको सुनिश्चित गरिन्छ ।
हाल कम्पनीले कति ग्राहकलाई सेवा दिइरहेको छ ?
सेन्टरलाइटले हाल समूह आवास, वयस्क दिवस सेवा तथा सम्बन्धित सेवामार्फत व्यक्तिहरूलाई सेवा दिइरहेको छ । अद्यावधिक आन्तरिक तथ्यांक पुष्टि गरेपछि यथार्थ संख्या उपलब्ध गराउन सकिन्छ ।
भुटानी ग्राहकहरूको संख्या कति छ ?
हाम्रो सेवा लिने समूह विविध छ र केवल भुटानी समुदायमा सीमित छैन । हाम्रो आन्तरिक मूल्यांकन अनुसार भुटानी ग्राहकहरू कुल सेवाग्राहीमध्ये सानो प्रतिशत मात्र हुन् । गोपनीयता कायम राख्दै समग्र प्रतिशत दिन सकिन्छ ।
ग्राहकले वास्तवमै सेवा पाएका छन् भन्ने कसरी पुष्टि हुन्छ ?
हामी सेवा अभिलेख, उपस्थिति लग, कर्मचारी कार्यतालिका, प्रगति टिप्पणी, आवश्यक भएमा यातायात अभिलेख तथा इभिभि प्रयोग गर्छौं । बिलिङ अघि पर्यवेक्षक तथा व्यवस्थापनले सबै अभिलेख जाँच गर्छन् ।
पछिल्लो दश वर्षमा नियामक निकायबाट कुनै कारबाही भएको छ ?
मेरो जानकारी अनुसार सेन्टरलाइटलाई मेडिकेड ठगीमा दोषी ठहर गरिएको छैन । अन्य स्वास्थ्य सेवा प्रदायक जस्तै हामी नियमित अनुपालन समीक्षा, सर्वेक्षण वा सुधार प्रक्रियाबाट जान सक्छौं, तर ठगीसम्बन्धी कुनै निष्कर्ष आएको छैन ।
निजी विमान, महँगा गाडी तथा जीवनशैलीबारे चर्चा गरिएको छ, ती सम्पत्तिको स्रोत के हो ?
मेरो व्यक्तिगत जीवनशैलीलाई ठगीको प्रमाणको रूपमा प्रयोग गर्नु उपयुक्त होइन । मसँग अन्य व्यक्तिगत तथा व्यावसायिक गतिविधि छन् र अनलाइन देखिएका धेरै कुराहरू यात्रा अनुभव, भाडामा लिएका साधन, व्यावसायिक प्रवर्द्धन वा व्यक्तिगत खरिद हुनसक्छन् । निजी विमानअगाडि खिचिएको फोटो स्वामित्व वा ठगीको प्रमाण होइन ।
यस प्रसंगले भुटानी समुदायमा कस्तो असर पारेको छ ?
यसले डर, लाज र शंकाको वातावरण सिर्जना गरेको छ । आरोप र पूर्वाग्रहका आधारमा पूरै आप्रवासी समुदायलाई मूल्यांकन गरिएको अनुभूति भएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि