काठमाडौं । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनुभएका वरिष्ठ साहित्यकार लुमडी आचार्यको निधन भएको छ । ८२ वर्षको उमेरमा शनिबार उहाँको निधन भएको हो । गोलढुंगास्थित आफ्नै घरको बारीमा काम गरिरहेका बेला अचानक मस्तिष्कघात भएपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको गोलढुंगा साहित्य परिषद्का अध्यक्ष देवेन्द्र अर्याल ‘आँसु’ ले जानकारी दिनुभयो ।
८२ वर्षको उमेरसम्म नियमित औषधिसमेत सेवन नगर्नुभएका आचार्य सादा जीवन, सरल स्वभाव र साहित्यप्रतिको समर्पणका कारण साहित्यिक वृत्तमा सम्मानित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँले नेपाली साहित्यका कथा, कविता, बालसाहित्य, समीक्षालगायत विविध विधामा उल्लेखनीय योगदान पुर्याउनुभएको छ ।
हालैमात्र उहाँको ‘मावलीको सम्झना’ कृति प्रकाशित भएको थियो । यसअघि ‘औचित्यहीन समारोह’ कथासंग्रह, ‘चमत्कारी ऋषि’ बालकथासंग्रह, ‘मर्माहत’ कवितासंग्रह, ‘केही स्रष्टा, केही सिर्जना’ समीक्षासंग्रहलगायत एक दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् ।
उहाँको साहित्यिक योगदानको कदर गर्दै केही वर्षअघि उद्घोष साहित्यिक पत्रिकाले विशेषांकसमेत प्रकाशन गरेको थियो । आचार्यको निधनसँगै नेपाली साहित्यले एक समर्पित, सरल र बहुमुखी स्रष्टा गुमाएको साहित्यिक वृत्तले जनाएको छ । उहाँको निधनप्रति साहित्यकार, पाठक तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि