सन् १९९१ मा अमेरिकाको वासिंटन डिसीमा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) आज विश्वका ४२ भन्दा बढी देशमा फैलिएका सयभन्दा बढी च्याप्टरमार्फत नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन र विश्वव्यापी विस्तारमा समर्पित संस्था बनेको छ । यही गरिमामय संस्थाको अठारौं अध्यक्ष चयनका लागि हुनलागेको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ अनेसासका पूर्वकेन्द्रीय महासचिव, वर्तमान बाल समितिका संयोजक तथा नेपाली भाषा पुस्तान्तरण अभियानका सक्रिय अभियन्ता सुरेन उप्रेती । उप्रेती पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका प्रथम व्याचका विद्यार्थी हुनुहुन्छ । इन्जिनियरिङ क्याम्पस सिटीभिटीका पोल्टामा गैसकेको अवस्थाबाट त्रिभुवन विश्वविद्यालयमा फर्काउन सफल नेतृत्व गर्ने मध्यका एक विद्यार्थी हुनुहुन्छ ।
क्याम्पसको पुनर्स्थापनासँगै स्ववियु स्थापना र सर्वसम्मत सभापति बन्नुभएको थियो । उहाँको इन्जिनियर पूर्वाधार भए पनि विद्यालयस्तर र कलेजदेखि नै भावनाले साहित्यकार हुनुहुन्छ । क्यानडामा बसोवास गर्दै नेपाली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र विशेषतः बालसाहित्यमार्फत नयाँ पुस्तालाई नेपालीपनसँग जोड्ने अभियानमा निरन्तर सक्रिय रहनुभएको छ ।
अनेसासको अठारौं अध्यक्षका लागि उहाँसँगै वर्तमान वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी पनि प्रतिस्पर्धामा हुनुहुन्छ । निर्वाचनको सन्दर्भ, संस्थाको वर्तमान अवस्था, उहाँले सार्वजनिक गरेका संकल्पपत्र र अनेसासको भावी यात्रालाई केन्द्रमा राखेर हिमालय टाइम्सका लागि सुरेन उप्रेतीसँग कृष्ण भुसालले गर्नुभएको संवादको संक्षिप्त अशःं-
यहाँले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ, तपाईं पदको खोजीमा हुनुहुन्छ कि अनेसासको नयाँ अध्याय लेख्ने जिम्मेवारीको ?
मेरो उम्मेदवारी कुनै आकस्मिक निर्णय होइन, २४ वर्षको निरन्तर संस्थागत यात्राको स्वाभाविक निष्कर्ष हो । अनेसासको ३५ वर्षे इतिहाससँग मेरो कर्म जोडिएको छ । त्यसैले यसको उद्देश्य, आवश्यकता र भविष्यप्रतिको मेरो दृष्टि स्पष्ट छ । मेरो विश्वास छ, अनेसास भाषा र साहित्यको संस्थामात्र होइन, विश्वभरका नेपालीहरूको पहिचान, भावना र अस्तित्वको साझा अभियान हो । आज सबैभन्दा ठूलो चुनौती भाषा हराउनु होइन, भाषासँगै पहिचान हराउनु हो । नयाँ पुस्ता मातृभाषाबाट टाढिँदैछ । यही चिन्ताले मैले प्रकाशित १४ कृतिमध्ये दशवटा बालसाहित्यमा समर्पित गरेको छु ।
अर्को कुरा म पद ओगट्नका लागि होइन, उद्देश्यसहित आएको हुँ । २००४ मा अनेसास क्यानडाको संस्थापक अध्यक्ष, २००६-०८ मा केन्द्रीय महासचिव भएर काम गरिसकेको अनुभवका आधारमा आज म भन्नसक्छु अब अनेसासलाई अर्को उचाइमा पुर्याउने समय आएको छ । म पद खोज्न आएको होइन, अनेसासको नयाँ अध्याय लेख्ने जिम्मेवारी लिन आएको हूँ ।
पूर्वकेन्द्रीय महासचिव, बालसमितिका संयोजक र लामो संस्थागत अनुभवपछि तपाईंलाई किन लाग्यो अब नेतृत्व सम्हाल्ने सही समय यही हो ?
अनेसासले ३५ वर्षमा गौरवपूर्ण इतिहास निर्माण गरेको छ । त्यसका लागि सबै अग्रजप्रति म सम्मान व्यक्त गर्छु । तर, इतिहासमा गर्व गरेरमात्र भविष्य बन्दैन । आज प्रवासका दोस्रो र तेस्रो पुस्तामा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण सबैभन्दा ठूलो चुनौती बनेको छ । भाषा हरायो भने हाम्रो पहिचान, संस्कार र सभ्यता पनि क्रमशः हराउँछ ।
अर्कोतर्फ, नेपाली साहित्यलाई विश्वसाहित्यसँग जोड्ने, अनुवादलाई संस्थागत बनाउने, डिजिटल अभिलेखीकरण गर्ने, प्रविधिमैत्री अनेसास निर्माण गर्ने र विश्वभरका प्रतिभालाई एउटै मञ्चमा जोड्ने काम अझै बाँकी छ । यही अपूरा जिम्मेवारी पूरा गर्ने आँट, अनुभव र स्पष्ट कार्ययोजनाका कारण मलाई लाग्यो—अब नेतृत्व सम्हाल्ने सही समय यही हो ।
विश्वका ४२ भन्दा बढी देशमा रहनुभएका अनेसासका सम्पूर्ण आजीवन सदस्य, स्रष्टा, पाठक, शुभेच्छुक तथा नेपाली भाषा, साहित्य, कला र संस्कृतिप्रेमी महानुभावहरूसँग मेरो हार्दिक अनुरोध छ । मैले पद मागेको होइन, जिम्मेवारी मागेको हुँ । मैले सम्मान मागेको होइन, काम गर्ने अवसर मागेको हुँ । मैले व्यक्तिको जित होइन, अनेसासको भविष्यको जित चाहेको हुँ । २४ वर्षदेखि मैले अनेसासलाई कर्मले सेवा गरेको छु । आज त्यही अनुभव, स्पष्ट दृष्टि, सातबुँदे प्रतिबद्धता र दृढ आत्मविश्वासका साथ तपाईंहरूमाझ आएको छु ।
धरान इन्जिनियरिङ क्याम्पसको पहिलो स्ववियु सभापतिदेखि अनेसासको अध्यक्ष पदको उम्मेदारीसम्म आइपुग्दा तपाईंको नेतृत्वदर्शनलाई सबैभन्दा बढी कुन अनुभवहरूले परिपक्व बनायो ? राजनीति र साहित्यबीचको सम्बन्धलाई कसरी लिनुहुन्छ ?
म सदैव कर्ममा विश्वास गर्ने व्यक्ति हुँ । धरान इन्जिनियरिङ क्याम्पसलाई पुनः त्रिभुवन विश्वविद्यालयमा फर्काउन तीन महिना लामो आन्दोलनमा हामी कुनै राजनीतिक स्वार्थका लागि होइन, शैक्षिक उद्देश्यका लागि होमिएका थियौं । अग्रजहरूको साथ, दृढ संकल्प र सामूहिक प्रयासले त्यो कठिन अभियान सफल भयो, र त्यसपछि साथीहरूले मलाई पहिलो स्ववियु सभापति बनाए ।
आज त्यही क्याम्पस पूर्वाञ्चलकै उत्कृष्ट प्राविधिक शिक्षाकेन्द्र बनेको छ । हजारौं विद्यार्थीले त्यहाँबाट शिक्षा प्राप्त गरिरहेका छन् । त्यो अनुभवले मलाई नेतृत्व भनेको पद होइन, परिणाम दिने जिम्मेवारी हो भन्ने सिकायो ।
राजनीति आवश्यक छ, तर साहित्य समाजको अन्तरात्मा हो । राजनीतिले शासन गर्नसक्छ, साहित्यले चेतना जगाउँछ । साहित्यकार कुनै विचारधाराको अन्धभक्त होइन, समयको सचेत प्रहरी हुनुपर्छ । साहित्यले समाजलाई सही दिशा देखाउने साहस राख्नुपर्छ । यही मेरो नेतृत्वदर्शन पनि हो ।
तपाईंका प्रतिस्पर्धी वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका छन् । तपाईं केन्द्रीय महासचिव भएको २० वर्षपछि एकैचोटि अध्यक्षको उम्मेदवार बन्नुभएको छ । सदस्यहरूले किन सुरेन उप्रेतीलाई रोज्नुपर्छ ? तपाईंको नेतृत्वलाई फरक बनाउने मूल विशेषता के हो ?
सबैभन्दा पहिले मेरा सम्माननीय प्रतिस्पर्धीप्रति सम्मान व्यक्त गर्न चाहन्छु । उहाँ असल साहित्यकार हुनुहुन्छ । तर, असल साहित्यकार हुनु र सफल संगठन निर्माता हुनु एउटै कुरा होइन । आज अनेसाससँग आफ्नै भवन छैन, व्यवस्थित डिजिटल अभिलेख छैन, विश्वस्तरीय वेबसाइट छैन, संस्थागत अनुवाद अभियान छैन, विश्वभरका बालबालिकाका लागि प्रभावकारी भाषा शिक्षा छैन । म आलोचना गर्न आएको होइन, यी अपूरा काम पूरा गर्न आएको हुँ ।
अर्को महत्त्वपूर्ण कुरा अनेसास साँच्चिकै अन्तर्राष्ट्रिय संस्था हो भने नेतृत्व पनि अन्तर्राष्ट्रिय हुनुपर्छ । विश्वभरका सदस्यले समान अवसर पाउनुपर्छ । यही समावेशी सोचले अनेसास अझ बलियो बन्छ ।
अर्को कुरा मेरो महासचिव कार्यकालपछि पनि अनेसासमा सक्रिय रहँदै आएको छु । मैले सधैं पदभन्दा कामलाई प्राथमिकता दिएको छु । अब पनि मेरो आग्रह एउटै छ कुराभन्दा मेरो २४ वर्षको काम, अनुभव र सातबुँदे कार्ययोजनाको मूल्यांकन गरेर मत दिनुहोस् ।
तपाईंले अमेरिकामा निर्माणाधीन अनेसास भवनलाई पूर्णता दिने र नेपालमा पनि अनेसास भवन निर्माणको अभियान अघि बढाउने संकल्प गर्नुभएको छ । यसको कार्ययोजना के हो ?
अनेसासको आफ्नै भवन निर्माण मेरो पहिलो प्राथमिकतामध्ये एक हो । अमेरिकामा निर्माणाधीन भवनलाई पूर्णता दिने र नेपालमा पनि अनेसास भवन निर्माणको अभियानलाई संस्थागत रूपमा अघि बढाउने स्पष्ट योजना छ ।
विश्वभर रहेका नेपालीहरू आर्थिक रूपमा सक्षम र मातृभाषाप्रति समर्पित छन् । सही नेतृत्व, पारदर्शी प्रक्रिया र प्रभावकारी समन्वय भए भवन निर्माण असम्भव छैन । दाताहरूको सम्मानस्वरूप हल, कक्ष वा भवनलाई उहाँहरूको नामसँग जोड्ने अवधारणाले पनि सकारात्मक उत्साह बढाएको छ ।
मेरो विगतका अभियान बहुदेशीय कविता क्यालेन्डर, विश्वभरका बालबालिकाको कवितासंग्रह धराका सीतारालगायत काम संस्थाको आर्थिक भारबिना सफल भएका उदाहरण हुन् । जहाँ स्पष्ट उद्देश्य, विश्वास र इमानदार नेतृत्व हुन्छ, त्यहाँ स्रोतको अभाव हुँदैन भन्ने मेरो विश्वास छ ।
यससँगै डिजिटल अभिलेखीकरण, श्रव्य पुस्तक, अनलाइन भाषा पाठशाला, विश्वस्तरीय अनुवाद, लेखन प्रशिक्षण, अंग्रेजी जर्नल प्रकाशन र बालसाहित्य प्रवर्द्धनलाई पनि समान प्राथमिकतामा अघि बढाइनेछ । मेरो लक्ष्य दुई वर्ष बिताउनु होइन, दुई वर्षपछि संस्थाले परिवर्तन महसुस गर्ने आधार निर्माण गर्नु हो ।
तपाईंले भनेको ‘डिजिटल अनेसास’ पहिलो वर्षमै व्यवहारमा कसरी देखिनेछ ?
आज नेपालीहरू विश्वस्तरमै सूचना प्रविधिमा उत्कृष्ट क्षमता राख्छन् । त्यसैले ‘डिजिटल अनेसास’ कुनै सपना होइन, व्यावहारिक योजना हो । पहिलो वर्षमै अनेसासको वेबसाइटलाई आधुनिक, प्रयोगमैत्री र नियमित अद्यावधिक हुने बनाइनेछ । विश्वभरका साहित्यकार, उनीहरूको परिचय, कृति र गतिविधिको डिजिटल अभिलेख निर्माण सुरु हुनेछ । प्रकाशनहरू अनलाइन उपलब्ध गराइनेछ, श्रव्य पुस्तक विस्तार गरिनेछ, र सदस्यहरूले संस्थाका गतिविधि तथा सेवाहरू डिजिटल माध्यमबाट सहज रूपमा प्राप्त गर्ने वातावरण बनाइनेछ । मेरो लक्ष्य अनेसासलाई प्रविधिमैत्री, पारदर्शी र विश्वका जुनसुकै कुनाबाट सहज पहुँचयोग्य संस्था बनाउनु हो ।
तपाईंले अनेसास जर्नल, श्रव्य पुस्तक, पुस्तक अनुवाद र गुणस्तरीय लेखनलाई प्राथमिकता दिने बताउनुभएको छ । यी कार्यक्रमहरू सीमित व्यक्तिमा केन्द्रित नभई विश्वभरका स्रष्टाका लागि समान अवसरको मञ्च कसरी बन्नेछन् ?
यी कुनै एक व्यक्तिका कार्यक्रम होइनन्, अनेसासको सामूहिक अभियान हुन् । हरेक कार्यक्रम विषयगत विज्ञहरूको नेतृत्वमा पारदर्शी र गुणस्तरका आधारमा सञ्चालन हुनेछ । उत्कृष्ट सिर्जनाले भूगोल, समूह वा व्यक्तिगत सम्बन्धका आधारमा होइन, आफ्नो गुणस्तरका आधारमा अवसर पाउनेछ ।
अनुवादका लागि प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरिनेछ । विश्वभरका च्याप्टरलाई स्थानीय भाषामा नेपाली साहित्य अनुवाद गर्न प्रोत्साहन गरिनेछ, र उत्कृष्ट नेपाली कृतिलाई प्राथमिकताका साथ विश्वसाहित्यमा पुर्याइनेछ ।
मेरो स्पष्ट विश्वास छ प्रतिभालाई सीमाले होइन, गुणस्तरले चिनिनुपर्छ । अनेसास त्यही समान अवसरको साझा मञ्च बन्नुपर्छ ।
विश्वभरका बालबालिकाका लागि अनलाइन नेपाली भाषा कक्षा सञ्चालन गर्ने तपाईंको योजना निकै महत्त्वाकांक्षी छ । फरक-फरक समय क्षेत्र, पाठ्यक्रम, शिक्षक र स्रोत व्यवस्थापनबीच यो अभियानलाई कसरी सफल बनाउनुहुन्छ ?
भाषा जोगाउनुभनेको भविष्य जोगाउनु हो । त्यसैले नयाँ पुस्तालाई नेपाली भाषासँग जोड्नु मेरो नेतृत्वको पहिलो प्राथमिकतामध्ये एक हो । हरेक महादेशको समयानुसार अनलाइन भाषा कक्षा सञ्चालन गरिनेछ । यसका लागि अनुभवी स्वयंसेवी शिक्षकहरूको टोली तयार हुँदैछ । अमेरिकामा वर्षौंदेखि अनलाइन अध्यापन गरिरहनुभएकी पद्मा लिंखा मगरजस्ता अनुभवी व्यक्तिहरूले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मैले क्यानडामा चारवर्ष नेपाली भाषा पढाएको छु । कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक निर्माणमा पनि प्रत्यक्ष काम गरेको अनुभव छ । यही अनुभव, स्वयंसेवी शक्ति र प्रविधिको उपयोगबाट विश्वभरका नेपाली बालबालिकालाई मातृभाषासँग जोड्ने अभियानलाई सफल बनाउने पूर्ण विश्वास छ ।
तपाईंको दृष्टिमा आजको सबैभन्दा ठूलो चुनौती भाषा हराउनु हो कि नेपाली पहिचान हराउनु ? अनेसासले नयाँ पुस्तामा नेपालीपन कसरी पुस्तान्तरण गर्नुपर्छ ?
मेरो दृष्टिमा भाषा र पहिचान अलग विषय होइनन् । भाषा नै हाम्रो पहिचानको मूल आधार हो । भाषाभित्र हाम्रो साहित्य, संस्कृति, संस्कार, इतिहास र सभ्यता सुरक्षित हुन्छ । भाषा हरायो भने पहिचान पनि हराउँछ । त्यसपछि मानिस समुद्रमा दिशाविहीन बनेको डुंगाजस्तै हुन्छ । त्यसैले बालबालिकालाई सानैदेखि नेपाली भाषा, साहित्य, कला र संस्कृतिसँग जोड्नु आवश्यक छ । यही उद्देश्यका लागि भाषा पाठशाला, बालसाहित्य, श्रव्य सामग्री र पारिवारिक सांस्कृतिक अभियानलाई संस्थागत रूपमा विस्तार गरिनेछ । नयाँ पुस्ताले नेपाली भाषा बोलोस् मात्र होइन, नेपालीपन पनि गर्वका साथ बाँचोस् मेरो अभियान यही हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता गर्नुभएको छ । विगतका औपचारिक सहकार्यभन्दा फरक, परिणाममुखी साझेदारीको तपाईंको मोडेल के हुनेछ ?
मेरो उद्देश्य केवल सम्झौतापत्रमा हस्ताक्षर गर्नु होइन, परिणाम दिने सहकार्य गर्नु हो । नेपाल प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्थासँग औपचारिक साझेदारी गर्दै संयुक्तरूपमा अनुवाद, अनुसन्धान, प्रशिक्षण, प्रकाशन र अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम सञ्चालन गरिनेछ । केही प्रारम्भिक पहलहरू मेरो सक्रियतामै सुरु भइसकेका छन् । नेतृत्वको जिम्मेवारी पाएपछि ती सबैलाई संस्थागत रूप दिइनेछ, ताकि सहकार्य कागजमा सीमित नभई नेपाली भाषा, साहित्य र स्रष्टाको विश्वव्यापी पहिचान निर्माण गर्ने आधार बनोस् ।
हजुरबुबा-हजुरआमा दिवस, राष्ट्रिय पोशाक दिवसजस्ता सांस्कृतिक अभियानलाई तपाईंले विश्वव्यापी बनाउने भन्नुभएको छ । यस्ता कार्यक्रम सामाजिक सञ्जालका तस्वीरमा मात्र सीमित नहोस् भन्नका लागि के फरक गर्नुहुन्छ ?
यी अभियान केवल एक दिन फोटो खिच्ने कार्यक्रम होइन, नेपाली संस्कार र पहिचानलाई पुस्तान्तरण गर्ने अभियान हुन् । हजुरबुबा–हजुरआमा दिवस र राष्ट्रिय पोशाक दिवसलाई राष्ट्रिय रूपमा मान्यता दिलाउन नेपाल सरकारसँग मैले स्वयं पहल गरेको छु । नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, केन्द्रीय सदस्य तारा उप्रेती र मेरो टोलीले प्रधानमन्त्री, गृहमन्त्री र संस्कृति मन्त्रीसमक्ष पटक-पटक ज्ञापनपत्र बुझाएर पहल गरेका छौं । अहिले पनि त्यसलाई पूर्णता दिने प्रयास जारी छ ।
जब यसले संस्थागत मान्यता पाउँछ, तब संसारभरका नेपालीले आफ्नो राष्ट्रिय पोशाक र संस्कृतिमार्फत नेपालको पहिचान विश्वसामु प्रस्तुत गर्नेछन् । हजुरबुबा–हजुरआमा दिवसले पुस्ता र पुस्ताबीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउनेछ । संस्कृतिलाई उत्सव होइन, जीवनशैली बनाउनु नै मेरो लक्ष्य हो ।
विश्वभरका साहित्यकार, भाषाविद्, प्राज्ञ र स्रष्टालाई एउटै सूत्रमा बाँध्ने प्रतिबद्धता गर्नुभएको छ । तर अनेसासभित्रै समूहगत सोच र असन्तुष्टिका आवाज पनि सुनिन्छन् । विश्वासको वातावरण पुनःनिर्माण कसरी गर्नुहुन्छ ?
मेरो बुझाइमा अनेसास कुनै राजनीतिक गुट वा विचारधाराको संस्था होइन, यो विश्वभरका नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीहरूको साझा घर हो । असन्तुष्टि प्रायः अपेक्षित काम समयमै हुन नसक्दा जन्मिन्छ । त्यसैले मेरो पहिलो प्राथमिकता वाचा पूरा गर्ने, पारदर्शी नेतृत्व दिने र सबैलाई समान अवसर उपलब्ध गराउने हुनेछ ।
विश्वभरका साहित्यकार, भाषाविद्, प्राज्ञ, अग्रज र युवा स्रष्टालाई एउटै परिवारका रूपमा जोडिने वातावरण निर्माण गरिनेछ । दक्षता र क्षमताका आधारमा जिम्मेवारी बाँडिनेछ, अग्रजलाई सम्मान र अनुजलाई अवसर दिइनेछ । अनेसासमा कुनै व्यक्ति ठूलो होइन, संस्था ठूलो हो, कुनै समूह होइन, सम्पूर्ण स्रष्टा परिवार हाम्रो शक्ति हो ।
कतिपय आजीवन सदस्यहरूको गुनासो छ निर्वाचनका बेलामात्र सम्झिने, तर निर्णय प्रक्रिया र कार्यक्रमहरूमा उनीहरूको भूमिका कमजोर हुने । तपाईंको नेतृत्वमा उनीहरूले के नयाँ अनुभूति गर्नेछन् ?
अनेसास कुनै केही पदाधिकारीको मात्र संस्था होइन, यो प्रत्येक आजीवन सदस्यको साझा संस्था हो । मेरो नेतृत्वमा प्रत्येक सदस्यले ‘म संस्थाको जिम्मेवार व्यक्ति हुँ, दर्शक होइन’ भन्ने अनुभूति गर्नेछन् । संस्था हाम्रो शरीरजस्तै हो । शरीरका सबै अंग सक्रिय भएमात्र शरीर स्वस्थ हुन्छ । त्यस्तै संस्था पनि प्रत्येक सदस्य सक्रिय हुँदामात्र जीवन्त बन्छ ।
त्यसैले सबै च्याप्टरलाई थप चलायमान बनाइनेछ । पठन संस्कृतिको विकास, लेखन प्रशिक्षण, नियमित साहित्यिक गतिविधि, डिजिटल संवाद र सदस्यहरूको प्रत्यक्ष सहभागितामार्फत प्रत्येक आजीवन सदस्यलाई संस्थाको नीति, कार्यक्रम र निर्णय प्रक्रियासँग जोडिने वातावरण बनाइनेछ । मेरो नेतृत्वमा सदस्य केवल मतदाता रहने छैनन्, अनेसास निर्माणका साझेदार बन्नेछन् ।
यदि अध्यक्ष बन्नुभयो भने आफ्ना सात संकल्पको प्रगति नियमित रूपमा सार्वजनिक गर्ने, आर्थिक पारदर्शिता कायम गर्ने र सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्ने प्रणाली विकास गर्नुहुन्छ ?
अवश्य, नेतृत्व भनेको वाचा गर्ने होइन, वाचा पूरा गरेको देखाउने जिम्मेवारी हो । अध्यक्ष बनेपछि मेरोमात्र होइन, सबै उम्मेदवारका सकारात्मक संकल्पलाई समेत संस्थाको साझा कार्ययोजनामा समेट्ने प्रयास हुनेछ । कार्यसमितिभित्र स्पष्ट कार्यविभाजन गरी प्रत्येक योजनाको नियमित समीक्षा गरिनेछ ।
आर्थिक पारदर्शिता, प्रगति विवरण र कार्यक्रमहरूको जानकारी नियमित रूपमा सदस्यहरूमाझ सार्वजनिक गरिनेछ । महादेशीय नेतृत्व, च्याप्टर र सदस्यहरूसँग नियमित प्रत्यक्ष संवादको प्रणाली विकास गरिनेछ । मेरो विश्वास छ पारदर्शिताले विश्वास जन्माउँछ, र विश्वासले संस्थालाई बलियो बनाउँछ ।
तपाईं इन्जिनियर पनि हुनुहुन्छ र साहित्यकार पनि । तथ्य, योजना र संवेदनाको यो संगमले तपाईंको नेतृत्व शैलीलाई कसरी परिभाषित गर्छ ?
मेरो जीवनले तीन फरक अनुभव दिएको छ इन्जिनियरिङ, साहित्य र स्वास्थ्य सेवा । इन्जिनियरिङले योजना बनाउन, लक्ष्य निर्धारण गर्न र परिणाममुखी रूपमा काम गर्न सिकायो । साहित्यले संवेदनशीलता, मानवीय मूल्य र समाजप्रतिको उत्तरदायित्व सिकायो । दुई दशकभन्दा बढी स्वास्थ्य सेवामा काम गर्दा सेवा, अनुशासन र मानवीय व्यवहारको गहिरो अनुभव प्राप्त भयो ।
यी तीनै अनुभवको संगमले मेरो नेतृत्वलाई व्यवहारिक, संवेदनशील र जिम्मेवार बनाएको छ । म सपनामात्र देख्दिनँ, त्यसलाई योजनामा रूपान्तरण गरेर कार्यान्वयनमा लैजान विश्वास गर्छु ।
यदि कार्यकाल सफल भयो भने दुई वर्षपछि अनेसासका सदस्यहरूले ‘यो सुरेन उप्रेतीको नेतृत्वको उपलब्धि हो’ भनेर कुन पाँच परिवर्तनलाई स्मरण गरून् भन्ने चाहनुहुन्छ ?
दुई वर्षपछि सदस्यहरूले मेरो नेतृत्वलाई पाँच मुख्य उपलब्धिका आधारमा सम्झिऊन् भन्ने चाहन्छु ः
पहिलो, अमेरिकाको अनेसास भवन निर्माणले गति लिएको र नेपालमा अनेसास भवन निर्माण अभियान संस्थागत रूपमा अघि बढेको ।
दोस्रो, विश्वभरका बालबालिकाका लागि अनलाइन नेपाली भाषा कक्षा प्रभावकारी रूपमा सञ्चालन भएको । तेस्रो, नेपाल प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालय र अन्य संस्थासँग परिणाममुखी सहकार्य स्थापित भएको । चौथो, आधुनिक वेबसाइट, डिजिटल अभिलेखीकरण र श्रव्य पुस्तकमार्फत अनेसास प्रविधिमैत्री बनेको । पाँचौं, लेखन प्रशिक्षण, पठन संस्कृतिको विकास, अनुवाद र गुणस्तरीय साहित्यमार्फत नेपाली साहित्यले अन्तर्राष्ट्रिय पहुँच विस्तार गरेको ।
यदि यी परिवर्तन संस्थागत रूपमा स्थापित भए भने मेरो नेतृत्व सफल भएको ठान्नेछु ।
यदि कुनै कारणले तपाईंका संकल्पहरू अपेक्षानुसार पूरा हुनसकेनन् भने त्यसको नैतिक जिम्मेवारी कसरी लिनुहुन्छ ? नेतृत्वलाई तपाईं अधिकारका रूपमा कि जवाफदेहिताका रूपमा बुझ्नुहुन्छ ?
मैले गरेका प्रत्येक प्रतिबद्धता मेरा लागि सार्वजनिक वाचा हुन् । ती पूरा गर्नु मेरो पहिलो दायित्व हो । कुनै कारणले अपेक्षानुसार पूरा हुन नसके त्यसको नैतिक जिम्मेवारीबाट म कहिल्यै पन्छिने छैन । नेतृत्व पद होइन, उत्तरदायित्व हो । अधिकारभन्दा पहिले जवाफदेहिता आउँछ । मेरो विश्वास स्पष्ट छ-नेतृत्वको मूल्य कुराले होइन, पूरा गरिएका वाचाले निर्धारण हुन्छ ।
अन्त्यमा, विश्वका ४२ भन्दा बढी देशमा रहेका अनेसासका आजीवन सदस्य, स्रष्टा, पाठक, शुभेच्छुक तथा नेपाली भाषा-संस्कृतिप्रेमी सम्पूर्ण परिवारलाई तपाईंको अपिल के छ ? किन उनीहरूले आफ्नो अमूल्य मत तपाईंलाई दिनुपर्छ ?
विश्वका ४२ भन्दा बढी देशमा रहनुभएका अनेसासका सम्पूर्ण आजीवन सदस्य, स्रष्टा, पाठक, शुभेच्छुक तथा नेपाली भाषा, साहित्य, कला र संस्कृतिप्रेमी महानुभावहरूसँग मेरो हार्दिक अनुरोध छ । मैले पद मागेको होइन, जिम्मेवारी मागेको हुँ । मैले सम्मान मागेको होइन, काम गर्ने अवसर मागेको हुँ । मैले व्यक्तिको जित होइन, अनेसासको भविष्यको जित चाहेको हुँ । २४ वर्षदेखि मैले अनेसासलाई कर्मले सेवा गरेको छु । आज त्यही अनुभव, स्पष्ट दृष्टि, सातबुँदे प्रतिबद्धता र दृढ आत्मविश्वासका साथ तपाईंहरूमाझ आएको छु । तपाईंको एउटा मत केवल सुरेन उप्रेतीका पक्षमा जाने मत हुनेछैन, त्यो नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, नयाँ पुस्ताको पहिचान, प्रविधिमैत्री अनेसास, विश्वव्यापी नेपाली एकता र परिवर्तनमुखी नेतृत्वका पक्षमा जाने मत हुनेछ ।
संस्था व्यक्तिभन्दा ठूलो हुन्छ । व्यक्तिहरू आउँछन्–जान्छन्, तर संस्थाले इतिहास लेखिरहन्छ । आउनुहोस्, हामी सबै मिलेर अनेसासको गौरवशाली इतिहासमा परिवर्तन, समावेशिता र उपलब्धिको नयाँ अध्याय लेखौं ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
केटाकेटी आए गुलेली खेलाए…
सिंगो नेपालीभाषी भुटानी समुदायलाई दोषी