काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगकाअनुसार गुप्ताले २०७४ असार २० गते गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि २०७९ असार २८ गतेसम्मको अवधिलाई अनुसन्धानको आधार मानेर सम्पत्ति परीक्षण गरिएको थियो ।
अनुसन्धानका क्रममा गुप्ता तथा उनको एकासगोल परिवारले उक्त अवधिमा कानुनी स्रोतबाट ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ ८८ पैसा आम्दानी गरेको देखिएको छ । तर सोही अवधिमा बैंक मौज्दात, जग्गा खरिद, घर निर्माण, बैंक ऋण भुक्तानी, अध्ययन, कम्पनी लगानी, शेयर खरिद, बीमा तथा सवारी खरिदलगायत शीर्षकमा ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ ७३ पैसा खर्च तथा लगानी गरेको आयोगले जनाएको छ ।
यसरी वैधानिक आम्दानीभन्दा ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ ८४ पैसा बढी खर्च तथा लगानी भएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ । आयोगकाअनुसार यो रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको देखिएको छ ।
आयोगले बैजु प्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९को दफा २०(२) बमोजिम कैद, बिगो बराबर जरिवाना तथा गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफतको माग गरेको छ । साथै, वार्षिक सम्पत्ति विवरणमा वास्तविक विवरण लुकाई झुट्टा विवरण पेश गरेको आरोपमा दफा १६(२) अन्तर्गत थप कैद, जरिवाना र सम्पत्ति जफतको मागदाबी पनि गरिएको छ ।
आयोगले गुप्ताका बुबा बंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू सुलोचना गुप्ता र शारदा आचार्य गुप्तालाई उनीहरूका नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको जनाएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर